देवकोटाको अन्त्येष्टि

इनेप्लिज २०७२ साउन २५ गते १३:५४ मा प्रकाशित

Rss_Images_1439199987869_AR-KTM-Rajeshwor Devkota sadrajanjli-5काठमाडौँ, २५ साउन । वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार स्व राजेश्वर देवकोटाको पशुपति आर्यघाटमा आज अन्त्येष्टि गरिएको छ ।

उहाँको पार्थिव शरीरमा छोरा ईश्वरचन्द्रले दागवत्ती दिनुभयो । देवकोटालाई श्रद्धाञ्जलि दिन आर्यघाटमा प्रधानमन्त्री सुशील कोइराला, नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, कानुनमन्त्री नरहरि आचार्य, एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत नेता पुग्नुभएको थियो ।

यसअघि देवकोटालाई श्रद्धाञ्जलिका लागि नेपाल प्रज्ञा प्रतिष्ठानको परिसरमा राखिएको थियो । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलगायत विभिन्न दलका नेता तथा साहित्यकारले देवकोटाप्रति श्रद्धाञ्जलि दिनुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणाले देवकोटाको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाइदिनुभएको थियो ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देवकोटाप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँको निधनबाट मुलुकले राष्ट्रवादी नेता तथा परिपक्क र अनुभवी राजनीतिज्ञ गुमाएको बताउनुभयो ।

एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले नेपाली राजनीतिमा त्याग र निष्ठाको राजनीतिलाई महत्व दिने आदर्श व्यक्तित्वका रुपमा देवकोटालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजाल, वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा, नेकपा–माओवादीका उपाध्यक्ष सिपी गजुरेल, पूर्वमन्त्री तथा चिकित्सक उपेन्द्र देवकोटा, राजनीतिज्ञ मोदनाथ प्रश्रित, डा प्रकाशचन्द्र लोहनी, काँग्रेसका नेता अर्जननरसिंह केसी, राप्रपाका महामन्त्री दीपक बोहरा, राप्रपा नेपालका सहायक महामन्त्री राजाराम श्रेष्ठ तथा प्रज्ञाप्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल नाट्य तथा सङगीत प्रज्ञाप्रतिष्ठानका कुलपति सरुभक्त, प्राज्ञ उन्नति बोहरालगायतले देवकोटाप्रति श्रद्धाञ्जलि दिनुभएको थियो ।

वरिष्ठ राजनीतिज्ञ तथा साहित्यकार राजेश्वर देवकोटाको बाँसबारीस्थित न्युरो अस्पतालमा आज बिहान निधन भएको हो । उहाँका एक छोरा र दुई छोरी छन् ।

देवकोटाको जन्म विसं १९८६ मा गोरखाको पण्डितगाउँमा भएको थियो । विसं २००७ को जयतु संस्कृतम् आन्दोलनका एक अगुवा देवकोटा राष्ट्रिय पञ्चायतको अध्यक्ष र पूर्वमन्त्री हुनुभएको थियो । उहाँ राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक, राष्ट्रवादी अभियानका संयोजक हुनुहुन्थ्यो ।

प्रतिक्रिया