रवि र लिङ्देनलाई पहिलो गासमै ढुङ्गा !

अधिवक्ता डा• होम थापा (मगर) २०७९ माघ ५ गते १:२४ मा प्रकाशित

-अधिवक्ता डा• होम थापा (मगर)

रास्वपा र लिङदेनको नेतृत्व पश्चातको राप्रपा चुनाब अघि जनताको वाक्क, दिक्क, अस्थिर र बलियो बैकल्पिक दलहरुको विकल्पको खोजीमा रहेको बिरक्त र ब्यग्र मन मुटु र मस्तिष्कमा आउँन , रहन र बस्न थालिसकेका थिए र यो क्रम आगामी निर्बाचन सम्म बढ्दोरुपमा बढोत्तरी हुने थियो। सशक्त प्रतिपक्षको भूमिकामा रहने जानादेश पाएपनि सरकारमा सामेल भएर केहि ब्यथितिहरूलाई सुधार्न सकिने लगायत कैयौ कुराहरुलाई ध्यानमा राखेर “लबिङ्ग” गरिने एकथरी मतलाइ मानेर सरकारमा सहभागी भएको एकछिनलाइ माने पनि केहि मन्त्रिको सिफारिस र नियुक्ति पटक्कै जनभावनानुकुल भएन। रास्वपाका नेतृत्व रबि सम्भाबना बोकेका नेपाल आमाका एक सपुत होलान तर उनि केहि अति महत्वाकांक्षा लगायत केहि नकारात्मकपनहरुले पछ्याएका व्यक्ति पनि हुन् भन्नमा कुनै हिच्किचाहट छैन। नेपालमा रहेर राम्रो काम गरेको देखिएपनि विदेशमा बस्दा उनको प्रवृति र चित्तवृति के कस्तो थियो भन्ने कुरा उनलाई देख्ने , जान्ने र भोग्नेले आजपनि मन मिल्ने मान्छेहरुसंग व्यक्त गर्न ब्यग्र हुन्छन तर ति व्यथित कुराहरु व्यतित भए। खैर श्रम मन्त्रिमा कस्तो मान्छे पठाएको ? हिजो जे जे कुराहरूको रविले खरो र चर्को बिरोध गर्थे,सोही अनुशरण हुने गरि म्यानपावर ब्यबसायसंग सम्बन्धित ब्यक्तिलाई सोही ब्यबसायसंग सम्बन्धित मन्त्रालय जिम्मा दिंदा हिजो रविले देखाएको आदर्शमा ठूलो प्रश्न चिन्ह उठेको छ।हिजो भर्खरसम्म मन्त्रालयमा राज्य मन्त्री किन चाहियो ? भन्ने रविले आज आफ्नै पार्टीले जिम्मेवारी पाएको मन्त्रालयमा राज्य मन्त्री राख्दा बोलाई र गराईमा “कुटीको बाटो काँशीको यात्रा” भने झैं देखिएको छ।

अर्को राप्रापाले लिङ्ग्देनको नेतृत्व पाए पछि यो दल पनि दुबो झैँ फैलन लागेको थियो। तर यो सरकारमा सामेल भएपछी त्यो भन्दा १ कदम अगाडी बढेर भन्दा यसको फैलने प्रकृयामा खडेरी लाग्ला कि भन्ने संका र सम्भावना देखिएको छ। वैचारिक रूपमा संबैधानिक राजतन्त्र,हिन्दू सनातन धर्म र एकात्मक राज्य प्रणालीको वकालत गर्दै,गणतन्त्र, संघियता र धर्मनिरपेक्षताको चर्को बिरोध गर्ने राप्रपाले वैचारिक तर्क तथा सैद्धान्तिक औचित्य पुष्ट्याई बिना सरकारमा गएको छ।त्यसका अतिरिक्त शहरी बिकास मन्त्रालय जस्तो ठेकेदारी मन्त्रालय अख्तियारमा मुद्दा विचाराधिन भएको ठेकेदारलाई सुम्पेर लिङदेनले आफ्नै कथनको औचित्य माथि जनताले महसुस गर्ने गरि प्रश्न चिन्ह उठाएका छन्।

कसैलाई स्वीकार्य हुनु नहुनु बेग्लै कुरा हो।तर आजको नेपालको राजनीतिको केन्द्र “कम्युनिष्ट विचार ” नै हो। बिगत ३ दशक भन्दा बढी लामो समय कम्युनिष्टहरू सहित काँग्रेस समेतले प्रजातन्त्र लोकतन्त्रको नाममा देशमा मचाएको लुटतन्त्रबाट जनता वाक्क दिक्क बनेर ठूलो आशाले रवि र लिङ्देन तर्फ उन्मुख हुदै विश्वासको मत दिएका थिए। लुटतन्त्रले भरपुर नेपाली राजनीतिलाई चुनौती दिन जनमत प्रयाप्त हुदाहुदै पनि सत्तासिन हुन जनमत प्रयाप्त थिएन र होईन पनि।भर्खरै खुलेको विचार, सिद्धान्त, नीति,कार्यक्रम, घोषणा-पत्र बिनाको रविको पार्टी र मुर्झाई सकेको राप्रपालाई प्राप्त मत नेपाली राजनीतिको भविष्य फेर्न भने प्रयाप्त थियो।प्राप्त जनमतलाई विश्वास र आस्थामा परिणत गर्दै पार्टीलाई संस्थागत र सशक्त बनाउदै,कम्युनिष्ट विचारलाई कसरी वैचारिक एवं रणनैतिक रूपमा परास्त गर्ने भन्ने नीति तथा रणनीति बनाएर अगाडी बढ्नु पर्नेमा कम्युनिष्टहरूकै राजनैतिक “कोर्ट” खोलमा परेड खेल्न पुगे।भौतिक प्रलोभनले सांस्कृतिक एवं ब्यबहारिक रूपमा चुके पनि वैचारिक एवं रणनीतिक रूपमा नेपाली कम्युनिष्टहरू रवि र लिङ्देन भन्दा धेरै अगाडी छन्। त्यही उपर एमालेको राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सञ्जाल र संयन्त्र ईन्द्रजाल भन्दा कम रहस्यमयी छैन।पढेलेखेका तथा वैचारिक एवं ब्यबहारिक राजनीतिका राम्रा जानकार एवं विज्ञहरू अरू पार्टीहरू भन्दा एमालेमा धेरै छन् भन्दा फरक नपर्ला।सत्ताको उपयोग गर्दै सामान्य प्रशासनिक एवं बिकास निर्माणका कार्यहरू गरि जनविश्वास जित्ने आङ्कलन गरेर सत्तामा गएका रवि र लिङ्देनका निम्ति एमालेको विशाल संगठनात्मक वौद्धिक संजाल र संयन्त्र झिङ्गालाई चास्नि भए झैं हुनसक्छ।

बर्तमानको निर्वाचनमा देखिएको शहरी मध्यम वर्गको आक्रोश मार्क्सवादी भाषामा भन्नु पर्दा प्रतिक्रान्तिको उभार या ज्वारभाटा हो।प्रतिक्रान्ति निश्चित हुन्छ।प्रतिक्रान्तिलाई रोक्न सकिदैन।तर पछि ढकेल्न सकिन्छ।यो ध्रुव सत्य कुरा नै हो। कम्युनिष्टहरूको रवि र लिङ्देनलाई सत्तामा लगेर महत्व दिदै महत्वपूर्ण मन्त्रालय दिने प्रमुख रणनीति यही हुनसक्छ। यदि कम्युनिष्टहरू खासगरिकन एमाले योजनावद्ध तवरले यही रणनीतिका साथ जाने र रवि लिङ्देनले रणनीति बुझ्दै नबुझी राजनैतिक स्टन्ट तथा सस्तो लोकपृयतामा रमाउदै जाने हो भने अर्को निर्वाचन आउदा नआउदै यि दुबै र दुबै पार्टीको औचित्य अस्ताउन थाल्ने छ।चिन्ता रवि र लिङ्देनको या रास्वपा र राप्रपाको पटक्कै होईन। चिन्ता लोकतन्त्र/प्रजातन्त्रको नाममा लुटतन्त्रले निरन्तरता पाउला भन्ने मात्र हो।अर्को चिन्ता जनताको सकारात्मक तथा श्रृजनशिल परिवर्तन र सुशासनको सपना सपनै रहला भन्ने पनि हो।

राजनैतिक रणनीतिक तवरले चुक्दै गरेता पनि अझै समय पूर्ण सकिईसकेको छैन।तसर्थ राजनैतिक स्टन्ट र सस्तो लोकपृयतामा मस्त र “फस्ट” नभएर वैचारिक रणनीतिक एवं सैद्धान्तिक विश्लेषणका साथ अगाडी बढ्दै हिजो आफैले बोलेका कुराहरुमा रवि र लिङ्देन नचुक्दा नै उनिहरूको भलो होला।अन्यथा रवि र लिङ्देनकालागि “पहिलो गासमै ढुङ्गा” भन्ने उखान चरितार्थ हुनेछ।

प्रतिक्रिया