यसैगरी उदाएका थिए किरण पूर्वका
पानीका बुँदाले हरियो घाँसलाई रुझाएको दिन
असारे झरीले निथ्रुक्क भएको उर्वर धर्तीबाट
अथवा
चर्केका घामले पृथ्वीको पसिना चुसेर उडाई लगेको वाष्पबाट
कहाँबाट हो
कताबाट हो
त्यसको सठिक व्याख्या दिन म सक्दिनँ
मात्रै सुटुक्क भन्छु
जुलाई दुई , असार अठार
ठिक आजकै दिन
उनी उदाए
सङ्गीत सरिता झैँ
साहित्यमा छाए
सुधामृत भई
उनले मदिरा होइन
सम्झनाका सन्दुकमा कैद
हराउँदै गएका अतीतका गौरव गाथा पिए
हिमालयको शिखर चुम्दै मुक्तिको गीत गाउदा
उनका आँखाहरू बदनाम भए
मुख लुकाई पीर रुन
एउटा न्यान्यो काख नभएरै होला
उनी कहिले देश कहिले विदेश भौँतारिए
त्यो रातो डायेरीले सबै बताउँछ इतिहास
भित्री मान्छे बोल्न खोजेको
उसले के भन्न खोजेको
त्यो स्पष्टीकरण दिने छ
पूर्णकिरणको आभा अझै मरेको छैन
-✍️निलीमा आचार्य विश्वनाथ, असम
प्रतिक्रिया