वीरेन्द्र रावल
काठमाडौं, फागुन २५÷राष्ट्रपतिमा पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भएका छन् । राष्ट्रपति निर्वाचन अधिकृतको कार्यालय अनुसार उनले ३३ हजार ८०२ मत भारसहित निर्वाचित भएका हुन ।
राष्ट्रपति पदका अर्का उम्मेदवार पूर्व सभामुख एवम् नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले भने १५ हजार ५१८ मत भार प्राप्त गरेका थिए । नवनिर्वाचित राष्ट्रपति पौडेललाई नेपाली कांग्रेससहित नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी गरी नौ दलको समर्थन रहेको थियो ।
पौडेल मंसिर ४ गते सम्पन्न संघीय निर्वाचनमा तनहुँ १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । नेपाली कांग्रेसले फागुन १३ गते शनिबार पार्टीका वरिष्ठ नेता पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको कार्यालयले नवनिर्वाचित राष्ट्रपतिलाई प्रमाणपत्र दिइएको छ । राष्ट्रपतिको निर्वाचन संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा) र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलबाट हुन्छ ।
संघीय संसद र प्रदेशसभा सदस्यले मतदान गर्ने राष्ट्रपति निर्वाचनमा ३१३ संघीय सांसद र ५१८ प्रदेशसभा सदस्य गरी ८३१ जनाले मतदान गरेका थिए । संघीय संसदका ३३४ जना सदस्यमध्ये राप्रपाका १४, नेपाल मजदुर किसान पार्टीका १ जनाले मतदानमा सहभागिता जनाएनन् । नेपाली कांग्रेसका चन्द्र भण्डारी, नेकपा माओवादी केन्द्रका वर्षमान पुन उपचारका क्रममा मुलुक बाहिर रहेकाले मतदानमा सहभागी भएनन् ।
कांग्रेसबाट निर्वाचित भई भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् । मतदाता नामावलीमा नाम भए पनि फौजदारी मुद्दाका अभियुक्त एमालेका लक्ष्मी महतो कोइरी पनि राष्ट्रपति निर्वाचनमा मतदान गर्न आएनन् ।
प्रदेशसभाका ५५० सदस्यमध्ये ५१८ जनाले मात्र मतदान गरे । राप्रपाका २८, नेपाल मजदुर किसान पार्टीका ३ र जसपाका एक सांसदले मत दिएनन् । राष्ट्रपति निर्वाचनमा संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।
राष्ट्रपति पदको मतदान लागि विहीबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो । मतदानका लागि नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा संघीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा कायम गरिएको थियो ।
नेपालको संविधानले राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आगामी सोमबार पद तथा गोपनीयताको शपथ गराउने छन् ।
‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ,’ संविधानको धारा ७१ मा भनिएको छ ।
प्रहरीले राष्ट्रपति पौडेललाई तत्कालका लागि आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाउने जनाएको छ । नेपाल प्रहरीका निमित्त केन्द्रीय प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक दीपेन्द्र जिसीले नयाँ राष्ट्रपतिलाई तत्कालका लागि आवश्यकता अनुसार सुरक्षा व्यवस्था मिलाइने बताए । ‘आवश्यकता अनुसार तत्कालै सुरक्षा व्यवस्था मिलाउँछौँ,’ उनले भने, ‘शपथ लिएपछि पाउनु पर्ने सबै कुराहरु पाइहाल्नुहुन्छ ।’
२०१५ सालदेखि कांग्रेसको राजनीतिमा लागेका पौडेल २०३४ सालमा पहिलो पटक पार्टीको केन्द्रीय सदस्य बनेका थिए । १२ औं महाधिवेशनबाट उपसभापति बनेका पौडेलले कार्यवाहक सभापतिको हैसियतमा २०७२ सालमा पार्टीको १३ औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न गरेका थिए ।
पौडेलले राजनीतिक जीवनमा २०१८ देखि २०६२ सम्म अनेक पटक गरी झण्डै १५ वर्ष जेल जीवन बिताएका छन् । उनी पहिलो पटक २०१८ को भरतपुर काण्डको विरोधमा उत्रिँदा गिरफ्तार भएर जेल परेका थिए ।
उनी कीर्तिपुर विश्वविद्यालयमा रमाइलो झोडा काण्डको विरोधमा कार्यक्रम गर्दा गिरफ्तार भएर २०२८ बाट २०३२ सम्म जेल परेका थिए ।
पौडेल २०४७ पछिका आमनिर्वाचनमा ६ पटक (वि.सं २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७९) तनहुँबाट प्रतिनिधि सभा तथा संविधान सभा सदस्य निर्वाचित भएका थिए । उनले स्थानीय विकासमन्त्री, कृषि तथा सहकारीमन्त्री, उपप्रधानमन्त्री तथा गृहमन्त्री, सञ्चारमन्त्री, जलस्रोत, शिक्षामन्त्री र उपप्रधान तथा शान्ति पुनःनिर्माणमन्त्री भएर सरकार सञ्चालनको अनुभव बटुलिसकेका छन् ।
प्रतिनिधि सभाका पूर्वसभामुखसमेत रहेका पौडेल मानव अधिकारसम्बन्धी विभिन्न पुरस्कारसहित जापान सरकारले प्रदान गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बाट सम्मानित भइसकेका छन् ।
उनका प्रजातान्त्रिक समाजवाद, आस्थाको यात्रा, कृषि क्रान्ति र समाजवाद, राजनीतिको मार्ग, नेपाली कांग्रेस रूपान्तरणको मार्गलगायत दर्जनबढी पुस्तक र विभिन्न विषयमा नेपालको राष्ट्रिय, साप्ताहिक तथा अनलाइन मिडियाहरूमा समसामयिक लेखहरु प्रकाशित छन् ।
तत्कालीन सभापति विश्वेश्वरप्रसाद कोइराला, पार्टीका सर्वमान्य नेता गणेशमान सिंह, पार्टीका संस्थापक नेता कृष्णप्रसाद भट्टराई र पछि सभापति गिरिजाप्रसाद कोइराला र सिंह तथा भट्टराईबीचको विवाद तथा मनमुटाव मिलाउन सधैं मध्यस्थता गरेकाले उनलाई कांगे्रसभित्र मध्यमार्गी नेताका रुपमा चिनिन्छ ।
सशस्त्र द्वन्द्वरत तत्कालीन नेकपा माओवादीलाई मूलप्रवाहको राजनीतिमा ल्याउने ऐतिहासिक वार्ता र सहमतिका काममा अग्रणी भूमिका पनि उनले खेलेका थिए । उनी १२ बुँदे सहमति र विस्तृत शान्ति सम्झौताका मस्यौदाकारमध्येमा पनि पर्दछन् ।
पौडेल ‘संविधानको रक्षा, प्रतिनिधि सभाको सुरक्षा’ भन्दै कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच गठबन्धन गरी चुनावमा जाने रणनीतिका सूत्रधार पनि मानिन्छन् । तर उनी यसअघि पार्टी र सरकार दुवैतर्फ सर्वोच्च नेतृत्वमा पुग्न भने उनी असफल रहँदै आएका थिए । २०६७ सालमा प्रधानमन्त्रीका लागि उनले १७ पटक प्रतिस्पर्धा गरे । तर, सो पदमा उनी पुग्न सफल भएनन् ।
त्यस्तै पार्टी सभापतिको चुनाव पनि उनले हारे । त्यसैले कतिपयले उनलाई असफल नेताका रुपमा लिने गरेका थिए । तर, राजनीतिक जीवनको उत्तरार्धमा उनी मुलुककै सर्वोच्च पदमा निर्वाचित भएका छन् ।
२००१ असोज २९ गते तनहुँको मिलुङ्, बाहुनपोखरा (हालको व्यास नगरपालिका–८) मा आमा ऋषिमाया र बुबा दुर्गाप्रसादको कोखबाट मध्यमवर्गीय किसान परिवारमा जन्म भएको थियो। सविता पौडेलसँग वैवाहिक बन्धनमा बाँधिएका पौडेलका चार छोरी र एक छोरा छन् ।
तनहुँको व्यास नपा–२ अमरापुरी बसोबास भएका नेता पौडेल काठमाडौँको बोहराटारमा बस्दै आएका छन् । उनले नेपाली साहित्यमा स्नातकोत्तर र संस्कृतमा शास्त्रीसम्मको अध्ययन गरेका छन् ।
वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।
प्रतिक्रिया