सरकार उल्टो बाटोमा लागेको चित्रबहादुर केसीको आरोप

इनेप्लिज २०८१ माघ २५ गते १२:२८ मा प्रकाशित

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारले अध्यादेश ल्याउनुको कारण जनतालाई बताउनुपर्ने बताएका छन्।

शुक्रवार प्रतिनिधि सभाको बैठकपछि बोल्दै उनले सरकार संसद् छलेर उल्टो बाटोमा लागेका आरोप समेत लगाए। अध्यक्ष केसीले अध्यादेश ल्याउनै पर्ने गरी राष्ट्रलाई के संकट परेको थियो भन्दै प्रश्न पनि गरेका छन्।

उनले भने, ‘संसद् बोलाएर संसद्को माध्यमबाट राष्ट्रलाई अगाडि बढाउनुपर्छ। संसद् नबोलाउने अध्यादेशबाट देश चलाउन खोज्ने? यो उल्टो बाटो भएन? अध्यादेश ल्याउनुपर्ने कारण नेपाली जनतालाई बताउनु पर्यो नि।’ उनले थपे, ‘राष्ट्रको अगाडि के संकट थियो? बाढी आएको थियो कि भूकम्प आएको थियो कि विदेशीले आक्रमण गरेको थियो कि? संसद् बस्नै नसक्ने अवस्थामा पो अध्यादेश ल्याउने हो।’

उनले प्रमुख राजनीतिक दलका नेताहरूकै कारण मुलुकको विकास हुन नसकेको आरोप पनि लगाए। राजनीतिक पार्टीहरूको अहिलेको चरित्र, व्यवहार र यो नीतिले देशको अर्थतन्त्र सुधार हुने कुरामा पनि उनले आशंका व्यक्त गरेका छन्।

बेद प्रसाद घिमिरे

प्रतिक्रिया