विराटनगर,११ वैशाख।मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा महानगरपालिकाको विभिन्न वडाका अध्यक्ष तथा सदस्यहरुहरुले उम्मेदवारी नाम दर्ता गराउने कार्य शुरु भएको छ।
कार्यालयमा पहिलो उम्मेदवारी दर्ता गराउनेमा विराटनगर वडा नं १० का स्वतन्त्र उम्मेदवार माधवराज वाग्ले हुनुहुन्छ।
वाग्ले विसं २०७४ को निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भई विजयी हुनु भएको थियो।
यसैगरी वडा नं १० बाट दुई जनाले सदस्य पदमा स्वतन्त्रबाट उम्मेदवार दर्ता गराउनु भएको कार्यालयले जनाएको छ।
नेपाल सद्भावना पार्टीले वडा नं ९ बाट वडा अध्यक्षमा उम्मेदवार दर्ता गराएको छ भने सोही वडाबाट एक जनाले सदस्यमा स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनु भएको छ।
यस्तै वडा नंं ८ मा अध्यक्षमा स्वतन्त्रबाट एक जनाले नाम दर्ता गराउनु भएको छ।
कार्यालयमा १२ः३० सम्म छ जनाले उम्मेदवारी दर्ता गराउनु भएको छ भने उम्मेदवारहरुको नाम दर्ता गराउन आउने क्रममा जारी रहेको छ।
उम्मेदवारी दर्ताका लागि धरौटी रकममा महानगर प्रमुख र उपप्रमुखका लागि रु एक हजार पाँच सय,वडा अध्यक्षका लागि रु एक हजार र वडा सदस्यका लागि रु ५०० रहेको छ भने दलित र महिलालाई ५० प्रतिशत छुट गरिएको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको क्रममा कुनै अप्रिय घटना हुन नदिन सुरक्षाको विशेष व्यवस्था गरिएको छ।
प्रतिक्रिया