गाडी दुर्घटनामा परेका सुदूरपश्चिमका कानूनमन्त्री सिंहको मृत्यु

इनेप्लिज २०८० असार ५ गते २१:०४ मा प्रकाशित

धनगढी। बझाङमा भएको गाडी दुर्घटनामा परेर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ ।

सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् । दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।

दुर्घटनामा घाइते भएका मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको ‍‍‍‍सुदूरपश्चिमका प्रहरी प्रमुख डीआईजी भरत बोहराले जानकारी दिए ।

मन्त्री सिंहलाई उपचारका लागि बझाङबाट हेलिकप्टरमा नेपालगञ्ज ल्याइएको थियो । सिंहसँगै नेपालगञ्ज ल्याएका चालक धर्मराज जोशी र सुरक्षागार्ड दीपक भण्डारीको भने उपचार भइरहेको छ ।

डडेल्धुराबाट बझाङ सदरमुकाम चैनपुर जाँदै गर्दाको क्रममा मन्त्री सिंह चढेको सुपप्र. ०१००१ झ ४८० नम्बरको गाडी बझाङ केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको थियो ।

प्रतिक्रिया