भारतको दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । शनिबार मतगणना अन्तिम चरणमा पुग्दा एक भिडियो सन्देशमार्फत उनले हार स्वीकार गरेका हुन् ।
उनले भारतीय जनता पार्टी (भाजपा) लाई बधाई पनि दिएका छन् । भाजपाले जनताको अपेक्षा पूरा गर्ने उनले आशा व्यक्त गरेका छन् । जनताले आफूहरूलाई १० वर्षसम्म मौका दिएको र यस अवधिमा धेरै काम गर्ने प्रयास गरेको उनले उल्लेख गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा सुधार गर्ने आफूहरूले प्रयास गरेको उनको भनाइ छ ।
भविष्यमा पनि आफूहरूले जनताका निम्ति काम गरिरहने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए । यो समाचार तयार पार्दासम्म ७० सदस्यीय विधानसभामा ४२ सिट जितिसकेको छ भने ६ सिटमा अग्रता बनाएको छ । यस्तै आम आद्मी पार्टीले २० सिट जितेको छ भने २ सिटमा अगाडि छ । २७ वर्षपछि भाजपा दिल्ली सत्तामा फर्किँदा कांग्रेस आई भने शून्यमा झरेको छ ।
आम आद्मीका केजरीवाललगायत शीर्ष नेताहरू पराजित भएका छन् । वर्तमान मुख्यमन्त्री आतिशि मात्र निर्वाचित भएकी छिन् ।
प्रतिक्रिया