महानगरले तोकेका पार्किङस्थललाई थप व्यवस्थित र सुरक्षित बनाउने निर्णय

इनेप्लिज २०७९ चैत २३ गते २१:३७ मा प्रकाशित

विराटनगर,२३ चैत(रासस): केही दिनदेखि पार्किङको समस्या झेलिरहेको विराटनगर महानगरपालिकाले ल्याएको पार्किङ स्थललाई थप व्यवस्थित गर्ने निर्णय गरेको छ ।

पार्किङको विषय लिएर व्यवसायी र विराटनगर महानगरपालिकाबीच केही दिनदेखि तनाव देखिएको थियो ।

महानगरले सडकमा पार्किङ गर्न नदिने र व्यवसायीले सडकमै पार्किङ हुनु पर्ने नभए हाम्रो व्यवसाय चौपट हुने कारण देखाई रहेका थिए ।

महानगरपालिकाले आज सरोकारवालासहितको उपस्थितिमा भएको बैठकले यसअघि तोकिएका पार्किङस्थललाई थप व्यवस्थित बनाउने निर्णय गरेको हो ।

महानगरले यसअघि जलजलाचोकदेखि ट्राफिक चोक, शनिमन्दिर–कोशी अस्पतालचोक, महावीर रोड, गुद्री रोड, हिमालय रोडलाई महानगरले पार्किङ निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।

यसअघि कार्यान्वयनमा ल्याएका पार्किङस्थलमा भौतिक संरचना थप गरी प्रभावकारी रुपमा कार्यान्वयनमा ल्याउने बैठकले निर्णय गरेको छ । त्यस्तै जलजला चोकदेखि डिएसपी अफिससम्म भने पार्किङस्थल निश्चित भएपछि नो पार्किङको निर्णयलाई कार्यान्वयनमा ल्याइने भएको छ ।

बैठकले यसअघि तोकिएका पार्किङस्थलहरु थप व्यवस्थित गर्दै भौतिक पूर्वाधारहरु थप गरी सीसी क्यामेरा र बत्ती जडान गरी सुरक्षित र व्यवस्थित बनाउने निर्णय गरेको छ ।

विराटनगर महानगरपालिाकाका प्रमुख नागेश कोइराला र उपप्रमुख शिल्पा निराला कार्कीको उपस्थितिमा भएको बैठकले पार्किङस्थललाई जतिसक्दो छिटो व्यवस्थित गरी नो पार्किङलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्णयसमेत भएको छ । साथै बैंक तथा वित्तीय संस्था, अस्पताल, होटेल, सरोकारवाला संस्थाहरुलले आफ्नो पार्किङको आफैं व्यवस्थापन गर्नका लागि पत्राचार गर्ने निर्णय भएको महानगरका प्रवक्त्ता सन्तोष न्यौपानेले जानकारी दिनुभयो ।

तोकिएका स्थानको पार्किङलाई व्यवस्थित बनाउन भोलिदेखि नै लाग्ने प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताउनुभयो ।

बैठकमा प्रमुख कोइरालाले विराटनगरलाई सफा, सुन्दर र व्यवस्थित बनाउने अभियानमा महानगर लागिपरेकाले सहयोग गर्न आग्रह गर्नु भएको थियो । बैठकमा नेपाल उद्योग परिसंघका अध्यक्ष भीम घिमिरे, उपाध्यक्ष दीपक पौडेल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साह, विराट व्यापार संघका अध्यक्ष नरेश खत्री, उपाध्यक्ष प्रमोद अग्रवाल, खुद्रा व्यापार संघका अध्यक्ष सञ्जयकुमारसिंह मण्डल, उपाध्यक्ष अञ्जय मिश्रलगायतले महानगरको अभियानमा आफूहरुले साथ दिने प्रतिबद्धता जनाउँदै पार्किङलाई व्यवस्थित र सुरक्षित बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

बैठकमा विराटनगर महानगरपालिका वडा नं १ का अध्यक्ष कुमार पोखरेल, ४ का जितन थापा, ५ का सन्तोष न्यौपाने, ६ का हरिशचन्द्र सहनी, ७ का मधुबाबु तिवारी, ८ का राम पोखरेल, १० का अर्जुन गिरी, १३ का सूर्यलाल यादव, १४ का सूर्यनारायण महतो, १५ का प्रकाश साह, १६ का उद्धव भुजेल, १९ का श्याम घिमिरे, कार्यपालिका सदस्य सरिता घिमिरे नेपाल, कमल श्रेष्ठ, खुश्वु विश्वकर्मालगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा खुद्रा व्यापार संघले पार्किङलाई व्यवस्थित बनाउनुपर्ने, स्वदेशी बजारको प्रवद्र्धनमा लाग्नुपर्ने, जोगबनी नाकामा कडाइ गर्नुपर्नेलगायतका माग राखेर महानगरका प्रमुख कोइरालालाई ज्ञापनपत्रसमेत बुझाएको थियो ।

पार्किङको विषय लिएर केही दिनदेखि व्यवसायीले बजार बन्द गर्ने, नारा जुलुश निकाल्ने जस्ता गतिविधि गर्दै आएका थिए ।

प्रतिक्रिया