मैले पहिलो चोटि उनलाई देख्दा उनी कन्टेनर बाट अनलोड हुँदै गरेका कार्टनहरुलाई र्यान्ड्म्लि खोलेर जाँच गर्दै थिइन् । म एकछिन रोकिएर उनको त्यो कार्यलाई हेरिरहे । जुन लगाव र इमानदारिता संग उनी काम गर्दै थिइन्, त्यो देखेर म पहिलो नजरमा नै उनी देखी निक्कै नै प्रभावित भएँ । उनी र म एउटै कम्पनी (तयारी पोशाक उद्योग) मा काम गर्थ्यौँ । हाम्रो जिम्मेवारी भने फरक थियो । उनी स्टोर सम्हाल्थिन्, म भने कम्पनीको समग्र प्रोडक्सन टिम तथा बायर्सहरुसँग समन्वय गर्थे ।
हामीले काम गर्ने उद्योगमा विभिन्न अन्तर्राष्ट्रिय बायर्सहरुका लागि विभिन्न डिजाइन र शैलीका तयारी पोशाकहरु बन्ने गर्थे । विभिन्न डिजाइन र शैलीका तयारी पोशाकहरुमा प्रयोग हुने सम्पूर्ण एक्सेसरीज (सर समानहरु) को हिसाब किताब स्टोरले राख्ने गर्थ्यो । र त्यसमा कुनै समानहरु अपुग भएमा सो कुराको जानकारी म भएकोमा आउने गर्थ्यो र प्राप्त जानकारी अनुरुप त्यसको समयमै व्यवस्थापन गर्नका लागि मैले समन्वय गर्नु पर्ने हुन्थ्यो । त्यसो भएकाले कामको सिलसिलामा हाम्रो भेट निक्कै बाक्लै हुने गर्थ्यो ।
भलै हाम्रो भेटघाट प्रोफेसनल हुने गरे पनि, हरेक दिन जसो हुने भेटघाटले हामी दुईलाई एक अर्काका बारेमा जान्न बुझ्न सजिलो बनाएको थियो । म त्यतिखेर उमेरले २८ टेकेको थिए । घरमा मेरो विवाहका कुराहरु पनि चल्न थालेका थिए । त्यसै सिलसिलामा हाम्रो चलिआएको सामाजिक परम्परा अनुसार विवाहका लागि केटी हेर्न जाने कुराहरु तय हुन थाले । र, अनौपचारिक रूपमा एक–दुई ठाउँ गइयो पनि ।
विवाहका लागि केटी हेर्न गएको कुरा उनले नथापाउने भन्ने कुरै भएन । सायद म आफैँले पनि उनलाई यो विषयमा जानकारी गराएको थिए होला तर यो विषयमा उनको प्रतिक्रियालाई भने मैले खासै चासो दिएको रहनेछु । एक दिनको कुरा हो, मेरो अफिसमा आएको बेला, उनले मलाई सोधिन् – हिजो त अफिस आउनु भएन कहाँ जानु भएको थियो ? त्यतिन्जेल सम्म मेरो मनमा कुनै त्यस्तो भावना थिएन । त्यसैले होला मैले सीधा जवाफ दिए, हिजो म दाजुहरु संग विवाहका लागि केटी हेर्न जाने सिलसिलामा अल्झिएको थिए । मेरो उत्तर सुनेर उनको मुहारमा त्यतिखेर छचल्किएको भावले मेरो मनमा एक प्रकारको सुनामी उत्पन्न गरायो । त्यस पछि उनी अरु केहि पनि बोलिनन्, र अन्त्यमा निक्कै भावुक शैलीमा ‘लु बधाई छ’ भनि राखेर मेरो अफिस बाट बाहिरिन ।
उनको यो प्रतिक्रियाले मेरो केही क्षण अघि मात्र छचल्किएको मनलाई अझ धेरै उद्वेलित पारिदियो । यो घटनाले गर्दा त्यो रात म राम्रो संग निदाउन पनि सकिन । म उनलाई मन त पराउँथे तर म उनलाई यो अर्थमा मन पराउँथे कि उनी आफ्नो कामप्रति अत्यन्तै जिम्मेवार र इमानदार थिइन् । र उनको यो काम गर्ने शैलीले मलाई अत्यन्तै प्रभावित पारेको थियो । त्यसैले म उनलाई मन त पराउँथे तर उनलाई आफ्नो जीवन साथी नै बनाउला भनेर भने मैले त्यतिन्जेल सम्म कुनै कल्पना गरेको थिइन ।
भोलीपल्ट म अफिस त गएँ तर मेरो मन भने आफ्नो काममा एकाग्र थिएन । अनायास नै मनले हरपल उनकै बारेमा सोचिरह्यो । उनको हिजोको प्रतिक्रियाले म एक प्रकारले घायल बनेको थिए । उनको त्यो प्रतिक्रियाका बारेमा उनीको स्पष्ट धारणा नबुझ्दा सम्म मेरो घायल बनेको मन निको हुने अवस्थामा थिएन । त्यसैले उनलाई भेटेर यो विषयमा स्पष्ट हुन मेरो मन भौँतारिराखेको थियो । तर त्यो दिन साँझको ५ बज्दा सम्म पनि हाम्रो भेट हुन सकेन अर्थात त्यो पुरै दिन उनी मेरो अफिसमा एक पटक पनि आइनन् र मैले पनि स्टोर पसेर उनलाई भेट्ने हिम्मत जुटाउन सकिन । अन्त्यमा ५ बजे पछि म आफैँ स्टोर पुगे । स्टोरका अन्य स्टाफ ५ बजे नै निस्किसकेछन् । धन्न त्यो दिन उनी भने स्टोरको अफिसमै त्यो दिनका रेकर्डहरू अपडेट गरेर बसिरहेकी रहिछन् ।
तर उनले म तर्फ खासै ध्यान दिइनन्, आफ्नै काममा ब्यस्त रहेको जस्तो गरिन् । यद्यपि अफिसकै कामका बारेमा कुराको सुरुवात मैले नै गरे । कुरा गर्ने इच्छा खासै नभए जस्तो गरेर उनले मेरा प्रश्नहरुको एकदमै सटिक जवाफ फर्काइन । उनको त्यस्तो स्वभावले म भित्र उत्पन्न आवेगलाई आगोमा घ्यु थपे झै अझ उकास्ने काम गर्यो । त्यसपछि मैले सिधै प्रश्न गरे, तिमीले हिजो के भन्न खोजेको, तिमी मलाई मन पराउँछौँ कि क्या हो ? उनले मेरो यो प्रश्नको कुनै जवाफ फर्काइनन् । यसले मेरो आवेगलाई अझ धेरै भड्कायो । त्यसपछि मैले सिधै सोधे – तिमीसँग विवाह गर्नका लागि मैले के गर्नु पर्छ ?
मेरो यो प्रश्नले भने उनलाई पनि हैरान बनायो । उनका आँखाहरू आँसुले भरिएर रसिला भए । आँखामा टिलपिल आँसु लिएर उनले भनिन् – आज तपाईंलाई के भएको छ ? म संग किन यस्ता प्रश्नहरु गरिराख्नु भएको छ ? यदि तपाईंले यी प्रश्नहरू सचेत भएर नै गर्नु भएको हो भने, मलाई जवाफ दिनका लागि केहि समय चाहिन्छ भनेर उनले भनिन् । त्यति बोलिसक्दा, उनका आँखामा टिलपिलाएका आँसुहरू गालाका दुई पाटा हुँदै बगेर तल खस्न थालिसकेका थिए । उनको कुरा सुने पछि, ठीक छ – म यो विषयमा तिम्रो उत्तरको प्रतीक्षामा रहने छु भन्दै म त्यो दिन स्टोर बाट बाहिरिए ।
भोलीपल्ट उनको साथी मेरो अफिसमा आइन् र मेरो हातमा एउटा फोल्ड गरिएको कागज थमाएर गइन् । उक्त कागज खोलेर हेरे, त्यसमा लेखिएको थियो, यदि मलाई गर्नु भएको प्रश्नका बारेमा तपाईं साच्चिकै सचेत र गम्भीर हुनुहुन्छ भने, यो विषयमा तपाईंले मेरो घरमा आएर बाबा आमा संग औपचारिक रूपमा नै कुरा राख्नु पर्ने हुन्छ ।
उनको त्यो जवाफ संगै बल मेरो कोर्टमा आएको थियो । अब भने यो विषयले ख्याल ख्यालमा निक्कै नै गम्भीर मोड लिन सुरु गरिसकेको थियो । मेरा लागि आवेगमा बोल्न जति सजिलो थियो, त्यसलाई व्यावहारिक रूपमा निभाउन उत्तिकै चुनौतीपूर्ण र कठिन । यो विषयमा अर्को कदम चाल्नु अघि, मैले फेरि एकपटक अहिले सम्मका सबै घटना क्रमलाई राम्ररी समीक्षा गरे र निष्कर्ष निकाले ’कुनै अन्जान युवती संग विवाह गरेर अन्योल जीवन जिउनु भन्दा उनलाई नै आफ्नो जीवनसाथी बनाउन सके भावी जीवन सहज र सुखी बन्न सक्छ ।’
यस्तो निर्णय गरेसँगै मैले उनलाई भेटेर भने, हेर म यो विषयमा सचेत र गम्भीर मात्र हैन प्रतिबद्ध पनि छु । तर यसबारेमा तिम्रो बाबा आमालाई भेटेर कुरा राख्नु भन्दा पहिला मैले मेरो आमालाई भेट्नु पर्ने हुन्छ, तब मात्र हामी अगाडि बढ्न सक्छौं । यो कुरामा उनी पनि सहमत भइन् । हामी बीच यो समझदारी भएसंगै, त्यसको तीन दिन पछि हुनु पर्छ, म बिहानै आमालाई भेट्न भनेर हाम्रो गोल्धापमा रहेको मुल घर पुगे ।
त्यतिखेर हाम्री आमा उमेरले झण्डै ७० पुग्न लाग्नु भएको थियो । हाम्रो परिवार सुरुबाट नै प्रगतिशील विचार राख्ने भएकोले आमालाई मनाउन मलाई त्यति गाह्रो थिएन । तर पनि आमाले कसको छोरी भनेर सोध्नु भयो, जुन अत्यन्तै स्वभाविक पनि थियो । उनी लेप्चाको छोरी थिइन्, आमालाई यो लेप्चा कुन जात अन्तर्गत पर्छ भन्ने कुरा बुझाउनलाई कठिन हुन्छ भनेर मैले त्यतिखेर गुरुङ जस्तै जातको छोरी हुन् भनेर भनिदिए ।
आमाले जातका विषयमा खासै ध्यान दिनुभएन, तर एउटा कुरामा भने विशेष जोड दिदै भन्नु भयो – अब तिमीहरु हुर्किएर आफु आफु गरिखान थालिसकेका छौँ । त्यसैले तिमीलाई मन पराउने वा तिमीले मन पराउने केटीसँग विवाह गर्नमा मेरो कुनै आपत्ति छैन । तर पछाडि गएर तिमीहरु बिचमा कुनै नराम्रो भयो रे भनेको चाहिँ मैले सुन्नु नपरोस् । यो कुरामा भने राम्रो ध्यान दिनु, बाँकी तिमीहरुको मर्जी गर, मेरो केही भन्नु छैन ।
आमाको सहजै स्वीकृति प्राप्त भएपछि म खुसी हुँदै अफिस फर्किए । अफिस पुगेर उक्त खुसीको खबर उनलाई पनि सुनाएँ । र भोलिपल्ट उनको बाबा आमासँग कुरा गर्नका लागि उनको घर आउने योजना बनाएको कुरा पनि उनलाई सुनाएँ । यसै सिलसिलामा, उनकै एकजना साथीलाई भोली बिहानै उनको घर गएर, हाम्रो विषयमा बाबा आमासँग कुरा राखेर स्थितिलाई अलिक सहज बनाएर राखि राख्नका लागि पनि अनुरोध गरे ।
उनका बाबा सेवानिवृत्त पुलिस अफिसर हुनुहुन्थ्यो । उमेरले त्यस्तै ५४–५५ को, झलक्क हेर्दा खाइलाग्दो जिउडाल, निक्कै जवान नै देखिनु हुन्थ्यो । म भने जम्मा ४८ केजीको लिखुरे बाहुन केटो थिए । छोरीको हात माग्न आएको म एक्लो लिखुरे बाहुनलाई, कतै बुढा रिसाएर झट्टी हानि पठाउने त हैनन्, भनेर मेरो मन एकप्रकारले डराएको थियो । हिन्दीमा ‘मरता क्या न करता’ भने झै डराएर मेरो काम बन्ने वाला थिएन । मलाई भोली पल्ट जसरी पनि उनको घर पुगेर आफ्नो कुरा राख्नु नै थियो । त्यसै अनुसार, भोलीपल्ट बिहान त्यस्तै ९ बजे तिर म मेरो फट्याङ्ग्रो जस्तो देखिने बक्सर बाइक लिएर उनको घर पुगे ।
उनको घर प्रवेश गरेसँगै त्यहाँ सबैसँग पहिला त नमस्कार आदानप्रदान भयो । त्यस पछि सानो बैठक कोठामा रहेको पुरानो मोडेलको सोफामा बस्नका लागि मलाई संकेत प्राप्त भएसंगै म बसे । पूर्व योजना अनुसार, उनको साथी बिहानै त्यहाँ पुगेर हाम्रो विषयमा अलि–अलि कुरा पहिल्यै राखिसकेकी रहिछन् । जसले गर्दा मलाई आफ्ना कुरा राख्न त्यति अप्ठ्यारो भएन ।
कुराको सुरुवात मैले नै गरे । बाबा मोटामोटी कुरा त हजुरले अघि नै थाहा पाई सक्नु भएको हुनुपर्छ । थप म के स्पष्ट गर्न चाहन्छु भने, हाम्रो सम्बन्ध यस्तो पनि होइन कि ’हजुरको छोरीले मलाई नपाउँदा उनीले आत्मघात गर्ने वा हजुरको छोरीलाई मैले नपाउँदा मैले आत्मघात गर्ने ।’ हामी दुवै जना राम्रोसँग हुर्किसकेका मात्र हैन, हामी समान रूपले परिपक्व र सचेत पनि छौं । हामीले एकअर्कालाई राम्रोसँग बुझेका पनि छौँ । यस्तो अवस्थामा, यदि हजुरहरुको आशीर्वाद हामीलाई प्राप्त हुने हो भने, हामी हाम्रो अगाडिको जीवन सँगै बिताउन चाहन्छौँ । त्यसैले हजुरहरु सँग यही कुरा राख्न आज म यहाँ आएको हुँ भनेर मैले मेरो कुरा एकै सासमा सुनाएँ ।
मेरो कुरा सुनेर बाबा केही क्षण मौन नै रहनु भयो । केही बेरको मौनता पछि भन्नु भयो – मैले पनि मेरी छोरीलाई पढाएर बढाएर आफ्नो खुट्टामा आफैँ उभिन सक्ने बनाएको छु । म तिमीहरु दुवै जनाको चाहनाको विरुद्धमा पनि छुइन । तर यो विषयमा तपाईंले आफ्नो परिवारमा कुरा राख्नु भएको छ ? के तपाईंको परिवार यो विषयमा वा तपाईको इच्छासँग सहमत हुनुहुन्छ ? मेरो छोरीको हात माग्न त तपाईं एक्लै आउनु भएको छ ! म तपाईंलाई कसरी विश्वास गरौ ?
बाबाले यस्तो कुरा उठाए संगै मैले बाबालाई स्पष्ट पारे, बाबा म मेरो परिवारको कान्छो छोरो भए पनि एक प्रकारले हामी सबै दाजुभाइहरू आफु आफु गरिखान थालिसकेका छौँ । र, मैले यो विषयमा सबै कुरा आमालाई पनि सुनाइ सकेको छु र यसमा आमाको कुनै आपत्ति छैन भन्दै हिजो आमा सँगको मेरो भेटमा आमाले जोड दिनुभएको विषलाई मैले जस्ताको त्यस्तै सुनाएँ ।
मेरो कुरा सुने पछि, बाबाले भन्नु भयो आफ्नो खुट्टामा आफैँ उभिन सुरु गरिसकेका परिपक्व छोराछोरीहरूको इच्छा विरुद्ध हामी बाउ आमाहरु जान सक्दैनौँ । तपाईंहरुको मन मिलेको छ र तपाईंको परिवार बाट पनि यो विषयमा समर्थन प्राप्त भैसकेको हो भने, हाम्रो तर्फबाट पनि कुनै आपत्ति छैन । तर भोली कुनै पनि बहानामा हाम्री छोरीले दुःख पाउने छैनन् भन्ने कुराको सुनिश्चित भने तपाईंले गर्न सक्नु पर्छ भन्दै बाबाले निकै भावुक भएर आफ्नो कुरा टुङ्ग्याउनु भयो । बाबाको कुरा टुङ्गिए संगै मैले पनि हजुरको छोरीलाई जीवन भर सधैं खुसी र सुखी राख्ने छु भन्ने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो कुरा टुङ्ग्याए ।
उक्त दिन २०६० साल माघ १ गते बिहीवार थियो । हामीले त्यसै दिन आउँदो माघ १२ गते, श्री पञ्चमीका दिन सीमित पारिवारिक साथीहरूको उपस्थितिमा विवाह गर्ने निधो पनि गर्यौँ र म घर फर्किएँ ।
यो खबर भोलिपल्टै एक कान दुई कान मैदान भइदियो । हाम्रो विवाहलाई लिएर सैद्धान्तिक रूपमा हाम्रो परिवारमा खासै धेरै मतभेदहरु त थिएनन् तर पनि केही प्राविधिक कठिनाइहरूका कारण, माघ १२ गते गर्ने भनिएको विवाह, माघ ४ गते, आइतबारका दिन नै कन्काई धाममा सम्पन्न हुन पुग्यो ।
अहिले सम्झन्छु, आफ्नी जम्मा दुईटी छोरीहरु मध्ये एउटी छोरीको विवाह पहिले नै बाहुनसँग भैसकेको हुँदा, मेरा ससुरा बालाई बाँकी रहेकी अर्की छोरी पनि अर्को एउटा लिखुरे बाहुनलाई नै दिनु पर्दा, बुढा मान्छे त्यतिखेर खासै खुसी हुनुहुँन्थेन । खैर, अहिले नाति १८ वर्षको पुग्यो, भर्खरै बाट इन्जिनियरिङको पढाई सुरु गरेको छ । आशा गर्छु बाँकी रहेकी अर्की छोरी पनि बाहुनलाई नै दिएकोमा बाबालाई कुनै पछुतो भने पक्कै पनि छैन होला !
रमेश ढकाल
भद्रपुर–झापा (हाल दोहा–कतार)
[email protected]
प्रतिक्रिया