केन्द्रमा नयाँ समिकरण बनेको निकै दिन पछि कोशी प्रदेशमा सरकार परिवर्तनको लागि औपचारिक खेल शुरु भएको छ । नयाँ समिकरण बनेपछि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई अल्पमतमा परिसकेकेाले संसदीय मुल्य मान्यता अनुसार राजिनामा दिन आग्रह गरिरहेको नेकपा एमालेले औपचारिक रुपमा नै र्समर्थन फिर्ता लिने तयारी गरेको छ ।
यसका लागि प्रदेश सांसदहरुको हस्ताक्षर संकलन गर्न थालेको छ । पहिले समर्थन फिर्ता लिने कि कोशी प्रदेश सरकारमा रहेको माओवादी केन्द्र र एकिकृत समाजवादीका मन्त्रीहरुलाई फिर्ता गराउने बारे निर्णय भईनसकेको बताइएको छ ।
सम्बन्धित पार्टी नेतृत्वले फिर्ता हुन निर्देशन दिईसकेकोले चाँडै नै मन्त्रीहरुले राजिनामा बुझाउने तयारी रहेको बताइएको छ । अहिलेसम्म नैतिकताका आधारमा राजिनामा माग गरिरहेकोमा अब औपचारिक रुपमा मुख्यमन्त्री केदार कार्की अल्पमतमा रहेको जानकारी प्रदेश प्रमुख र प्रदेश सभा सचिवालयमा गराइने नेकपा एमाले कोशी संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
अल्पमतमा परेपछि पनि सरकारमा बस्नु संवैधानिक मूल्य मान्यता विपरित हुने भएकाले मुख्यमन्त्री केदार कार्कीले राजिनामा दिएर मार्गप्रशस्त गर्ने विश्वास विपक्षी दलहरुले गरेका छन् ।
गत असोज २७ गते नेपाली कांग्रेसका ८ जना विद्रोही सांसद र ३९ जना नेकपा एमालेका सांसदहरुको भौतिक उपस्थिति देखाएर केदार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।
९३ सदस्यीय कोशी प्रदेशमा नयाँ समिकरण अनुसार एमालेको ४०, माओवादी केन्द्रको १३, नेकपा एसको ४ र जसपाको एक गरी विपक्षमा ५८ र सत्तापक्षमा नेपाली कांग्रेसको २९ जना सांसदहरु हुनेछन् भने राप्रपाका ५ जना सांसदहरुले कुनै पक्षमा नलाग्ने बताएका छन् ।
संविधानको धारा १६८ को उपधारा ५ अनुसार गठन भएको कोशी प्रदेश सरकार विघटनसँगै निर्वाचनमा जानुपर्ने केदार कार्की नेतृत्वको सरकारले बताउँदै आएको छ ।
प्रतिक्रिया