रौतहट,रौतहट सदरमुकाम गौरका स्थानीयबासीले बुधवार साँझ दीप प्रज्ज्वलन गरी खुसियाली मनाएका छन्।गौरबासीले शान्तिपूर्ण मतदानबाट नगरपालिकामा नयाँ नेतृत्व आएको खुसियालीमा दीप प्रज्ज्वलन गरी खुसियाली मनाएका हुन्।
सदरमुकाम गौरको मुख्य बजारका अधिकांश घरमा स्थानीयबासीले स्वतःस्फुर्त रुपमा आफ्नो घरअगाडि दीपावली गरेका छन्।अत्यन्त शान्तिपूर्ण मतदान तथा मतगणना सम्पन्न भएपछि गौरबासीले खुसियाली मनाउँदै मेयर शम्भु साह कानु तथा उपमेयर शैलकुमारीलाई बधाई दिएका हुन्।
गौरका विक्रान्त विक्रम नेपालले शान्तिपूर्ण मतदान र मतगणना सम्पन्न गर्न तथा गराउन भूमिका निर्वाह गर्ने सम्पूर्ण मतदाता,उम्मेदवार तथा कर्मचारीको सम्मान र सबै बिजेतामा बधाई अर्पण गर्न गौरबासीले दीप प्रज्ज्वलन गरेको बताएका छन् ।
हिन्दू संस्कृतिमा कुनै धेरै महत्वपूर्ण कार्यको शुभारम्भमा दीप प्रज्ज्वलन गर्ने चलन रहेकोले नगरपालिकामा नयाँ नेतृत्व आएपछि अबको दिन शुभ होओस् भन्ने मनसाय सर्वसाधारणले दीप प्रज्ज्वलन गरी अभिव्यक्त गरेको गौर बजारका दिनेश झाले बताएका छन्।
गौरबासीले पवित्र मनले दीप प्रज्ज्वलन गरी गौर नगरपालिका र नवनिर्वाचित पदाधिकारीप्रति देखाएको सद्भावले देशभर नयाँ सन्देश दिएको नवनिर्वाचित मेयर शम्भु साह कानुले प्रतिक्रिया दिएका छन्।
विभिन्न पालिकाको निर्वाचनको मत परिणाम आउँदै गर्दा रौतहटको सदरमुकाम गौरका स्थानीयबासीले खुसी मनाउने नयाँ तरिका सार्वजनिक गरेका छन्।
प्रतिक्रिया