जेठ, ७, २०७८, काठमाडौं ।
निबन्ध, कथा, गीत, कविता, समालोचनालगायत शिक्षाका विभिन्न विषयमा कलम चलाइरहने सर्जक डा. खगराज बरालको “मालामा नउलिएको फूलहरू” पुस्तकको जेठ ७ गते नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ सभा कक्षमा संयुक्त रूपमा विमोचन कार्य सम्पन्न भयो । शिखा बुक्स प्रा.लि.ले बजारमा ल्याएको यो पुस्तक आत्मपरक निबन्ध हो । शिखा बुक्स प्रा.लि. का पुष्पराज पौडेलको अध्यक्षतामा सम्पन्न उक्त पुस्तको विमोचन प्रा.डा. जयराज आचार्य, लेखक तथा पूर्व सांसद डा. शोभाखर पराजुली, पूर्व सचिव किशोर थापा, नन्दी माध्यमिक विद्यालयकी प्रधानाध्यापक गीता काफ्ले, शिखा बुक्सका पुष्पराज पौडेल र लेखक डा. खगराज बरालले संयुक्त रूपमा गर्नुभएको थियो ।
विमोचन कार्यक्रममा पुस्तकका सम्बन्धमा आफ्नो धारणा राख्ने क्रममा डा.शोभाखर पराजुलीले यो पुस्तक एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन नवीन सिकाइ थपिदै जान्छ भन्नुभयो । डा. पराजुलीले समाजमा सही र निस्वार्थी पात्रहरू अझै रहेका छन्, नयाँ पुस्तालाई सही तथा निवास्र्थी बाटामा लैजानका लागि यो पुस्तकका विषयवस्तुलाई विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्नुपर्छ भन्नुभयो ।
विमोचन कार्यकममा शुभकामना मन्तव्य राख्ने क्रममा पूर्व सचिव किशोर थापाले सरल भाषामा जीवनका भोगाइलाई डा.बरालले यसपूर्वका पुस्तकमा व्यक्त गरेको सन्दर्भ उल्लेख गर्दै “मालामा नउलिएको फूलहरू” थप अनुभव र भोगाइ पाइने र यस्ता अनुभव तथा भोगाइबाट धेरै सिकाइ गर्न सकिने बताउनुभयो । सिकाइबाट व्यवहारमा परिवर्तन तथा रूपान्तर हुने भन्दै पूर्व सचिव थापाले सिद्धान्त तथा दर्शनको कुरा नगरिकन मसिना कुराहरूबाट पनि व्यवहार परिवर्तन गर्न सकिने कुरा बरालका पूर्व प्रकाशित पुस्तकले सङ्केत गरेको भन्नुभयो।
विमोचन कार्यक्रममा नन्दी माध्यमिक विद्यालय, नक्सालकी प्रधानाध्यापक गीता काफ्लेले “मालामा नउलिएको फूलहरू” पुस्तक वैचारिक तथा व्यावहारिक रूप अलमलिएका र दोधारमा परेका मानिसका लागि मार्गदर्शन गर्न सक्षम रहेको बताउनुभयो।
विमोचित पुस्तकका सम्बन्धमा आफ्नो विचार राख्दै प्राध्यापक डा. जयराज आचार्यले सरल भाषामा गहन अभिव्यक्ति व्यक्त गर्न पुस्तक सक्षम भएको बताउनुभयो । शाकुन्तल महाकाव्यभन्दा मुनामदन जनजिब्रामा रहनुको रहस्य सरल र बोधगम्य हुनु हो भन्दै प्रा.डा. आचार्यले डा. बरालका सिर्जना पनि सरल र बोधगम्य रहेको बताउनुभयो । “मालामा नउलिएको फूलहरू” पुस्तकका निबन्ध आत्मपरक रहेका, यी निबन्धहरू विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विद्यार्थीले पढ्नु सान्दर्भिक देखिएका भन्दै यस पुस्तकका निबन्धहरू हरेक व्यक्तिका लागि पठनीय र लाभप्रद भएको उल्लेख गर्नुभयो।
चिरञ्जीवी बरालद्वारा सञ्चालित विमोचन कार्यक्रममा लेखक तथा समीक्षकहरूसँग अन्तरसंवाद कार्यक्रम पनि सञ्चालन गरिएको थियो। लेखकले गैह्रआख्यान अनुभूति भन्न रुचाएको यस विमोचित पुस्कमा विभिन्न विषय र क्षेत्रका बिस शीर्षकमा लेखकका अनुभूतिजन्य सिर्जना रहेका छन्।कुल ३२४ पृष्ठको यो पुस्तकको मूल्य ४७५ रुपैयाँ रहेको छ।शिखा बुक्स प्रा.लि.ले यो पुस्तक २०७८ सालको फागुनमा बजारमा ल्याएको हो।
प्रतिक्रिया