सेतो रङसँग उनको मित्रता थियो। सेतो रङको एप्रोनमा उनले कति बिरामीको सेवा गरिन्, त्यसको हिसाब छैन। हिजोसम्म सेतो पहिरनमा उनलाई स्वाभिमानी छोरी देख्ने उनका आफन्त आज त्यही रङ हेर्न नसकेर अल्मलिएका छन्।
रङहरूले पनि समय र अवस्थाअनुसार भाव पोख्ने रहेछन्। पेसासँग जोडिँदा सुन्दर लागेको रङ मृत्युसँग गाँसिएपछि कहालीलाग्दो हुने रहेछ। शुक्रबार साँझ क्यान्सर रोग विशेषज्ञ डा । सृष्टि तिवारीको घरमा पुग्दा सर्वत्र त्यही अत्यास देखिन्थ्यो।
गएको पुस २८ गते काठमाडौंको चन्द्रागिरि सेतो पहरामा भएको सवारी दुर्घटनामा एकै परिवारका ५ जनाको मृत्यु भयो। त्यो परिवार डा । सृष्टिको थियो। कुलेखानी घुम्न हिँडेका उनका आमा, बुवा, श्रीमान् र २ छोराछोरी चन्द्रागिरिमा दुर्घटनामा परे। उनले हेर्दाहेर्दै बुवा, आमा, श्रीमान् र छोराको दुर्घटनास्थलमै ज्यान गयो। धुकधुकी बाँकी रहेकी छोरी लिएर अस्पताल आएकी सृष्टिले छोरीलाई पनि गुमाइन्।
सुन्दा फिल्मको जस्तो लाग्ने यो हृदयविदारक दृश्य आफ्नै आँखाले हेरेकी सृष्टि भने बाँचिन्।
सोही गाडीमा सवार उनी सडकका ढुंगा पन्छाउन भनेर झरेकी थिइन्। तर, बाटोमा न गाडी नै रोक्ने ढुंगा थियो, न धेरै अप्ठ्यारो बाटो।
शुक्रबार भेट्न आउनेहरूलाई सुस्त आवाजमा सृष्टि सुनाइरहेकी थिइन्, ‘खै कसरी त्यो भयो, मलाई थाहा छैन।’काठमाडौंको लाजिम्पाटस्थित आफ्नै निवासमा कोठाको एक कुनामा बनाइएको बिछ्याउनामा बसिरहेकी सृष्टि मौन छिन्। उनी घरीघरी आँखा चिम्लिन्छिन्। उनको छेउमा बसेका आफन्त ‘निद्रा लागेको हो ?’ भनेर प्रश्न गर्छन्। उनी केवल ‘होइन’ भन्ने भावमा टाउको हल्लाउँछिन्। उनलाई लाग्दो हो, ‘कोहीसँग नबोलूँ। चुपचाप बसिरहूँ।’
तर, उनलाई भेट्न जानेका आँखाभरि जिज्ञासा छन्। सोध्छन्, ‘यो कसरी भयो ?’
प्रतिक्रिया