(लघु कथा)
चारैतिर देखिएका बेथितीहरु औंल्याउँदै फेसबुकमा उसका पोस्टिंगहरु लगातार आउन थाले । पुराना नेताहरुसँग “वाक्क-
दिक्क” भएकाहरुले उसलाई नयाँ आशाको केन्द्रको रुपमा चित्रण गर्न थाले । हेर्दा हेर्दै उसले आफुलाई त्यस क्षेत्रको कर्मठ
सामाजिक कार्यकर्ता तथा उदीयमान युवानेताको रुपमा चिनाउन सफल भयो ।
एक दिन नगरपालिकाको चुनावमा मतदान गरेको मसि लगाएको औँलाको फोटो राख्दै उसले फेसबुकमा लेख्यो – “मतदान
गरियो । अर्को पल्ट मेयरमा आफैँ उठ्नेछु… ।”
कमेन्टको ओइरो आयो, आशय थियो – “तपाईं जस्ता कर्मठ, संघर्षशील, समाजसेवी युवाशक्ति अघि आउनु पर्छ । हामी साथ
छौँ । यो देशको मुहार फेर्नु पर्छ ।”
केहि महिना पछि उसको शहरको एक कल सेन्टरमा प्रहरीले छापा हानेको खवरले देशै हल्लियो । तीन देशका साइबर
अपराधीहरुले संयुक्त रुपमा त्यो कल सेन्टर चलाएका रहेछन । करिव २०० जना युवायुवतीहरुलाई पक्राउ गरियो ।
त्यसमा अधिकांश युवतीहरु रहेछन । युवकहरु अनलाइन सम्पर्क गरि रोजगारी दिने, चिट्ठा परेको भन्ने आदि बिभिन्न
कुराहरु गरि पैसा जम्मा गर्न लगाउने, बैंक खाताको बिवरण लिने अनि साइबर क्राइम गर्ने गरिरहेका रहेछन ।
युवतीहरुलाई भने जसरि हुन्छ पुरुषहरुलाई मेसेन्जर आदिबाट मीठो कुराकानी गर्दै सम्पर्क बढाएर अश्लील क्रियाकलाप
गरि उत्तेजित बनाई उनीहरुको आवाज / भिडियो रेकर्ड गर्ने काममा लगाईएको रहेछ । आपत्तिजनक सम्बाद, तस्विर,
भिडियो आदि हासिल गरिसकेपछि त्यसबाट अश्लील भिडियो बनाएर भिडियो सार्वजनिक गर्ने धम्की दिएर पैसा असुल
गर्ने काम चाँही केटाहरुले गर्दारहेछन । प्राप्त रकमबाट काम गर्ने युवायुवतीलाई कमिसन वितरण हुने रहेछ । यस्ता
क्रियाकलाप त्यो शहरमा दुई बर्ष देखि हुँदै आएको रहेछ र त्यसमा त्यहाँका “बाहुबली”हरुको को पनि साझेदारी रहेछ ।
यो खवर सार्वजनिक भए पछि उसले फेसबुकमा लेख्यो – “हाम्रो शहरमा साइबर क्रिमिनलहरुको अड्डामा छापा मारेकोमा
म नेपाल प्रहरीलाई धेरै धन्यवाद दिन चाहन्छु । यस्तो क्रियाकलापलाई नियन्त्रण गर्नु हामी सवैको जिम्मेदारी हो । यसमा
म यहाँहरु सवैको सहयोगको अपेक्षा गर्दछु ।” फेसबुकमा फेरि उसको समर्थनमा धेरै कमेन्टहरु आए । उसले सवैलाई
धन्यवाद दिँदै यस मुद्दालाई अभियानको रुपमा अघि बढाउने काम शुरु गर्ने भन्यो ।
नेपाल प्रहरीले करिव तीन महिनाको गहन छानवीन पछि त्यस साइबर अपराधमा संलग्न सवैको नाम सार्वजनिक गर्यो ।
त्यसमा त्यो कर्मठ सामाजिक कार्यकर्ता तथा उदीयमान युवानेतालाई “मास्टर माइन्ड” भनिएको थियो ।
फेसबुकमा उसले लेख्यो – “मेरो लोकप्रियता देखेर बिरोधीहरुले म माथि षडयन्त्र गरे, मेरो चरित्रहनन गरियो । यहाँहरु
भ्रममा नपर्नु होला ।”
जवाफमा एउटी युवतीले लेखिन – ” तपाईंहरु यो फटाहालाई नपत्याउनुहोस् । मलाई यो काममा संलग्न गराउने यहि हो
।” अरु युवतीहरुको पनि यस्तै “स्टाटस” आउन थाले ।
आजकल उ जेलमा छ ।
प्रकाशित पुस्तकहरु
प्रतिक्रिया