हरितालिका तिजलाई अहिलेको आधुनिक समयमा कसरि बुझ्ने र बुझाउने?

रामु बिश्वकर्मा, पि.एच.डी (समाजशास्त्र) २०८० असोज ११ गते १०:०९ मा प्रकाशित

गएको हफ्ता हरितालिका तिज नेपाल भित्र र बाहिर बस्ने धेरै नेपाली, मुख्यतह, हिन्दु महिलाहरुले अत्यन्त रमाइलो र श्रदासाथ मनाए । विदेशमा धेरै दिन बिदा र अनुकुल नमिल्ने हुदा कम्तिमा तिजको एक दिन अघि भए पनि मिठो भोजन (दर) खाने, साथिसंगी इस्ट मित्र संग रमाइलो भेटघाट गर्ने, नाँचगान गर्ने, अनि तिजको दिन सक्नेले निर्जला उपवास बसी शिवजीको पुजा गरि ब्रत बस्ने, र नाचगान गर्ने चलन रहेको छ । पौराणिक कथा अनुसार पार्वतीले शिवलाई आफ्नो श्रीमान पाउ भनि कठोरताकासाथ शिवको ब्रत बसी पुजापाठ गरेकोले शिवजी श्रीमान पाउन सफल भएको विश्वास मान्दै नेपाली बिबाहित महिलाहरुले आफ्नो श्रीमानको लामो आयु र सुस्वास्थको कामना गर्दै र अबिबाहित महिलाले राम्रो र कुशल श्रीमान पाउ भनि शिवलाई पुजा गर्ने धार्मिक आस्था रहेको सुनिन्छ ।

समग्रमा हेर्दा महिलाहरुमा आउने एक किसिमको खुशि, राता राम्रा लुगाहरु, तीजका गीतहरु, अनि मिठा परिकारहरुको बासनाले पुरुष महिला दुबैलाई तीजले रमाइलो बाताबरण पस्किन्छ । तेस्तै, जुन पौराणिक कथामा तीज अडिएको छ, सिधा हिसाबले सुन्दा महान कथा जस्तो सुनिन्छ । महिलाले आफ्नो पति वा हुने वाला पतिको लागि गरेको समर्पण, त्याग, माया अनि सद्भाव उच्च कोटीको देखिन्छ । र शायद कथाको लुकेको मुख्य उदेश्य पनि यहि थियो ।

परापुर्बकालमा जब हरितालिका तीज मनाउने चलन सुरु भयो, सर्वसाधारणहरुको शिक्षा र बौद्दिक सामर्थ्य दुवै अत्यन्त कम थियो तसर्थ सुरु गरिएका वा चलिरहेका चलनचल्ती र सामाजिक नीति नियमहरुलाई बैचारिक रुपमा छलफल गर्ने, किन र कसरि जस्ता प्रश्नहरु सोधेर चिरफार गर्ने क्षमता थिएन ।अहिले समय व्यापक परिवर्तन भैसकेको छ । स-साना प्राथमिक स्कुलमा पढ्ने बाल-बच्चाहरुपनि संस्कारिक चाडबाड, चलन चल्तीलाइ बुझ्न खोज्ने, प्रश्न गर्ने, कारण खोज्ने चलन बढ्दै छ । यो अवस्था बिसेषत: हामी देश भन्दा बाहिर बस्ने परिवारहरु को बालबच्चाहरुमा बढी छ जस्तो लाग्छ किनकी उनीहरुलाई हाम्रा संस्कारी कुराहरु स्वत: स्वभाभिक हुदैनन । बुवाआमा छोराछोरीले संस्कार सिकुन भन्नेमा लाग्छन, छोराछोरी कतिले हेर्दा हेर्दै अलिअलि सिक्छन पनि, तर धेरैले किन गर्ने भनेर बुझेका हुदैनन, तेस्ले गर्दा मन देखि लिन सक्दैनन् वा हृदयंगत गर्न सक्दैनन। तेस्मा पनि, आजकलको स्कुल र पढाउने तरिका, जहाँ घोकन्ते भन्दा पनि कारण बुझाउने र logical explanation मा केन्द्रित गरिन्छ, त्यस सिस्टमका हाम्रा बच्चाहरु हरेक कुरामा logical र critical कारणहरु खोज्ने गर्छन, र यो सुखद कुरा हो ।

तिज के हो? किन मनाईन्छ? महिलाहरुले मात्रै किन मनाउनु पर्ने? किन उपबास, ब्रत अनि पुजा गर्नु पर्ने? यस्ता खालको प्रश्नहरु हालसालै मैले मेरो आफ्नै १० वर्षको छोरीबाट मैले पाएको छु । यी प्रश्नहरुलाइ कसरि बुझ्ने, सम्झिने र सम्झाउने? उत्तरदिदा विचार पुर्याएर र समय सपेक्ष्यतालाई ध्यानदिदै दिनुपर्ने जिम्मेवारी मैले महशुस गरे । मैले मेरो छोरिलाई तीज जस्तो चाड प्रति नकारात्मक विचार बिकाश गराउन चाहदैनथे, तेस्तै मैले कुनै पनि पक्ष बाट मेरी छोरीको आत्मसम्मान प्रति प्रश्न उठ्ने खालको उत्तर पनि दिन चाहदैनथे । यिनै कुराहरुलाई ध्यानमा राखी मैले छोरीलाई भने: तीज प्रत्येक वर्ष सेप्टेम्बर महिनामा हिन्दु महिलाहरु, खासगरी नेपाली हिन्दु महिलाहरुले मनाउछन । यो पर्वलाई महिलाहरुको लागि अत्यन्त आवश्यक personal care गर्ने दिन भनेर मान्न सकिन्छ । पुरुषहरुले पनि मनाउछन तर महिलाहरुको लागि यो dedicated चाड हो । उपवास बस्ने भनेको खाली पेट अर्थात् खान नखाइकन बस्नु हो जुन समय समयमा गर्नु स्वास्थ्य को लागि अत्यन्त राम्रो कुरा हो । पुजा भनेको आफु भन्दा ठुलो शक्ति प्रति आदर, सम्मान गर्नु हो र कृतज्ञ बन्नु हो, जुन कुराले सधै आफुलाई humility maintain गर्न सहायोग गर्छ। यो चाड संग जोडिएको पौराणिक कथापनि छ तर तेस्को पछि नजाउ भने । ति पौराणिक र धार्मिक कारणहरु प्राचिन समयको लागि सान्धर्विक भए होलान, तर वर्तमान समयमा ति कारणलाइ आधुनिककारण गरिनु पर्छ र समय सपेक्ष्य बनाउनु पर्छ भन्ने मेरो चिन्तन र विचार रहेको छ ।

मलाई लाग्छ हामीले दिने यस्ता प्रश्नहरुको उत्तरमा हाम्रो सोचाई, विचार र मूल्य लुकेको हुन्छ। उत्तर दिदा हामीले आफ्नो मूल्य र चिन्तन बाँडी रहेको हुन्छौ । ति मूल्य र चिन्तनहरु स-साना नानीबाबुको सोचाई, विचार र चिन्तनलाई प्रभाव मात्र होइन, उनीहरुको व्यक्तित्व बिकाश र भविष्य दिशानिर्देश गर्न पनि सक्छ । तशर्थ, हामी आमाबाबुहरू र घरका ठुला मान्छेहरु छोराछोरीहरुको प्रश्नहरुलाई, बिशेषतः चाडबाड, संस्कृति र सामाजिक चलन सम्बन्धि प्रश्नहरु, अत्यन्त सोचविचार गरेर र अझै सकिन्छ भने केहि अध्यन गरि logical, समयसापेक्ष, र सकेसम्म बैज्ञानिक तथ्यहरुको आधारमा दिनु अत्यन्त्य आवश्यक देखिन्छ ।

फेरी पनि तिजको प्रसङ्गलाई फर्किएर हेरौं। अहिलेको समयमा छोरीहरुलाई छोरा समान शिक्षा दिएर उनीहरुलाई पुरा-आत्मसम्मानको साथ जिउनुको लागि कानुन नै बनेका छन। यो दृस्टिकोणबाट हेर्दा आधुनिक समयमा छोरीहरुलाई राम्रो श्रीमान पाउ भनि पुजा उपवास र अर्चना गर्नु पर्ने कुनै आबश्यक छैन र यस्तो खालको सूचना र विचार उनीहरुलाई दिनु उनीहरुकोलागि राम्रो पनि हुदैन। राम्रो बर पाउ भन्नु पर्ने त्यो बेला र समाजमा उपयुक्त थियो होला जहाँ महिलालाई शिक्षा र अन्य अबसरहरु को कुनै विकल्प थिएन, र जीवन जिउने श्रोतको विकल्प केवल पति वा श्रीमान हुने गर्थे। तर अब को समय र अवस्था त्यो छैन । यस्तो चिन्तनको विस्तार गर्नु अहिलेको समयमा महिलाहरुको आत्मसम्मान, सशक्तिकरण र बिकासको अनुकुल हुन सक्दैन ।

छोरीलाई छोरा समान सोच्न, सोहि अनुरुप अगाडी बढ्न दिनको लागि हामीले कानुनलाई मात्र हेरेर हुदैन, हाम्रा चाडवाड, संस्कृति र संस्कारलाई नजिकबाट नियाल्नु पर्छ, critically examine गर्नु पर्छ, र सोहि अनुसार संस्कृति र चाडवाडका कारणहरुलाई समय अनुसार परिमार्जन गर्दै लैजानु पर्छ । यसो गर्न सकिएन भने नयाँ पुस्ताहरु हाम्रा चाडवाड तथा संस्कृतिहरु प्रति दुरी राख्ने छन, जसले नेपाली चाडबाड र संस्कृतिहरुको बिकाशमा टेवा मिल्ने छैन । अनि हाम्रा नयाँ पुस्ताहरु यी रमाइला चाडबाड र संस्कृतिहरुको मिठोपन र रौनकतालाई उपभोग गरि आफ्नो जीवनलाई धन्य बनाउन सक्ने छैनन ।

(यस लेखमा लेखिएका बिचारहरु सामाजिक र सांस्कृतिक विचार अनि मूल्यहरुको सकारात्मक परिवर्तनहेतु राखिएका मेरा व्यक्तिगत चिन्तन मननहरु हुन । पाठकहरुको प्रतिकृया र feedback लाई मन देखि स्वागत गर्दछु । सम्पर्क गर्न चाहनु भएमा, यो इमेल प्रयोग गर्नु होला: [email protected]))

-रामु बिश्वकर्मा, पि.एच.डी (समाजशास्त्र)

प्रतिक्रिया