मधानी महोत्सवको उदघाटन उपराष्ट्रपति पुनले शुक्रबार गर्दै

इनेप्लिज २०७९ फागुन ४ गते २३:१८ मा प्रकाशित

रौतहट

रौतहटको मौलापुर नगरपालिका स्थित पुरातात्त्विक महादेव मंन्दिरमा शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले मधानी महायज्ञको उदघाटन गर्ने हुनुभएको छ । मधानी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको भन्दै नगर प्रमुख रिनाकुमारी साहले शुक्रबार बिहान ११ बजे उपराष्ट्रपति पुनले औपचारिक उदघाटन गर्ने कार्यक्रम रहेको जानकारी गराएकी छन् ।

विगत चार वर्षदेखि मौलापुर नगरपालिकाले मौलापुर ५ पतौरास्थित पुरातात्विक महादेव मन्दिरमा महाशिवरात्रीको अवसरमा मधानी महोत्सवको आयोजना गर्दै आएको छ । देशको १०० पर्यटकीय गन्तव्यमा सूचीकृत पतौरा पुरातात्विक महादेव मन्दिरलाई पर्यटकीय दृष्टिकोणले प्रबद्र्धन गर्ने उद्देश्यले नगरपालिकाले मधानी महायज्ञको आयोजना गर्दै आएको छ ।

महायज्ञको अवसरमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भुमि पुजन, अस्टयाम महायज्ञका साथै सांस्कृतिक कार्यक्रम तथा अन्तर्राष्ट्रियस्तरको कुस्ती खेलको आयोजना हुने नगर प्रमुख साहको भनाइ छ ।

महोत्सवमा हरेक वर्ष नेपाल र भारतका विशिष्ट कलाकारलाई बोलाएर सांस्कृतिक कार्यक्रम हुने गरेको छ । यस वर्ष चलचित्रकर्मी भुवन केसीसहित रास्ट्रीय स्तरका चर्चित कलाकारहरुका साथै भारतीय चर्चित भोजपुरी नायक पवन सिंह, नायिका काजल राघवानी, भोजपुरी गायिका ईन्दु सोनाली एवं अन्य चर्चित कलाकारहरुको प्रस्तुति रहने नगर प्रमुख साहको दाबी छ ।

हरेक वर्ष मधानी महोत्सवमा लाखौँ दर्शक आउने गरेका यस वर्ष पनि तिन दिनमा पाँच लाखभन्दा बढी दर्शक मौलापुर आउने विश्वास नगरपालिकाले लिएको छ ।

प्रतिक्रिया