विराटनगर,१७ जेठ नेपाली कांग्रेसले कोशी प्रदेशको नाममा पुनःविचार गर्न आज यहाँ माग गरेको छ ।
नेकां कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुले आज संयुक्त विज्ञप्ति निकाल्दै प्रदेशको नाममा पुनःविचार गर्न माग गरेका छन् ।
विज्ञप्तिमा कांग्रेसले मात्र सङ्घीयताको मर्म र भावनालाई आत्मसात गर्दै गल्ती कमजोरीहरुलाई सच्याउने साहस गर्न सक्ने भन्दै उक्त्त तथ्य ध्यानमा राखी नामकरणमा पुनःविचार गर्न प्रदेशसभा समक्ष माग राखेको उल्लेख गरेका छन् ।
नामकरणपछि उत्पन्न परिस्थितिका कारण घाइते आन्दोलनकारीहरु तथा सुरक्षाकर्मीहरुको यथोचित उपचारमा सरकारले ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
प्रदेशसभाले कोशी नाम राखेपछि जनताको ठूलो तप्काले अहिले विरोध गरिरहेको छ भन्दै यसको सुनुवाई नेकांको नेतृत्वले गर्नुपर्छ भन्ने हाम्रो धारणा छ विज्ञप्तिमा उल्लेख गरिएको छ।
अहिले प्रदेशमा भइरहेको आन्दोलन र कोशी नाम सम्बन्धमा पार्टीको प्रदेश तथा केन्द्रको नेतृत्वले साहसिक निर्णय लिनुपर्ने आवश्यकता हामीले देखेका छौं ।’विज्ञप्तिमा उल्लेख गरिएको छ।
यसरी विज्ञप्ति जारी गर्ने जिल्ला सभापतिहरुमा मोरङका डिगबहादुर लिम्वु, संखुवासभाका दिपक खड्का, तेह्रथुमका अर्जुन तुम्बाम्फे, खोटाङका बिष्णुकुमार राई, सुनसरीका केदार भण्डारी,इलामका डम्मर खडका,उदयपुरका हिमाल कार्की,ओखलढुङ्गाका तेजेन्द्र खनाल, पाँचथरका रुपनारायण जगेबु,झापाका देउकुमार थेवे, सोलुखुम्बुका नामगेल जाङयु शेर्पा र धनकुटाका दिनेश राई हुनुहन्छ ।
प्रतिक्रिया