विराटनगर,२३ चैत।बालविवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको सरोकारवालाहरुले सुझाव दिएका छन्।प्रदेश १ सामाजिक विकास मन्त्रालयले आज विराटनगरमा आयोजना गरेको बाल विवाह विरुद्धको प्रादेशिक रणनीति सम्वन्धि अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बाल विवाह नियन्त्रणका लागि सचेतना आवस्यक रहेको बताएका हुन।
मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लक्षित वर्गमा शिक्षा महत्वपूर्ण रहेको बताउनुभयो।उहाँले आर्थिक शशक्तिकरणमा पनि जोड दिनुभयो। प्रजिअ दाहालले रणनीतिको कार्यन्वयन पक्ष पनि राम्रो हुनुपर्ने सुझाव दिनुभयो।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले परम्परागत सोचका कारण पनि बालविवाह नियन्त्रणमा चुनौति रहेको बताउनुभयो।उहाँले कानुनी अज्ञानता,गरीवी पनि मुख्य कारण रहेको बताउनुभयो।सचिव पराजुलीले कानुनी सचेतना आवस्यक रहेकोमा जोड दिनुभयो।
सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले मन्त्रालयले बालविवाह नियन्त्रणका लागि किशोरी सशक्तिकरण कार्यक्रम शुरुवात गरिएको बताउनुभयो। बालविवाह नियन्त्रणका लागि रणनीतिमा स्थानीय तहहरुबाट प्रोत्साहनका कार्यक्रम समावेश गर्न सुझाव दिनुभयो।
जिल्ला न्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले बालविवाह नियन्त्रणका लागि विद्यालय तहमा सचेतना आवस्यक रहेको बताउनुभयो।उहाँले समुदायस्तरमा अभियानका रुपमा कार्यक्रम लैजानुपर्ने बताउनुभयो।कार्यक्रममा सहभागी अधिकारकर्मीहरुले रणनीतिलाई चाँडै कार्यन्वयनमा ल्याउन सुझाव दिएका थिए।अभियानलाई सफल पार्न प्रदेश र स्थानीय सरकारले स्वामित्व लिनुपर्ने उनीहरुको भनाई छ।
सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले चालु आर्थिक वर्ष भित्रमा रणनीतिलाई अन्तिम रुप दिएर आगामी आर्थिक वर्षदेखि कार्यन्वयनमा लैजानेगरि मन्त्रालयले तयारी गरिरहेको जानकारी दिनुभयो।
प्रदेश १ लाई सन् २०२५ भित्रमा बालविवाहमुक्त प्रदेश बनाउने सरकारको नीति रहेको छ।
प्रतिक्रिया