रु १२ करोड ठगी गर्ने तीन जना सहकारीका सञ्चालक पक्राउ

इनेप्लिज २०७९ फागुन २९ गते १०:२८ मा प्रकाशित

विराटनगर,२९फागुन । तुलसी वहुमुखी बहुउद्देश्य सहकारी सस्था लिमिटेड विराटनगर–२ ले बचतकर्ताको रु १२ करोड नौ लाख रकम ठगी रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज यहाँ सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङले आज यहाँ पत्रकार सम्मेलनको आयोजना यसरी पक्राउ पर्नेहरुमा सहकारीकी उपाध्यक्ष मोरङ उर्लावारी नगरपालिका –६ की अनिता गौतम,सचिव झापा भद्रपुर नगरपालिका –१४ की सविना न्यौपाने र क्षेत्रीय प्रवन्धक विराटनगर–२ का मन्दिप खवास रहेको जनाएको छ ।

सहकारीका १२१ जना बचतकर्ताहरुले संस्था यही फागुन १ गते बन्द गरी बिना जानकारी सञ्चालकहरु सम्पर्क विहीनभै रकम फिर्ता नदिई फरार रहेको भनी फागुन २८ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरीका आधारमा निजहरुलाई पक्राउ गरिएको कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिपक पोखरेलले जानकारी दिनु भयो ।

मुख्य कार्यालय विराटनगर रहेको सहकारीको झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा गरी तीन बटा सेवा केन्द्रमा गरी २१ हजार ७१३ सदस्य मध्ये विराटनगरमा मात्र चार हजार रहेका छन् ।

सहकारीले सबै सेवा केन्द्रमा गरी करीव रु एक अर्ब ५० करोड रकम बचतकर्तालाई फिर्ता गर्नुपर्ने अनुमान प्रहरीको रहेको छ ।

संस्थाका अध्यक्ष केदारनाथ शर्मा सहित पाँच जना फरार रहेकाले खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सञ्चालहरुले योजनावद्ध तरिकाले ठूलो रकम हिनामिना गरी सहकारीका सदस्य एवं बचतकर्ताहरुलाई गठी गरेको देखिन आएको छ ।

विस २०५२ मा सहकारी विभागमा दर्ता रहेको उक्त सहकारीको कार्य क्षेत्र नेपाली भरी रहेको छ।

प्रहरीले उक्त संस्थामा वचत गर्ने बचतकर्ता एवं पीडितहरुलाई पाँच दिन भित्र कार्यालयमा जाहेरी दरखास्त दिन आग्रह गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङमा पीडित वचतकर्ताहरुको जाहेरी दरखास्त दिनेहरुको लामवद्ध रहेको छ।

प्रतिक्रिया