राजनैतिक स्थिरताको अभावमा समृद्धि असम्भव ः आजपा अध्यक्ष प्रभु साह

इनेप्लिज २०७९ माघ २१ गते १८:५० मा प्रकाशित

रौतहट

आम जनता पार्टीका राष्ट्रिय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले संविधानको वर्तमान व्यवस्थाले कुनै पनि दलको बहुमत नआउने बताएका छन् । वर्तमान जब कुनै दलको बहुमत आउँदैन तब देशमा स्थिरता नआउने तथा स्थिरताको अभावमा विकास तथा समृद्धि नआउने नेता साहले बताएका छन् ।

आम जनता पार्टी (आजपा) को रौतहट जिल्लास्तरीय भेलालाई गरुडामा सम्बोधन गर्दै पार्टी अध्यक्ष साहले जनताले जहिले पनि क्रान्तिमार्फत परिवर्तन ल्याएको बताएका छन् । परिवर्तन ल्याउने जनताको कहिल्यै हार नभएको बताउँदै आम जनताले आन्दोलन गरी लोकतन्त्र ल्याएकोमा अहिले लुटतन्त्रमा परिणत भएको पनि बताएका छन् ।

पार्टीका जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वतन्त्र साँसद समेत रहेका नेता साहले वर्तमान अवस्थामा किसानले किसान, मजदुर तथा आम नागरिकको अगाडि निकै समस्या भएको र केही मानिसले लुटतन्त्र मच्चाएको आरोप लगाएका छन् ।

देशमा आम जनताको पक्षमा काम गर्ने दल तथा नेताको अभाव रहेको अवस्थामा आम जनताको समस्यालाई सम्बोधन गर्न दलको गठन गरेको बताएका छन् ।
विगतमा पनि जनताले साथ दिएको बताउँदै नेता साहले अब जनताको दल निर्माण भइरहेकोले आम जनताले नै अगाडि बढेर साथ दिने स्पष्ट पारेका छन् । आम जनताको पार्टी निर्माण अहिलेको आवश्यकता रहेकोले सबै नागरिक गोलबन्द हुनुपर्ने विचार साहले राखेका छन् ।

अहिलेको संवैधानिक व्यवस्थाले गर्दा कुनै पनि दलको बहुमत नआउने र देशमा सधैँ अस्थिरता रहने बताउँदै नेता साहले देशमा दलको शासन बन्न पुगेको र आम जनताको शासन आउन नसकेको पनि आरोप लगाएका छन् ।

जिल्ला भेलालाई आजपाका केन्द्रीय नेताहरु उपेन्द्र साह, त्रिभुवन साह अमर, कुन्दन कुशवाहा लगायतले सम्बोधन गर्दै आम जनता पार्टीको आवश्यकता र औचित्यबारे प्रकाश पारेका छन् ।

कार्यक्रममा कलाकार विजय यादव निर्बिजको नेतृत्वमा कलाकारहरुको विभिन्न प्रस्तुति पनि गरिएको छ । कलाकारहरुले पनि राजनैतिक अवस्थालाई नै देखाएका छन् ।

जिल्ला भेलामा आजपा नेता त्रिभुवन साहले आम किसान मोर्चा, विद्यार्थी मोर्चा, मजदुर मोर्चा, शिक्षक मोर्चा, महिला तथा मुस्लिम मोर्चाको जिल्ला समितिको पनि घोषणा गरेका छन् ।

आजपाको आम महिला मोर्चा हिरा खपांगीको अध्यक्षतामा घोषणा गरिएको छ । यसै गरी बालाशंकर कुशवाहाको अध्यक्षतामा आम आइटी आर्मी, ठागा दासको अध्यक्षतामा आम दलित मोर्चा, रामकृत साहको अध्यक्षतामा आम मजदुर मोर्चा, संजय साहको अध्यक्षतामा आम शिक्षक मोर्चा, शोभा पाण्डेको अध्यक्षतामा आम विद्यार्थी मोर्चा, भगल यादवको अध्यक्षतामा आम किसान मोर्चा तथा शेख कलिमुल्लाहको अध्यक्षतामा आम मुस्लिम मोर्चाको जिल्ला समिति गठन गरिएको घोषणा भएको छ ।

यसै गरी आम जनता पार्टीको रौतहट जिल्ला समितिको घोषणा गरिएको छ । जिल्ला समितिको अध्यक्षमा धर्मेन्द्र पटेल, उपाध्यक्षमा सुभद्रा देवी र वीरेन्द्र यादव, सचिवमा पलट चौधरी, सहसचिवमा अनिल झा, अशोक साह र शेख जमालुदीन रहेको बताइएको छ ।

प्रतिक्रिया