ज्येष्ठ नागरिकलाई धार्मिक यात्रा

इनेप्लिज २०७९ चैत २९ गते २१:०३ मा प्रकाशित

विराटनगर, २९ चैत(रासस)ः विराटनगर महानगरपालिका वडा नं ११ स्थित ज्येष्ठ नागरिक वडा कार्य समितिले ज्येष्ठ नागरिकहरुलाई धार्मिक यात्रा गराएको छ ।

महानगरपालिकाको आर्थिक सहयोगमा बुधबार धार्मिक यात्रा गराएको हो । सामूहिक रुपमा धार्मिक भ्रमण गराउँदा ज्येष्ठ नागरिकहरुमा हौसला प्राप्त हुने भएकाले कार्यक्रम राखिएको समितिका अध्यक्ष ललित श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार ज्येष्ठ नागरिकहरु बिहान ५ बजेदेखि नै ज्येष्ठ नागरिक भवनमा आएर बसेको सुनाउनुभयो ।

धार्मिक भ्रमणमा ज्येष्ठ नागरिकलाई हौसला प्रदान गर्न वडाध्यक्ष तीर्थेन्द्र न्यौपाने, वडा सदस्य गायत्री थापा, गेनादेवी पासवान, वडासचिव सरस्वती ढकालका साथै समितिका पदाधिकारी र सदस्यहरु भ्रमणमा सहभागिता जनाउनुभएको थियो ।

ज्येष्ठ नागरिकलाई सुनसरीको धार्मिक स्थल बराहक्षेत्र, चतरा र रामधुनीको भ्रमण गराइएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।

स्वास्थ्यकर्मीसहितको भ्रमणमा ९२ जना ज्येष्ठ नागरिक सहभागी भएका थिए । सामूहिक धार्मिक भ्रमणमा जान पाउँदा ज्येष्ठ नागरिकहरु खुसी देखिएका थिए । “हामीजस्ता ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमण गराएर महानगर र ज्येष्ठ नागरिक वडा समितिले पुण्य काम गरेको छ,” भ्रमणमा सहभागी सम्झना नेपालले भन्नु भयो, “यसरी सामूहिक भ्रमण गर्दा बेग्लै अनुभव हुँदो रहेछ ।”

प्रतिक्रिया