वरिष्ठ नेत्र चिकित्सक रुइत बेलायत आउँदै

इनेप्लिज २०८० असार २२ गते ११:२१ मा प्रकाशित

लन्डन (जीएनएन) — तिलगंगा आँखा अस्पतालका संस्थापक वरिष्ठ नेत्र चिकित्सक डा सन्दुक रुइत बेलायत आउन लागेका छन् । ब्रिटेनको प्रतिष्ठित एङ्ग्लिया रस्किन विश्वविद्यालयले प्रदान गरेको मानार्थ विद्यावारिधि उपाधि थाप्न उनी शनिबार राती बेलायत आउन लागेका हुन् ।

आउँदो साता आयोजना गरिन लागेको एक समारोहमा डा रुइतलाई मानार्थ डक्टर इन साइन्स (डिएससी) को उपाधि प्रदान गर्न लागिएको हो।

आइतबार लन्डनस्थित नेपाली दूतावासमा नेप्लिज डक्टर्स एसोसियशन युकेले डा रुइतको सम्मानमा एक च्यारिटी कार्यक्रम राखेको छ। ‘उक्त कार्यक्रमबाट उठेको सहयोग रकम हामीले डा रुइतले स्थापना गर्नु भएको च्यारिटीलाई हस्तान्तरण गर्ने छौं,’ एनडीए युकेका अध्यक्ष डा कमल अर्यालले भने।

“एउटा ब्रिटिश विश्वविद्यालयले डा रुइतलाई सम्मान गर्नु उहाँको कामको मात्रै हैन, सम्पूर्ण नेपाली चिकित्सकहरुको सम्मान हो। उहाँको योगदानको विश्वव्यापी कदर हुँदै गर्दा हामी अत्यन्तै खुसी छौं,” डा अर्यालले भने।

यस अघि बहराइनले डा रुइतलाई झन्डै १३ करोड रुपियाँ राशीसहित इसा पुरस्कार प्रदान गरेको थियो। बहराइनका राजा शेख हमद बिन इसा अल खालिफा ‘अनररी प्रेसिडेन्ट’ रहेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अन्धोपन निवारणका लागि गरेको मानव कल्याणकारी कार्यको सम्मान गर्दै लागि डा. रुइतलाई इसा अवार्ड प्रदान गरिएको जनाएको थियो।

डा रुइतले संसारका विभिन्न देशमा एक लाख ८० हजार भन्दा बढी आँखाका बिरामीहरुको शल्यक्रिया गरी उनीहरुलाई दृष्टि प्रदान गरेका छन्। मोतियाबिन्दुको उपचार गर्न उनले विकास गरेको ‘इन्ट्राअकुलर लेन्स’ संसारमै प्रसिद्ध छ।

प्रतिक्रिया