अमेरिकी विदेशमन्त्री बनेपछि मार्को रुबियोले पहिलो पटक आधिकारिक भ्रमणको क्रममा इजरायल पुगे पछि अमेरिकाबाट भारी बमको ढुवानी इजरायल आइपुगेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत महिना ढुवानीमा लगाइएको रोक हटाएपछि गोलाबारुद पठाइएको इजरायलको रक्षा मन्त्रालयले आइतबार जनाएको छ।
इजरायलका रक्षामन्त्री इजरायल काट्जले आफ्नो मन्त्रालयको एक विज्ञप्तिमा एमके-८४ गोलाबारुदको ढुवानीले “वायु सेना र आईडिएफको लागि एक महत्वपूर्ण सम्पत्तिको प्रतिनिधित्व गर्ने बताए ।
उनले इजरायल र संयुक्त राज्य अमेरिका बीचको बलियो गठबन्धनको थप प्रमाणको रूपमा काम गर्ने जनाए । काट्जले ट्रम्प र अमेरिकी प्रशासनलाई उनीहरूको “अटल समर्थन” को लागि धन्यवाद दिए।
पूर्व राष्ट्रपति जो बाइडेनले गाजाको घना बस्ती भएका क्षेत्रहरूमा इजरायली सेनाले अन्धाधुन्ध प्रयोग गर्न सक्ने चिन्ताले २,००० पाउण्ड बमहरूको ढुवानी प्रतिबन्ध लगाएका थिए।
गाजाको सरकारी संचारमाध्यम (मिडिया )कार्यालयकी प्रमुख सलामा मारुफले भारी बम पठाउने अमेरिकी निर्णयको आलोचना गरिन्।
रुबियो गत शनिबार राति तेल अभिभमा अवतरण गरेका थिए । उनलाई इजरायलका विदेशमन्त्री गिदोन सा’रले आफ्नो क्षेत्रीय भ्रमणको पहिलो चरणमा स्वागत गरेका थिए।
उनी आइतबार बिहान जेरुसेलमस्थित उनको कार्यालयमा प्रधानमन्त्रि बेन्जामिन नेतान्याहूसँग भेट्ने छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजा भूभाग “कब्जा” गर्ने विवादास्पद प्रस्तावमाथि छलफल हुने सम्भावना रहेको सिएनएनले जनाएको छ ।
यो पनि अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम सम्झौताको एक भागको रूपमा हमासद्वारा तीन इजरायली बन्धकहरूलाई रिहा गरिएको एक दिन पछि आएको हो।
नेतान्याहूसँगको भेटअघि, सचिव रुबियोले ऐतिहासिक गिर्जाघरमा प्रार्थनामा भाग लिएका थिए । रुबियोले आफ्नो यात्राको एक भागको रूपमा साउदी अरेबिया र संयुक्त अरब इमिरेट्स (युएई) को पनि भ्रमण गर्ने कार्यक्रम छ।
प्रतिक्रिया