सिद्धार्थ गौतमको जन्म मायावतीको कोखबाट भएको थियो र उहाँको सम्पूर्ण पालनपोषण प्रजापतिबाट भएको थियो । प्रजापति गौतमी उहाँको पूरा नाम थियो र मायावतीको देहान्तपछि राजा शुद्धोधनले गौतमीलाई नै महाप्रजापतिको पद दिनुभएको थियो । महाप्रजापति भन्नुको अर्थ महारानी भन्नुसरह हो । करिब १६ वर्षको उमेरमा सिद्धार्थ गौतमको विवाह यशोधरासित भएको थियो र करिब २९ वर्षको उमेरमा सिद्धार्थ गौतमले गृहत्याग गर्नुभएको थियो । गृहत्यागको तयारी मनोवैज्ञानिकरुपमा भइसकेको अवस्थामा राहुलको जन्म भएको थियो । सम्भवतः सिद्धार्थ नै यस्तो पिता हुनुहुन्थ्यो जो छोरा जन्मिँदा पनि खासै खुसी देखिनुभएन । छोराको जन्मलाई बन्धनको रुपमा लिनुभयो र त्यही बन्धनको अर्थ दिने राहुल नामकरण हुन पुगेको थियो छोराको । दृढ निश्चयी स्वभावका सिद्धार्थ गौतमले रोहिणी नदीको पानीको कारण दुई देशबीच युद्ध हुने सम्भावनालाई रोक्न आफ्नो वचनअनुसार राज्यत्याग गर्ने निधो गर्नुभएको थियो । गृहत्यागको तत्कालीन कारण चाहिँ रोहिणी नदीको पानीको विषयलाई लिएर शाक्यसभामा भएको विवाद नै हो । सिद्धार्थले एक किसिमले गृहत्याग गरी शाक्यसभाको निर्णय विरोधमा विद्रोह नै थियो । अनेक किसिमको कठिन तपस्याहरुको प्रयोग गर्दै सिद्धार्थले सिद्धि प्राप्त गरी भगवान बुद्धको रुपमा ख्याति कमाएपछि आफ्नो पूर्व वाचाअनुसार कपिलवस्तु फर्कनु भयो ।
सिद्धार्थ बुद्धलाई हेर्न तथा उहाँको प्रवचनलाई सुन्न धेरै उत्सुक हुन्थे । जीवनबाट वाक्कदिक्क भइसकेकाहरुदेखि लिएर जीवनप्रति धेरै उत्सुकहरु पनि सिद्धार्थ बुद्धबाट दीक्षित हुन चाहन्थे । बुद्धको संघमा सम्मिलित हुन चाहन्थे । लामो समयदेखि राजकाजमा रहनुभएकी महाप्रजापति गौतमी पनि मनमनै भगवान बुद्धको शरणमा गएर भिक्षुणी बन्न चाहिरहनुभएको थियो तर त्यत्ति बेलासम्म स्त्रीलाई भिक्षु संघको सदस्यता दिने चलन चलिसकेको थिएन । सिद्धार्थ बुद्धले अनुमति वा स्वीकृति प्रदान गरिरहनु भएको थिएन । शाक्य स्त्रीहरुमा संघमा प्रविष्टिको उत्सुकता थियो । तथागत शाक्यहरुका न्याग्रोधाराममा बस्नुभएको बेलामा महाप्रजापति गौतमीले उहाँको दर्शन गरी समीप गएर भन्नुभयो – भगवन ! स्त्रीहरु पनि तथागतको धर्म–विनय अनुरुप प्रव्रजति हुन भएर संघमा प्रविष्ट हुने अनुज्ञा पाए बेस हुने थियो ।
सिद्धार्थ बुद्धको अनुहार धपक्क बलेको थियो । अनुहारमा गज्जबको आभा थियो । महाप्रजापति गौतमीले कुनै उत्तर पाउनु भएन । लाग्यो सिद्धार्थ बुद्धले सुन्नुभएन तर त्यस्तो थिएन । महाप्रजापति गौतमीले दुई तीनपटक आफ्नो प्रार्थना दोहो¥याइरहनु भयो । सिद्धार्थ ध्यानमा नै हुनुहुन्थ्यो । आखिर गौतमी आमा हुनुहुन्थ्यो । यद्यपि सबै किसिमको औपचारिक बन्धन र नाताबाट माथि उठिसक्नु भएको थियो सिद्धार्थ गौतम । अब उहाँ सिद्धार्थ गौतमबाट सिद्धार्थ बुद्ध भइसक्नु भएको थियो । उहाँको वाणीमा सबै तहका नागरिकको विश्वास भइसकेको थियो । उहाँलाई धेरैले भगवान नै पनि भन्न थालिसकेको थियो । सिद्धार्थ बुद्धले भन्नुभयो – गौतमी ! भैगो, यस्तो विचार मनमा उत्पन्न हुन नदेऊ ।
गौतमी ज्यादै चिन्तित र दुःखी हुुनुभयो । तथागतसमक्ष शिर झुकाएर गहभरि आँसु पारी रुँदै त्यहाँबाट फकिनुभयो । तथागत न्याग्रोधारामबाट चारिकाको लागि प्रस्थान गरेपछि महाप्रजापति गौतमी र अन्य शाक्य स्त्रीहरु, संघमा प्रविष्ट हुन तथागतबाट तिनीहरुका प्रार्थना अस्वीकृत भएपछि, अब के गर्ने हो भनी आपस्तमा भेला भएर विचार विमर्श हुन थाल्यो । तथागतको यस इन्कारलाई ‘अन्तिम निर्णय’ नमान्ने र कुनै न कुनै तरिकालाई उहाँलाई मनाउने कुरामा शाक्त स्त्रीहरु सहमत भए । तिनीहरु स्वयं ‘परिव्राजिका’ भएर तथागत सम्मुख उपस्थित हुने निर्णय गरे । महाप्रजापति गौतमी अन्य स्त्रीहरुसँग वैशालीको कुटागार भवनमा जानुभयो । त्यसबेला तिनका खुट्टाहरु सुन्निएका थिए, धुलो लागेको थियो । तथागत न्याग्रोधाराममा बस्नु भएको बेला महाप्रजापतिले जुन आग्रह गर्नुभएको थियो, त्यही प्रार्थना पुनः सिद्धार्थ बुद्धसित दोहो¥याउनुभयो । पहिलेजस्तै सिद्धार्थ बुद्धले पनि गौतमीको प्रार्थनालाई अस्वीकार गर्नुभयो । दोस्रोपटक पनि प्रार्थना अस्वीकृत हुन गएकोले प्रजापति गौतमी ज्यादै खिन्न र किंकर्तव्यविमूढ भएर कुटागारको ढोकाबाहिर उभिरहनु भएको थियो । यसरी उभिएको प्रजापतिलाई कुटागारतिर जाँदा आनन्दले देख्नासाथ चिनिहाल्नुभयो । र, महाप्रजापति गौतमीसित सोध्नुभयो –“तपाईको खुट्टामा धुलो लागेको छ, खुट्टा सुन्निएका छन् । तपाईँ यहाँ पटांगिनीमा यसरी किन उभिरहनु भएकी ? अनुहार दुःखी छ । आँखाबाट किन आँसु बगिरहेको छ ?”
“आनन्द ! तथागतले स्त्रीहरुलाई गृह त्गागेर उहाँको धर्म र विनयअनुसार प्रव्रजित हुने आज्ञा दिनुहुन्न ।” प्रजापतिको बोलीमा एउटा पीडा थियो । आनन्दले सुन्नुभयो मात्र । केही जवाफ दिनु भएन वा दिन सही मान्नुभएन । त्यसपछि आनन्द स्थविर तथागत बसिरहनु भएको ठाउँमा गई अभिवादन गरेर एकातिर बस्नुभयो । यसरी बसेपछि केही बेरमा आनन्दले तथागतसँग निवेदन गर्नुभयो –“भगवन् ! महाप्रजापति गौतमी पटांगिनीमा उभिरहनु भएको छ । उहाँका खुट्टाहरु सुन्निएका छन्, धुलो लागेको छ । अनुहार दुःखी छ । आँखाबाट आँसु बगिरहेका छन् । तथागतबाट स्त्रीहरुलाई घर त्यागेर विनय र धर्ममा प्रव्रजित हुने आज्ञा दिनुहुन्न भनेर दुःखी हुनुहुन्छ । भगवन् ! प्रजापति गौतमीका अनुसार स्त्रीहरुले पनि प्रव्रजित हुने आज्ञा पाए बेस हुने थियो ।
के महाप्रजापति गौतमीले तथागतको विशेष सेवा गर्नुभएन ? सानीआमाको हैसियतले तथागतकी आमाका शरीरान्तपछि उहाँले आफ्नै स्तनपान गराउनु भएको थियो । भगवन् ! स्त्रीहरुलाई पनि तथागतको धर्म र विनयअनुसार प्रव्रजित हुने अनुज्ञा पाए बेस हुने थियो ।”
“भैगो आनन्द ! छाडिदेऊ । स्त्रीहरुले प्रव्रजित हुने अनुज्ञा पाएको तिमीले मन पराउने छैनौ ।” दुई तीनपटक आनन्दले प्रार्थना दोहो¥याउँदा पनि सिद्धार्थ बुद्धबाट आनन्दको प्रार्थना अस्वीकृत भयो । त्यसपछि आन्द स्थविरले तथागतसित प्रश्न गर्नुभयो – तपाईँबाट स्त्रीहरुलाई प्रव्रजित हुन नदिनाको कारण के हुन सक्छ ? ब्राह्मणहरुलाई संघमा प्रविष्ट गराएजस्तै, शूद्रहरुलाई संघमा प्रविष्ट गराए झैँ स्त्रीहरुलाई पनि गराउनुपर्छ । भगवन् ! स्त्रीहरुसित मात्र यस्तो भेदभाव गर्नाको कारण के हुन सक्छ ? तथागतको धर्म र विनयमा लागेर स्त्रीहरुले निर्वाण प्राप्त गर्न सक्दैनन् कि ?”
तथाथतले भन्नुभयो –“आनन्द ! मलाई गलत नसम्झ । पुरुष जत्तिकै स्त्रीहरुले पनि निर्वाण प्राप्त गर्न सक्छन् भन्ने मेरो मत छ । आनन्द ! मलाई गलत नसम्झ । म लिंगभेदको पक्षपाती होइन । महाप्रजापति गौतमीको प्रार्थना मैले स्वीकार गरिन, त्यसको अर्थ स्त्रीहरुलाई पुरुषको तुलनामा हेय सम्झेको होइन । केवल व्यावहारिक कारण मात्र हो ?”
“भगवन ! तपाईँबाट मलाई यथार्थ कारण प्रकट भएकोमा म कृतज्ञ छु तर त्यस्तो कुन व्यावहारिक कारणले महाप्रजापति गौतमीको प्रार्थना सर्वथा अस्वीकृत हुन पुग्यो । यस्तो गर्दा मानिसहरुले धर्मको निन्दा नगर्लान् ? के मानिसहरुले तथागतको धर्म विनयमा पुरुषभन्दा स्त्रीहरुलाई अपहेलना गरिँदो रहेछ भन्ने धारणा नराख्लान् ? जुन व्यावहारिक कठिनाइहरुलाई लिएर तथागत चिन्तित हुनुहुन्छ, के त्यसबाट बच्न भिन्दै नियमहरु अपनाउन सकिन्न ?”
“ठिक छ आनन्द ! यदि महाप्रजापतिको यत्रो आग्रह छ र मेरो धर्म–विनयमा प्रव्रजित हुने तीव्र इच्छा छ भने म यो कुरा स्वीकार गर्दछु तर यस निम्ति महाप्रजापति गौतमीले स्त्रीहरुका तर्फबाट त्यसलाई पालन गराउनु पर्ने जिम्मेवारी लिनुपर्नेछ । यही महाप्रजापतिको दीक्षा हुनेछ ।” अनि स्त्रीहरुका सम्बन्धमा सिद्धार्थ बुद्धबाट आनन्दलाई आठ नियमहरुको जानकारी प्राप्त भयो । आनन्दले पनि सबै कुरा महाप्रजापतिलाई सुनाउनुभयो । महाप्रजापति गौतमीले भन्नुभयो – “आनन्द ! जसरी अलंकारप्रिय युवक वा युवतीले स्नानपश्चात कमल वा चमेलीको फूल वा मोतीको माला दुवै हातमा लिएर शिरमा धारण गर्दछ, त्यस्तै प्रकारले म पनि यी आठवटै नियमहरु जीवनभर पालिन गर्न शिरोधारण गर्दछु ।” अनि आनन्द स्थविर तथागत बसिराख्नु भएको ठाउँमा फर्केर आउनुभयो तथा अभिवादन गरी एकातिर बस्नुभयो । आनन्दले तथागतलाई भन्नुभयो – “महाप्रजापति गौतमीले आठवटै नियमहरु पालन गराउने र गर्ने जिम्मेवारी लिनुभयो । त्यसकारण अब यसलाई नै उहाँले उपसम्पदा लिएको मानौँ ।” महाप्रजापति गौतमीले प्रव्रज्या र उपसम्पदा ग्रहण गर्नुभयो, साथसाथै तिनीसँग आएका पाँच सय शाक्य–स्त्रीहरुले पनि तिनकै अनुशरण गरे । यसरी प्रव्रजित – उपसम्पन्न प्रजापति गौतमीले तथागतको अगाडि उपस्थित भएर अभिवादन गर्नुभयो । तगागतले पनि उहाँलाई धर्म र विनयको शिक्षा दिनुभयो । बाँकी पाँच सय भिक्षुणीहरुलाई अर्कै एक जना शिष्य नन्दले धर्म र विनयको शिक्षा प्रदान ग¥यो । महाप्रजापति गौतमीसँग भिक्षुणी हुने शाक्य स्त्रीहरुमध्ये यशोधरा पनि एक हुनुहुन्थ्यो । भिक्षुणी भएपछि उहाँको नाम भद्रा कच्चना अर्थात् भद्रा कात्यायना राखिएको थियो ।
यसरी बौद्ध संघमा स्त्रीहरुको पहिलो प्रवेश भएको थियो । आफ्नै आमा र पत्नीलाई सिद्धार्थ बुद्धले आफ्नो संघमा प्रवेश गराउँदा पनि अनेक परीक्षा लिनुभएको थियो । जीवनभर बौद्ध भिक्षु संघको नियममा अनवरत महाप्रजापति गौतमी र यशोधरा पनि चल्नुभयो ।
पत्रकार/लेखक
प्रतिक्रिया