तीन लाख सदस्यमार्फत जीवन विकासले रु ७७ करोड मुनाफा आर्जन

इनेप्लिज २०७९ चैत ३० गते १५:५६ मा प्रकाशित

विराटनगर, ३० चैत । जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेडले रु १४ करोड ७७ लाख बोनस शेयर वितरण गर्ने भएको छ ।

संस्थाको केन्द्रीय कार्यालय मोरङ कटहरीमा आज सम्पन्न चौथो बार्षिक साधारणसभामा आर्थिक वर्ष २०७८ः७९ को वितरण योग्य मुनाफाबाट गत असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी रु १ अर्ब तीन करोड ४२ लाखको ८० हजारबाट रु १४ करोड ७७ लाख ५४ हजार दुई सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित छ ।

साधारणसभामा आव २०७८–७९ को बार्षिक प्रतिवेदन तथा बासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह वितरणमाथि छलफल गरि पारित गरिएको छ ।

यसैगरी साधारणसभामा २०७९ असार मसान्तसम्म कायम रहेको चुक्ता पुँजी एक अर्ब तीन करोड ४२ लाख ८० हजारको ० दशलमव ७४१ प्रतिशतले हुन आउने रु ७३ लाख ८७ हजार ७१० नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।

विस २०७९ असारसम्म संस्थाको कारोबार २४ जिल्लाको १५९ वटा शाखा मार्फत वित्तिय कारोबार हुँदै आएको छ । तीन लाख ३९ हजार ४६२ सदस्य रहेको संस्थामा कुल निक्षेप रु नौ अर्ब ५४ करोड ६७ लाख पुगेको ।

गत आवको तुलानामामा असार मसान्त सम्ममा १८ प्रतिशतले निक्षेप बृद्धि भएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । संस्थाले रु २३ अर्ब २२ करोड ४७ लाख कर्जा परिचालनबाट खुद मुनाफा रु ७५ करोड १९ लाख आर्जन गर्न सफल भएको छ।

गत आर्थिक वर्षको तुलनामा २०७९ असार मसान्तसम्ममा खुद मुनाफा १० दशमलव ५३ प्रतिशतले बृद्धि भएको छ । यस्तै चालु आर्थिक वर्ष २०७९ –८० को असार मसान्त सम्ममा खुद मुनाफा रु ७७ करोड पाँच लाख पु¥याउने संस्थाको लक्ष्य रहेको छ ।

जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८–०७९ मा नेपाल सरकारलाई रु ३५ करोड ९३ लाख १९ हजार २८२ आयकर बुझाएको बार्षिक प्रतिवेदनमा उल्लेख गरिएको छ ।

वित्तिय कारोबारसँगै संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत १३ किसिमका अभियानहरु अहिले सञ्चालनमा रहेको छ । संस्थाले जीवन विकास बाल शिक्षा, बालबालिका अध्ययन केन्द्र, नव विहानी, सुकुम्वासीलाई जग्गाधनी बनाउने, सुरक्षित आवास, घर आँगन तरकारी खेती, जसको कोही छैन उसको जीवन विकास, सामुदायिक स्वच्छता, प्रकोप तथा विपद्मा सहयोग, उद्यमशिलता विकास, एक टोली एक अधिकृत टेलर सदस्य (एटिएम) नगद रहित कारोवार, थ्री जिरो क्लव अभियान सञ्चालन गरिरहेको छ ।

प्रतिक्रिया