गाउँको प्रजातन्त्र

रेणु गुप्ता २०७९ असोज ३१ गते २१:२७ मा प्रकाशित

लघुकथा

रामप्रसाद गाउँको सबैभन्दा धनी मानिस थिए । यसैले उनी सबैभन्दा ठूला पनि थिए । गाउँघरमा उनैको हैकम चल्नु स्वभाविक थियो र उनको आदेश सबैले मान्नु पर्दथ्यो । उसको आदेश नमान्नुको अर्थ कुनै लाञ्छना लाग्नु, कुनै मुद्दामा फसाइनु वा कमसेकम कुनै प्रहरी चौकीमा केही दुःख पाउनु, वा गाउँकै परिवेशमा कसैबाट गोदाइ खानु मानिन्थ्यो । गाउँघरका सामान्य मानिस उनका यस्ता व्यवहारबाट परिचित थिए ।

देशमा प्रजातन्त्र भित्रियो । सुन्ने जति खुशी भए, बुझुने जति रमाए । अबदेखि यस्ता अत्याचार सहन गर्न पर्दैन भनी खुशी हुन थाले । बदलिंदो परिवेशमा जनताको अवस्था सुध्रिने कुरामा विश्वस्त बने । जनतालाई दुःख दिने, सताउनेहरूलाई सरकारले तह लगाउने कुरामा आशावादी बने । जनताको कुरा सुन्ने सरकारको आशाको दीपक हरेक अँध्यारो मनमा बल्यो ।

रामप्रसाद पनि प्रजातन्त्रमा नुहाए ।‘सरकार मेरो लागि एउटा खेलौनाबाहेक केही पनि होइन’ भन्दै हिडेको रामप्रसाद फेरि पनि ठूलै मान्छे बने । गाउँघरको विकासको निम्ति आएको रकम जति मनपरि तरिकाले खर्च गर्न थाला । सुख, शान्तिले बस्न पाउने, कसैको हप्कीदप्की, अन्याय अत्याचार सहन नपर्ने जनताको सपना सपना नै रह्यो ।

गाउँलेहरूले बल्ल बुझे – पृथ्वी गोलो छ ।

रेणु गुप्ता
रौतहट

प्रतिक्रिया