दाङमा माइजू-भान्जा एउटै रुखको हाँगामा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । पुस ९ गतेदेखि हराएका तुलसीपुर ३ गोटीखोला निवासी माइजू-भान्जा मृत भेटिएका हुन् । उनीहरुलाई बुधबार अपरान्ह ४ बजेतिर सानो बखरियाको जंगलमा मृत अवस्थामा फेला पारिएको हो ।
एउटै रुखमा झुण्डिएको अवस्थामा माइजू तुलसीपुर ३ निवासी ३४ वर्षीया बसन्ती थापा र सोही ठाउँका भाञ्जा १९ वर्षीय तुलसीराम घर्ती मृत फेला परेका हुन् ।
तुलसीपुर उपमहानगरपालिका वडा नं । १३ स्थित सानो बखरिया जंगलमा पात टिप्न गएका स्थानीयहरुले देखेपछि प्रहरीलाई खबर गर्दा उनीहरु मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।
राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर अमेलिया सडक खण्डको झन्डै एक किलोमिटरभित्र जंगलमा उनीहरुको शव फेला परेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
उनीहरु गाउँबाट हराएपछि थापाका श्रीमानले खोजीका लागि प्रहरीमा निवेदनसमेत दिएका थिए । थापाले दुई वर्षदेखि माताको रुपमा काम पनि गर्दै आएकी थिइन् ।
उनीहरुले नजिकै खाजा खाएर सामूहिक आत्महत्या गरेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । हराएको लामो समय भएपनि शव भने धेरै दिनको नभएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया