अमेरिकाबाट आएर कामरनाथु बने वृन्दावनका भण्डारी

इनेप्लिज २०७९ फागुन ३ गते १२:१७ मा प्रकाशित

रौतहट

रौतहट र बारामा मात्र मनाइने मधानी यज्ञ अहिले कामरनाथुहरुले ठाउँठाउँमा गरिरहेका छन् । भाकल हुनेले शिवको विशेष लोकअनुसष्ठानको रुपमा रहेको मधानी यज्ञ कामरनाथुहरुबाट गराउने गर्दछन् । महाशिवरात्रीको दिन समापन हुने मधानी मान्न अमेरिकाबाट आइपुगेका छन् वृन्दावनका मोहन भण्डारी । वृन्दावन नगरपालिका २ धनगढीका भण्डारी आफैँ जमदार हुन् । बोलबम कामरनाथुको ठूलो समूह जसलाई गफला भनिन्छ । गफलाको सर्वोच्च पद नै जमदार हो ।

आफ्नो गफलाले कहाँ र कति ठाउँमा कहिले कसको नेतृत्वमा मधानी गर्दछ भन्ने निर्धारण जमदारले नै गर्ने गर्दछन् । छोरा अमेरिकामा रहेकाले अमेरिका र काठमाडौँमा नै मुख्य गरी समय बिताउने गरेका भण्डारी धर्मकर्ममा औधी रमाउँछन् । काठमाडौँमा नै भण्डारीले भजन कीर्तन गर्ने समूह बनाइसकेका छन् ।

अमेरिकाबाट मधानी गराउन र महाशिवरात्रीमा शिवको विशेष पूजा गर्न भण्डारी आएपछि रौतहटमा अहिले चर्चाको विषय भएको छ । गफलाका खजान्ती हरिवंश राउत, कचहरिया हरिनारायण रौनियार, मनसिप दीनदयाल राउत, विचारी जयराम राउत, सिपाही लालबहादुर राउत तथा मुखिया सिकिन्दर राउतसँगै जमदार भण्डारी शिवको चाकरीमा निस्केका छन् । स्थानीय बैजु पटेलले भण्डारीको आस्था देखेर वृन्दावनका स्थानीयवासी अचम्भित भएको बताएका छन् ।

विश्रामपुरमा भइरहेको मधानी सकिएर शिवनगरतर्फ गफला प्रस्थान गर्ने पटेलले जानकारी गराएका छन् ।

प्रतिक्रिया