भर्जिनियामा एड्रियन पोखरेल पराजित ,भारतीय मूलका सुहास सुब्रमन्यम बिजयी

इनेप्लिज २०८१ असार ५ गते १:२० मा प्रकाशित

अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवारी दिएका नेपाली मूलका पूर्व अमेरिकी सैनिक तथा विकलाङ्ग एड्रियन आशिष पोखरेल भर्जिनिया राज्यको निर्वाचन क्षेत्र १० मा पराजित भएका छन् । भर्जिनिया राज्यमा आज जुन १८ मंगलबारका दिन सम्पन्न भएको प्राथमिक निर्वाचनमा उनले विजय हासिल गर्न सकेनन।

उनि उक्त क्षेत्रबाट डेमोक्राटिकको तर्फबाट अमेरिकी संसदको लागि उम्मेदवारी दिएका थिए । यसरी अमेरिकामा सिधै अमेरिकी संघीय सरकारको लागि अमेरिकी प्रतिनिधि सभाको लागि उम्मेदवार हुने पोखरेल अहिले सम्मकै तेश्रो नेपाली अमेरिकी हुन् । अमेरिकामा अहिले पनि राज्य स्तरमा दुई जना बिधान सभा सदस्य अर्थात् सांसदहरु छन् ।

तर निर्वाचन क्षेत्र १० बाट भारतीय मूलका सुहास सुब्रमन्यम बिजयी भएका छन् । उनि वर्तमान भर्जिनिया राज्यको ३२ औ क्षेत्रका सिनेटर हुन् । उनि त्यस भन्दा पहिले भर्जिनिया राज्यकै ८७ औ क्षेत्रका संसद पनि थिए भने उनि पेशाले अधिवक्ता पनि हुन् ।

भर्जिनिया क्षेत्र १० बाट १२ जना डेमोक्रयाटिकका उम्मेद्वारहरु मैदानमा उत्रिएका थिए । पछिल्लो मतगणना अनुसार ९१ % मत गणना हुँदा सुहासले ३०.४ % अर्थात् १३,११३ ल्याइ बिजयी भएका छन् भने एड्रियन ८ औ स्थानमा केवल ९८५ अर्थात् १ हजार भन्दा कम २. ३ % मात्र मत प्राप्त गरेका छन् ।

केही समय अगाडी मात्र मेरिल्याण्ड राज्यका क्षेत्र ८ का ह्यारी भण्डारी पनि अमेरिकी संसदको लागि उम्मेदारी दिंदा प्राथमिक निर्वाचनमा नै पराजित भएका थिए । तर उनि अझै क्षेत्र ८ का सांसद हुन् । तर अमेरिकामा सबै भन्दा पहिले इतिहास मै अमेरिकी संसदको लागि प्रथम उम्मेदवारी दिने व्यक्ति वाशिंगटन राज्यका दर्शन रौनियार हुन् । उनि पनि दुई पटक डेमोक्र्याटिकको तर्फबाट उम्मेदवार भएका थिए तर दुवै पटक पराजय भोग्नु परेको थियो ।

अमेरिकी प्रतिनिधि सभाको पदको लागि पोखरेलको यात्रा यही अहिलेलाई टुंगिएको छ ।

पोखरेल सेवानिवृत र युद्धमा घाइते भएका डिसएबल अर्थात् विकलाङ्ग हुन् । पूर्व अमेरिकी सैनिक तथा राष्ट्रिय सुरक्षा सेवा लगायतमा पोखरेलले अनुभव बटुलेका थिए । उनले यो नतिजा आउदै गर्दा उनले नेपाली समुदायलाई बिशेष धन्यवाद दिएका छन् ।

उनको नेपाल मूल घर सुनसरी धरान विजयपुर हो । उनी अफगानिस्तानमा हुँदा युद्धमा घाइते भएका थिए । गत डिसेम्बर १७ ,२०२३ आइतबारका दिन उनले आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । पोखरेलले अमेरिकी राष्ट्रिय सुरक्षा र सामुदायिक सेवामा ३ दशकभन्दा बढीको अनुभव बोकेका छन् तर उनको अथक प्रयास यस पटक सम्भव हुन् सकेन ।

नेपाली समुदायले अद्वितीय रुपमा पोखरेललाई सहयोग गरेका थिए।

एपी र वाशिंगटन पोष्टले सुहास सुब्रमन्यम बिजयी हुने प्रक्षेपित गरेका छन् ।

प्रतिक्रिया