मेडिसिटी देखि मेडिसिटी (मेदान्त) सम्म

दुर्गा लोहनी २०७९ जेठ २ गते २२:३१ मा प्रकाशित

 

चैत्र २२ गते मंगलबार हामी नेपाल आइयो । बुधबारबाट फेरि समस्या बल्झियो । जब नेपाल फर्केको भोलिपल्टै उसलाई फेरि उस्तै गरी गाह्रो भयो, मलाई यति पीडा भयो कि सायद भगवानको परीक्षा होला जुन मैले दिन्न भन्दा पनि सुख पाउन्न । मैले सक्दिन भन्दा पनि सुख पाउन्न  । म भित्र भित्रै टुटिसकेको थिएँ । ममा पलाएको आशा फेरि नराम्रोसँग निमोठियो । तैपनि फेरि उनै एक सहारा , उनैलाई पुकार्थें । मैले जसरी पनि आफ्नो मनलाई संझाएर छोराको अगाडि केही नभएको जस्तो गर्नु पर्थ्यो । किनकि यो परीक्षामा जसरी पनि सफल हुनुथ्यो मलाई । जसरी पनि मैले यो लडाइँ जित्नै पर्छ । मैले उसलाई हिम्मत बढाउनु छ ।  मेरो लागि मन खोलेर रुने ठाउँ समेत थिएन । किनकि उसको अगाडि मैले नर्मल हुनुपर्छ ।  कती पीडा र आँशु लुकाएर हिँड्नुपर्ने मेरो बाध्यता थियो ।   म आफुलाई नितान्त असहाय जस्तो लाग्थ्यो । यस्तैमा  एकजना भान्जीसँग भेट भयो । उहाँको काँधमा मुन्टो राखेर उहाँलाई अँगालो हालेर म धित मर्ने गरी रोएँ । कहिलेकाहीँ टाउको राखेर रुन पाउने काँध पनि कति प्यारो हुने रहेछ ।  घर बाहिर जे जस्तो भए पनि उसको अगाडि म नर्मल भइदिन्थे । उसलाई केही भएको छैन जस्तो व्यवहार गर्थें ।

मंगलबार उताबाट आइयो। बुधबारबाट फेरि उसलाई गाह्रो भयो ।  शुक्रबार उताको डाक्टरसँगको भिडियो कल मार्फत जचाउने पालो थियो । डाक्टरसँग कुरा भयो । उहाँले फेरि अर्को ओैषधी थपिदिनु भयो र सोमबार फेरि भिडियो कल गर्न भन्नुभयो । सोमबारसम्ममा त उसका हातका ओैंलाहरु अझै जोडले कामेका थिए । डाक्टर साबले त्यही ओैषधी  निरन्तर खाने र नआत्तिन सुझाव दिनुभयो र फेरि एकहप्तामा फेरि भिडियो कल मार्फत भेट्ने भन्नुभयो । अब भने उसमा फेरि सुधार भयो तर पटकपटक धोका पाएको प्रेमी जस्तै यो मन ढुक्क हुन सक्ने रहेनछ । अहिले पनि हामी लगभग कहिले एक हप्ता कहिले दुई हप्तामा उताकै डाक्टरको फलोअपमा छौं । एकपटकको फलोअपमा चौबीस सय नेपाली रुपैयाँ तिर्नु पर्छ । मेदान्तमा जाँदा थुप्रै नेपालीहरु उपचारको लागि गएका पाइन्छन् । अन्य हस्पिटलमा पनि त्यस्तै हुँदो हो ।  बर्ष भरिमा कति रकम उपचारको लागि भनेर बाहिर जाँदो हो? , मेरो मनमा खड्किएको प्रश्न !

यति हुँदा सम्म वैशाख पनि लागिसक्यो । उसको एस इ इ आउने बेला भैसक्यो तर बिडम्बना उसले स्कुल जान त परै जाओस घरमा समेत पढ्न सकेको थिएन । परीक्षा नजिकिईंदै गर्दा उसका सरहरु पनि उसलाई भेट्न आउनु भयो । उसलाई निकै नै हिम्मत र हौसला दिनुभयो । ऊ बिरामी भएको शुरु देखि नै स्कुलबाट हामीले राम्रो सपोर्ट पाएका थियौं । प्रिन्सिपल सर,  डारेक्टर सर,  इन्चार्ज सर तथा अन्य विषय  शिक्षकहरुले बारम्बार फोन गरेर उसको स्वास्थ्य स्थितिको बारेमा जानकारी लिनुहुन्थ्यो । दुःख पर्दा आएको एउटा फोन पनि कति अनमोल हुने रहेछ । अनि हामी इन्डियाबाट आएपछि सबैजना सरहरु घरमै भेट्न आउनु भयो । उहाँहरुको व्यवहारले हामीलाई निकै आधार मिल्यो ।  त्यसको लागि सम्पूर्ण सरहरु, प्रिन्सिपल सर, डाइरेक्टर सर लगायत सम्पूर्ण  स्कुल परिवारलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

यस्तो किसिमको असरको बारेमा सम्बन्धित निकायमा पनि थाहा दिनुपर्छ भनेर क्याम्पसमा मलाई सहकर्मी साथिहरुले भन्नुभयो र मलाई पनि “हो” जस्तै लागेर टेकु हस्पिटल गयौं । त्यहाँ डा. शेर बहादुर पुनलाई भेटेर सबै कुराको जानकारी गरायौं । उहाँले सबै कुरा सुन्नु भयो र यस्तो केश अहिले सम्म नसुनेको जानकारी गराउनु भयो ।र हाम्रो मोबाइल नम्बर समेत राख्नुभयो।  तर त्यसपछि कस्तो हुँदैछ भनेर एकपटक पनि सोधिएको छैन । यसको बारेमा अनुसन्धान गर्न त सायदै कसैलाई आवश्यक नै लाग्दैन । यहाँ त राज्यको जिम्मेवारी भन्ने कुरा केहीमा पनि छैन । फाईजर कम्पनीको “कम्प्लेन बक्स” मा यो कुरा पठायौं। उताबाट बरु कस्तो भइरहेको छ?”  भनेर रिप्लाई आयो । तर आफ्नै देशमा केही वास्ता छैन । किन यहाँ केही कुराको पनि अनुसन्धान गर्न आवश्यक ठानिदैन ? हो, हामीसँग स्रोत साधनहरु कम छन् । प्राविधिक कुराको अभाव छ ।  कमसेकम “केस स्टडी” को रुपमा त राख्न सक्छौं नि ! तर अफशोच! यहाँ त जसलाई दु:ख पर्‍यो, पर्‍यो ।  अझ खोपबाट भएका नकारात्मक असरलाई “खोपको असर नै होइन ” भनेरै जितिन्छ । नराम्रो कुरालाई हो भनेर स्वीकार्ने क्षमता किन छैन हामीमा ? तर अरुको लागि जतिसुकै अमृत भए पनि मैले त कसरी अमृत भन्न सक्छु र?

मलाई अहिले पनि त्यो खोप लगाएको अति नै पछुतो लाग्छ । किनकि मलाई त कहिल्यै पनि यो खोप माथि विश्वास थिएन । सरकारले जारी गरेको यस बाध्यात्मक आदेशले कतिको घर परिवारमा कस्ता असर गरेका होलान् ? सरकारको यस नि:शुल्क खोप कार्यक्रमले म जस्ता  कतिलाई कति भारी परेको होला?   म जस्तै कतिजनालाई यस निःशुल्क खोपको मूल्य चुकाउन गाह्रो परेको होला ।  सुन्ने निकाय कहाँ छ र मेरो देशमा?  मेरो मनमा कतिधेरै प्रश्नहरु खडा भएका छन्। तर त्यसको जवाफ कसले दिने?

(थोरैलाई भए पनि जानकारी होस् भन्ने उद्देश्यले यो कहानी यहाँ प्रस्तुत गरेको हुँ । अझै पनि कहिले ठिक र कहिले बेठिककै लुकामारीमा अल्झनु परेको छ । )

-दुर्गा लोहनी

प्रतिक्रिया