रुसी नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन

इनेप्लिज २०७९ भदौ १४ गते २२:१० मा प्रकाशित

रुसी नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन

सन् १९८५ देखि १९९१ सम्म पूर्व सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभको ९१ वर्षको उमेरमा निधन भएको छ । गोर्बाचोभ गम्भीर र दीर्घ रोग लागे पछि उनको मृत्यु भएको रुसी सरकारी समाचार संस्थाहरुले जनाएका छन् ।

“मिखाइल सर्गेभिच मिखाइल गोर्बाचोभको आज साँझ गम्भीर र दीर्घ रोग पछि मृत्यु भयो,” भनि केन्द्रीय क्लिनिकल अस्पतालले मंगलबार जनाएको छ।

सोभियत संघ विघटन हुनु अघि गोर्बाचोभ अन्तिम नेता थिए। उनले १९८५ देखि १९९१ सम्म सोभियत संघको कम्युनिष्ट पार्टी(दल)को महासचिवको रूपमा शासन गरे र आफ्नो कार्यकालको अन्तिम महिनाहरूमा देशको एकमात्र राष्ट्रपति थिए।

मिखाइल गोर्बाचोभ एक रूसी र पूर्व सोभियती राजनीतिज्ञ हुन्। उनी सोभियत सङ्घको आठौँ र अन्तिम नेता थिए र १९८५ देखि १९९१ सम्म सोभियत सङ्घको कम्युनिस्ट पार्टी (दल)को महासचिव थिए ।

वैचारिक रुपमा उनी सुरुमा मार्क्सवाद-लेनिनवाद विचारधारासंग जोडिएका थिए, यद्यपि १९९० को दशकको प्रारम्भमा उनी सामाजिक प्रजातन्त्र तर्फ लागे ।

१९८९-९० मा पूर्वी गुटका कयौं साम्यवादी (कम्युनिष्ट )राष्ट्रहरू माक्सवादी-लेनिनवादी शासन त्यागेको समयमा गोर्बचोभले सैन्य हस्तक्षेप गर्न अस्विकार गरे।

कट्टरपन्थीहरूले १९९१ मा गोर्बाचोभ विरुद्ध असफल अगस्त ‘कु’ अर्थात् सत्ता उल्टाउने प्रयास गरे । यसपछि गोर्बाचोभको इच्छा विपरित सोभियत संघ विघटन भयो र उनले पदबाट राजीनामा दिए।

राजीनामा पछि उनले आफ्नो गोर्बाचोभ प्रतिष्ठान सुरु गरे। उनी रूसी राष्ट्रपति बोरिस येल्तसिन र भ्लादिमिर पुटिनका कट्टर आलोचक बने र रुसको सामाजिक-लोकतान्त्रिक आन्दोलनको अभियान सुरु गरे।

श्रोत :एबिसीन्यूज/विकि

प्रतिक्रिया