अबुधावीमा ३ जना व्यक्तिहरु सम्मानित

लालबहादुर ढेंगा, दुबई, युएई २०८१ असार ९ गते १९:०६ मा प्रकाशित

अबुधावी । समाजभित्र रहेर गरेको योगदानलाई सधै उच्चदर्जामा सम्मान पाईन्छ । अझै त्यसमाथि महिला भएर बिदेशको भूमिमा व्यवसाय गर्दै अन्यलाई पनि रोजगार दिएमा झनै सुनमा सुगन्ध थपिएको पाईन्छ । आज २३ जुन आईतबारका दिन अबुधावीको वेस्ट बरगर टाउन रेष्टुरेण्टमा अन्तर्राष्ट्रिय नेपाली समाज युएई, अन्तर्राष्ट्रिय सेफ सोसाईटी युएई, झापाली समाज युएई, सुनसरी समाज युएई, ताप्लेजुङ समाज सेवा युएई र ओखलढुङ्गा समाज युएईको संयुक्त आयोजनामा भएको “गीत लोकार्पण तथा सम्मान कार्यक्रम” मा लामो समयदेखि युएईमा कार्यरत रहि सामाजिक, साहित्य, सांगीतिक र व्यवसायी क्षेत्रमा योगदान दिएका ३ जना व्यक्तिहरुलाई सम्मानित गरेको छ ।

नेपाल पत्रकार महासंघ शाखा युएईका सक्रिय सदस्य तथा पत्रकार उमाकान्त पाण्डेको संचालनमा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल एसोसिएसन एनआरएनए एनसीसी युएईका अध्यक्ष बिकास शाही रहनुभएको थियो भने कार्यक्रमको अध्यक्षता सुनसरी समाज युएईका अध्यक्ष सुरेन्द्र लामाले गर्नु भएको थियो । अन्य अतिथिहरुमा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी, व्यवसायी र पत्रकारहरु रहेका थिए ।

नेपाली राष्ट्रिय गानबाट थालनी भए लगत्तै कार्यक्रम संयोजक तथा पत्रकार रामप्रसाद ढुंगेलको शुभकामना मन्तव्य रहेको थियो । धेरै जसो कार्यक्रमहरु दुबईमा भएता पनि यस पटक भएको कार्यक्रमको स्वाद भने अलगै भएको आभास गर्न सकिन्थ्यो । सम्मानित भएका व्यक्तिहरुलाई अतिथि तथा प्रमुख अतिथिबाट उहांहरुको हौसलालाई कदर गर्दै शुभकामना समेत दिएका थिए ।

कार्यक्रमको मुख्य आकर्षण तथा सम्मानित हुनेहरुमा गुल्मी सेवा समाज युएईकी उपाध्यक्ष तथा व्यवसायी सरस्वती पौडेल, ताप्लेजुङ समाज सेवा युएईकी पूर्व अध्यक्ष तथा व्यवसायी सोनी भण्डारी र अन्तर्राष्ट्रिय नेपाली समाज युएईका महासचिव, व्यवसायी र साहित्यकार भवानी नेपाल रहेका थिए । सोही अवसरमा सोनी भण्डारीद्धारा आमाप्रतिको मायालाई आफ्नो आवाजमा उतार्दै गीतबाट सजाएको “मनै भरिन्छ” म्युजिक भिडियोको पनि उद्घाटन भएको थियो । जस्मा भिडियो हेरेर सबैको आंखा रसाएको देख्न सकिन्थ्यो । अन्त्यमाः टाढा–टाढाबाट आउने सबै पाहुनाहरुलाई विभिन्न नेपाली परिकारका खाना समेत व्यवस्था गरिएको थियो ।

प्रतिक्रिया