लघुकथा
मनोज शिक्षित र आर्थिक रूपले सम्पन्न छ । खासै केही कमी नभएकोले ऊ पैसा कमाउनतिर सोच्दैन । समाजसेवामा आफूलाई लगाउन चाहन्छ । दाम त होइन नाम कमाउने चाहना छ उसको ।
ऊ मानव अधिकारसम्बद्ध संस्थामा लाग्छ । कमाइ नखोज्ने र अह्राए खटाएको सबै काम गर्ने तथा पूरा समय दिने भएकोले ऊ अगाडि बढ्दै जान्छ । खटनेको जहाँ पनि मान हुन्छ । छिट्टै प्रगति गर्छ ।
प्रगतिमा संस्थाको पद र प्रशिक्षण लिने–दिने हुन्छ । देश–विदेशमा प्रशिक्षित हुँदै ऊ जिल्लाको माथिल्लो तहमा पनि पुग्छ ।
अब उसको पहिचान नै अधिकारवादी व्यक्तिको रुपमा भएको छ । अधिकारवादी भनेपछि सबैले मनोजलाई नै सम्झन्छन् ।
एक दिन उसको घरमा अधिकारवादीहरुको बैठक हुन्छ । बैठकमा ऊ कार्यरत संस्थाका पदाधिकारी तथा प्रशिक्षक र उच्च पदस्थ कर्मचारीहरु हुन्छन् । अन्य संस्थाका प्रमुखहरु पनि हुन्छन् ।
बैठकमा चिया लिएर उसकी श्रीमती आउँछिन् । चिया दिइसकेर एक छेउमा उभिन्छिन् । सबै उतै केन्द्रित हुन्छन् । उनी सोध्छिन् – के यो मानव अधिकार अन्तर्गत नारीको अधिकार पर्दैन ? कसैकी श्रीमती हुनु मानव नहुनु हो ?
अनुहार र बडी लंग्वेजले अझै धेरै उत्तर खोजिरहेको छ ।
-रेणु गुप्ता
प्रतिक्रिया