विराटनगर,१८ जेठ । प्रदेश नं १ सरकारद्वारा विराटनगर महानगरपालिकाको दक्षिण क्षेत्रकानागरिकहरुलाई निःशुल्क एवं सहज रुपमा स्वास्थ्य उपचार उपलब्ध गराउन आजदेखि स्वास्थ्यसेवा केन्द्र सञ्चालनमा आएको छ।
विराटनगर–१० स्थित पाँच विगाहा क्षेत्रफलमा रहेको साविकको कोशी अस्पताल, कोभिड–१९ उपचार केन्द्रमा सञ्चालित केन्द्रमा बहिरङ्ग सेवा, औषधि, प्रयोगशाला,एक्सरे लगायतका सम्पूर्ण सुविधा नागरिकले निःशुल्क प्राप्त गर्ने छन् ।प्रदेश नं १ स्वास्थ्य मन्त्री जयराम यादवले अस्पतालको उद्घाटन गर्दै प्रदेशका
नागरिकहरुलाई सवल र सहज रुपमा स्वास्थ्य सेवामा पहुँच पुर्याउन केन्द्र सञ्चालनमा ल्याइएको बताउनु भयो ।
उहाँले नागरिकको स्वास्थ्य सुरक्षाप्रति सरकार संवेदशील रहेको छ भन्दै कोभिडले स्वास्थ्य क्षेत्रमा प्रविधि र उपकरणको ठूलो विकास गरेकोले यसको सहि र उचित प्रयोग गर्नुपर्ने धारणाराख्नु भयो ।मन्त्री यादवले केन्द्रमा उपलब्ध जनशक्तिले नागरिकको सेवामा दत्तचित्त भएर कार्य गर्न निर्देशन दिदै अस्पतालजस्तो बातावारण बनाउन सबैले आफ्नो क्षेत्रवाट जिम्मेवार भएर कार्य गर्नुपर्नेमा जोड दिनु भयो । मन्त्रालयका सचिव अनोज भट्टचानले केन्दमा उपलब्ध जनशक्तिको उचित व्यवस्थापन गरिने बताउनु भयो ।
कोशी अस्पतालका मेडिकल सुपरिडेण्टेन्ट यज्ञराज खरेलले केन्द्रमा विशिष्ट सेवा सहितको बहिरङ्ग सेवा सञ्चालन गर्न आवश्यक चिकित्सक सहितको जनशक्ति उपलव्ध गराउने प्रतिवद्धता व्यक्त्त गर्नु भयो । केन्द्रका निमित्त संयोजक अनुपम राजवंशीले पाँच चिकित्स, १८ स्टाफ नर्स लगायत ५४ जना कर्मचारी कार्यरत रहेको जानकारी दिनु भयो ।
प्रतिक्रिया