संस्मरण अरुण थापाका गीतप्रतिको अगाध प्रेमका लागि बिर्खलाई सलाम

ऋषभदेव घिमिरे २०८० माघ ९ गते २३:१६ मा प्रकाशित

मिति एकिन गर्नै पर्ने भएर मात्र उल्लेख गरेको हूँ बिक्रम सम्वत र इस्वी सम्वत।

२०८० मंसिर १६ तदनुसार २ डिसेम्बर २०२३ का दिन एउटा भेटको संयोग जुर्यो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति एवं कवि भूपाल राई लगायत हामीलाई भेट्न गायक कुवेर राईका सुपुत्र कुशल राईले साथमा लिएर आए बिर्ख गुरुङ । मेरो दुबैसंगको पहिलो भेट। भेट अविस्मरणीय रह्यो । अमेरिकाको कोलोराडोमा अबस्थित गार्डेन अफ गड जाने क्रममा “क्यासल रक” भन्ने ठाउँमा भेटेका हौं हामीले ।

गार्डेन अफ रक आफैमा अदभूत। प्रकृतिले सुन्दर ढुङ्गे कला थुपारेर श्रृङ्गारेको अनुपम स्थल पुगेको अनुभूत भयो हामीलाई । नेपालका पहाड त हामीले कति देखेका देखेका । तर गार्डेन अफ गड एकप्रकारको छुट्टै सुन्दरता बोकेको कुसल कारिगरिको कला जस्तो । दिनमा घुमघाम गर्यौं । दाज्यौं नेपाल तिरका पहाड , डाँडाकाडा र प्रकृति । प्रकृति, भूगोल, पर्यटकीय विषय लगायत वरिपरिका ठाउँ आदि संक्षेपमा बताए हाम्रा पथप्रदर्शक भाइहरू बिर्ख र कुशलले । साझ ५:१० बजे हामी बिर्ख गुरुङको घर पुगेका थियौं। उनको निजी निवास कोलोराडो,डेनभर, ग्रिनभ्याली रेञ्ज। भुटानी सरणार्थी प्रकरणबाट झापाको बेलडाँगी हुदै अमेरिका आएर बसोबास गरेका बिर्खको घर पुगेपछि एकखालको अचम्मको प्रेम देखियो गायक अरुण थापाप्रति। बिर्ख गुरुङको त्यो अगाध प्रेम र नेपाली संगीतप्रतिको अभिरुचि देखेर हामी अचम्मित भयौं। म स्वभावतः भावुक अझ भावुक बने । एकैछिनको कुराकानी र बसाइबाट उनमा गीत,संगीत तथा साहित्यप्रतिको लगाव प्रचुर पाए मैले। बिर्ख आफैमा सर्जक रहेछन् । अझ खुसि लाग्यो । गीत लेखनमा रुचि रहेको धारणा के राख्दै थिए बजाइ हाले उनको शब्दमा स्वरबद्ध गीत। प्रेमका, वियोगका , लोकसंस्कृतिका गीतहरू समेत रेकर्ड भइसकेका रहेछन् बिर्खका । बधाई भन्यौं हामीले । निरन्तरताको शुभेच्छा प्रकट गर्यौ । आफ्ना गीत सुनाए पछि उनले आफ्नो गीतप्रति जिज्ञासा राखे। गीतका बारेमा भूपाल राई र मैले सकारात्मक सुझावहरू राख्यौं । थाहा भएन बिर्खको मन कति बुझ्यो कुन्नि !

अमेरिकी जीवन शैली, प्रायः सबै काममा जाने नै भए। बिर्ख आफैले हाम्रो स्वागतार्थ टाकटुक पारेर चाट्टचुट्टको खाजा तयार गर्न भ्याइ हाले। कुरा गर्दै काम गर्दै खाजा आइपुग्यो। नेपाली चिउरा, भटमास प्याज, धनिया आफ्नै घरभित्रै फलेको अकबरे खोर्सानी सहितको चटपटा ल्याएर टेवलमा राखे। मौसम चिसो थियो । अझ बाहिर त हिउँ नै थियोे । अकबरे खोर्सानीको गमला हिउँ कै कारण होला सायद घरभित्रै रहेको । दुई-चार डल्ला टिपेर प्लेटमा राखेर ल्याए। “ल पिरो चाहिनेले लिनुहोस् है”। चिसो कै कारण केहि दिनदेखि भूपाल राईको नाक रसाउँदै थियोे। बिर्खको घर जानुको पछाडि एउटा स्वार्थ पनि गाँसिएको थियोे । “वाफ लिनु पायो भने मलाई धेरै आराम मिल्छ ऋषभ भाइ” भन्दै घुमेका थियौ कवि भूपाल राई र हामी। मौका जुर्यो पनि पनि । उनी पल्लो टेबलमा वाफ लिदै गर्दा बिर्खसंग निकै कुरा भयो गीत-संगीतको । खाजा बनाउदै गीत-संगीतका धेरै कुरा गरेका थिए बिर्खले।

टेबलमा खाजा तैनाथ थियोे । बिर्खले भूपाल र कुशल दुबैलाई एकैसाथ बोलाए ।”लु सर, लु भाइ खाजा तयार भयो” दुवै टेबल आइपुगे । पुनः गीत संगीतकै कुरा गर्दै खाजाको स्वाद लियौं हामीले । खाजा र कुराकानी दुबै मीठो थियोे ।

बिर्ख गुरुङको सोच, चिन्तन र एउटा योजनाले हामी निकै प्रभावित भयौं । योजना सम्पन्न होस भन्ने शुभेच्छा र शुभकामना प्रकट गर्यौ। खासगरी बिर्खले गीत, संगीत, स्रष्टा र सर्जकलाई हृदयदेखि नै माया गर्दा रहेछन् भन्ने अनुभूत भयो । उनको बैठक कोठाको भित्ता हेर्दा लाग्थ्यो कुनै फोटो ग्यालरीको एउटा खण्ड जस्तो। आदि कवि भानुभक्तदेखि थुप्रै कवि, कलाकार, गायक-गायिकाका तस्बिरलाई बिर्खले संग्रह गरेका देख्यौं हामीले। साथमा कवि भूपाल राई, भाइ कुशल र मैले निकै विचारपूर्ण ढंगले नियाल्यौं साधकका तस्बिरहरू। बिर्ख हाम्रा लागि प्रेमपुर्वक केही खानेकुरा थप्नमा लागिपरि रहेका थिए। नेपथ्यमा मधुर स्वरमा अरुण थापाको गीत बजिरहेकै थियोे । कुशल भाइले सुनाए “बिर्ख गुरुङ अरुण थापाका डाइहार्ट फ्यान हुन” ।

साच्चै हो पनि रहेछ। मधुरो संगीतले शान्त बनाएको छ बिर्खको बैठक। म भित्तामा नियाल्दैछु स्रष्टाका तस्बिरहरू । भानु द्वीशतबार्षिका अवसरमा तयार पारिएको भानुभक्तको तस्वीर ।जुन तस्वीरमा भानुभक्त राई- गुरुङ जस्ता पो देखिए भन्ने छिटफुट प्रतिक्रिया पनि आयो । यो विषय मैले किन उठान गरे भने म तात्कालिक भानु प्रतिष्ठानको सचिव थिए। दुई शतवार्षिकी मनाउने क्रममा भानु प्रतिष्ठानले तयार गरेको थियोे उक्त फोटो । धेरै तिर वितरित भयो । सोही फोटोले आदि कवि भानुभक्त आचार्यको द्विशतवार्षकी पनि मनाइयो। पछि थुप्रै विज्ञ कलाकार ,भाषाशास्त्री, विद्वान् तथा प्राज्ञिक समुहको छलफलबाट भानुभक्तको अर्को तस्बिर बन्यो । जुन अहिले प्रचलनमा छ। आँखा घुम्दै गए। लक्ष्मीप्रसाद देवकोटा, गोपाल योञ्जन, नारायण गोपाल, राजेश पायल राई, गायक रविन शर्मा, कवि नवराज लम्साल, अरु थुप्रै स्रष्टा सर्जक छन बिर्खको बैठक वरिपरि। एक्लै थिए म । भूपाल राई र कुशल भाइ कसैलाई जाडोको साथी जस्तो लाग्ने धूमपानमा बाहिर हुनुहुन्थ्यो क्यार! “भुलु भुलु लाग्यो मलाई अधेरी नै मीठो लाग्दैन उजेली हो.. मिठो लाग्दैन उजेली” अरुण थापा कै बजिरहेको थियोे पार्श्वगीत । कुशल राई आइपुगे र बसे मेरै छेउ । उनले भने “बिर्ख दजुको घरमा मैले अरुण थापाको गीत एक वर्षदेखि अविछिन्न बजिरहेको पाएको छु” बाटोमा पनि सुनाएका थिए उनले यो कुरा। घरमा फेरि थपे। गीत अनवरत बजिरहोस् भनेर बिर्खले साउण्ड बक्स राखेका रहेछन् । अमेरिकामा प्राय बत्ती त जाँदैन होला र पनि दुई हजार डलर खर्च गरेर अर्को व्याकअप राखेका छन भन्ने थप कुरा सुनाए कुशलले। विगत एक वर्षदेखि गायक कुबेर राईका छोरा कुसल राई पनि बिर्खको घरमा बस्दै आएका रहेछन। दुबै गीत-संगीतकै मान्छे । एउटा गायक अर्को गीतकार। मैले मनमनै भने “यो जोडीको मित्रता अक्षुण्ण रहोस्”।

मलाई अचम्म लाग्यो बिर्खको अरुण थापा र उनका गीतसँगको लगाव, प्रेम र समर्पण । हामी सबैजना खाजा खादै कुरा गरि रहेका थियौं । गीत, संगीत र साहित्य कै । कवि भूपाल राईले अरु पारिवारिक कुराकानीको पनि उठान गर्नु भयो । र पनि घुमिफिरी गीत संगीत मै पुग्थ्यौं हामी । मन्दिरमा अखण्ड हरिकिर्तन बजे जस्तै रहेछ बिर्खको घरमा अरुण थापाका गीतको गुञ्जन । अरुण थापाका बारेमा कुनै विषय उठान गर्यो कि भावुक हुन्थे बिर्ख। भावनाका असाध्यै धनि । बाबुको मृत्युबाट वियोग आमालाई हेरेर बिधवाको पीडा, मनोदशा , मनोविज्ञान र आमालाई सान्त्वना दिदै बिधवामा समर्पित गीत लेखेका रहेछन् बिर्खले । “बिधवा” नामक गीति एल्बमको अतिरिक्त अरु पनि गीत छन बिर्खका। आफ्ना सिर्जनामा भन्दा पनि अझ धेरै प्रेम र सम्मान छ अरुण थापामा।

गायक अरुण थापाका बारेमा जीवनी सहितको खोज तथा अनुसन्धान मुलक सङ्ग्रहको तयारीमा रहेका बिर्ख गुरुङलाई सिर्जनात्मक कर्ममा सफलता प्राप्त होस् । हार्दिक शुभकामना ।

ऋषभदेव घिमिरे

[email protected]

प्रतिक्रिया