जसबाट हारेका थिए उसैलाई भारी बहुमतले हराए शम्भु साहले रौतहट

इनेप्लिज २०७९ जेठ ४ गते २२:२४ मा प्रकाशित

रौतहटको सदरमुकाम गौर नगरपालिकामा शम्भु साह कानु मेयर पदमा निर्वाचित भएका छन्।२०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयर पदमा अजय गुप्तासित दुई हजारभन्दा बढी मतले पराजित भएका शम्भु साह कानु यसपटक दुई हजार छ सयभन्दा बढी मतले उनै गुप्तालाई हराएका छन्।

रौतहट जिल्लाको सदरमुकाम र माधवकुमार नेपालको गृहनगर गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीको बर्चस्व कायम भएको छ।पूर्व प्रधानमन्त्री तथा नेकपा एसका राष्ट्रिय अध्यक्ष माधवकुमार नेपालको निकट मानिने शम्भु साह कानु गत निर्वाचनमा जसबाट पराजित भएका थिए,उनैलाई पराजित गरेका हुन्।जति धेरै मतले पराजित भएका थिए,त्यसभन्दा धेरै मतले पराजित गरेका हुन्।

गौर नगरपालिकाको मेयरमा निर्वाचित शम्भु साह कानुले ६३८१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका अजयकुमार गुप्ताले ३७५५ मत प्राप्त गरेका छन्।यसै गरी उपमेयरमा नेकपा एसकै शैलकुमारीले ४८०९ मत प्राप्त गरी जितेकी छन् भने निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी डा.सहनाज खातुनले ३६८५ मत प्राप्त गरेकी छन्।

नेकपा एसले गौर नगरपालिकाको वडा नम्बर १,२,३,४,६ र ९ मा वडाध्यक्षसहित सम्पूर्ण प्यानलले जितेका छन् भने वडा नम्बर ८ को वडाध्यक्षमा नेपाली काँग्रेसका जनार्दन साह निर्वाचित भए पनि चार ओटै सदस्यमा नेकपा एसले जित निकालेको छ।गौर नगरपालिकाको वडा नम्बर ५ मा स्वतन्त्र उम्मेदवार शिवशंकर यादव र वडा नम्बर ७ मा लोसपा नेपालका हरिशंकर पाण्डेय विजयी भएका छन्।

यसअघि लोसपा नेपालको मेयर रहेको गौरमा लोसपा एउटा वडामा सीमित हुन पुगेको छ।

निरन्तर समाजसेवामा सक्रिय रहेका मेयरमा निर्वाचित शम्भु साह कानुले सदरमुकाम गौरको मुहार परिवर्तन गर्ने अपेक्षा सर्वसाधारणले गरेका छन्।अत्यन्त सहज जित हासिल गरेका कानुलाई सबैतिरबाट बधाई प्राप्त भइरहेको छ।

प्रतिक्रिया