आज दशैँको अन्तिम दिन अर्थात कोजाग्रत पूर्णिमा।आजै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि मनोनयन दर्ता गर्ने दिन।को कोले उम्मेदवारी दर्ता गर्छन् भन्ने चाँसोका साथ सोमदत्त टेलिभिजन हेर्नमा व्यस्त थिए।कुन दलबाट कति युवाले टिकट पाए त्यो पनि उनको खुबै चाँसोको विषय थियो।
झमक्क साँझ पर्न आँटेको थियो टुप्लुक्क भान्जा आइपुगे।
लामो समयको विदेश बसाईँ पछि आएका भान्जालाई हार्दिकताका साथ स्वागत गरे।टीका जमरा लगाइ आशिष दिए।
“कतिको छुट्टी मिलाएर आउनुभएको छ ? अब कहीले फर्कनुहुन्छ विदेश तिर?” – भान्जालाई प्रश्न गरे सोमदत्तले।
“विदेश धेरै बसियो।अब कति गैरहनु अर्कोको देशमा ? परिवारसँग पनि बस्नु पर्यो नि त्यसैले यतै केही व्यापार विजनेस गर्ने कि भन्ने सोचाइ छ ।तर गर्ने पो के होला ? अन्यौलमा छु मामा।केही सल्लाह दिनु त ।“– सुझावको अपेक्षा सहित भान्जाले जवाफ फर्काए।
एकैछिन गम खाएर मामाले भने – “देशमै केही गरि बस्छु भन्नु त मनासिवै हो।तर देशको वातावरण यस्तै छ।सोझो सिधा पाराले यहाँ टिक्न गाह्रो छ।तै पनि व्यापार नै गर्ने विचार छ भने काठमाण्डौँमा गर्नुस्।“
“ठिक छ काठमाण्डौँमा गरौँला तर के व्यापार गर्ने त ?” – भान्जा प्रष्ट हुन खोजे।
“संसद भवनको छेउँछाउँ, वानेश्वर चोक नजिकै चौरासी पूजाका सर्जाम बेच्ने पसल राख्ने।त्यस सँगसँगै हरिया बाँसका घारा पनि राख्यो भने पाँच वर्षमा मालामाल हुने ठहर छ मेरो।बाँकी भान्जाको विचार ?” – सोमदत्तले मनमा लागेको विचार प्रकट गरे।
–मित्र उराठी गौतम
प्रतिक्रिया