सवाई छन्दमा टुक्का लेखन अभ्यास सम्पन्न !

इनेप्लिज २०७८ चैत ११ गते २१:२६ मा प्रकाशित

काठमाडाैं,टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ चैत्र ८ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२१” अन्तर्गत सवाई छन्दमा (लाेक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ।

छन्द प्रशिक्षक अनिल खग्रासकाे संयाेजकत्वमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ५२ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे छ ।

लोक छन्द अन्तर्गत सवाई छन्द

~ यस छन्दमा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ यस छन्दमा जम्मा १४ अक्षर हुन्छन्।
~ ८ अक्षरमा विश्राम हुन्छ।
~ सूत्र ४+४,४+२=१४ अक्षर

अभ्यासका क्रममा सङ्कलन भएका सवाई (लाेक छन्द) मा सिर्जना गरिएका टुक्काहरू

[१]
१.
ममताको छहारीमा सुख्खापन भेटे,
युगौयुग बाँच्छौँ भन्थे आज गला रेटे।
२.
छोडी गई एक्लै पारी बेहाल छु आज,
तिमीसामु आउन नि लागेको छ लाज।
✍️ अनिल खग्रास
पर्वत ।

[२]
१.
आफ्नै धरा सदा सदा स्वर्ग जस्तै थियो,
फर्कनु ल प्यारा अब बाली नयाँ दियो ।
२.
बेचे अरे देश हाम्रो बन्यौँ हामी थाङ्ने
पारे छन्  ढुकुटी  रित्तो भयौँ हामी माङ्ने ।
✍️ सुर्यमणि रेग्मी
चितवन ।

[३]
१.
बसन्तको  पालुवामा  उम्रिएका  झार,
यही लाग्छ दु:ख-सुख जीवनका सार।
२.
माथि सोच्नु  तल पुग्नु दिमागको खेल,
आफ्नो जे छ त्यही ठिक सबैभन्दा मेल।
✍️ म्यामराज राई
भाेजपुर ।

[४]
दिनदिनै सपनीमा तिमीलाई देख्छु,
हृदयको पानाभरी काव्यरस लेख्छु ।
✍️ ऋषिराम खनाल ।

[५]
१ .                             
कवि मन कवितामा लेखेका छन् हेर
अलिकति भन्दैमा नि गइहाल्छ धेर ।
२.
सम्झनाको कोसेलीमा लिदैमा के भयो
आखिरमा आत्मा बेची सर्वस्व नै गयो ।
✍️ अम्विका अधिकारी
झापा, विर्तामोड ।

[६]
१.
जुनीभर आफ्नै हित, पार्नेहरु जति,
ठूला कुरा  उनै गर्छन्,बेइमान कति?
२.
मोजमस्ती जवर्जस्ती ,पचाउने तिनै,
चोरलाई  बचाएर, माथि पर्ने यिनै।
✍️ मनोहरी पौडेल
गैडाकोट १, नवपपुर।

[७]
जिन्दगीको गोरेटोमा अमूल्य नै थियौ,
टाढीएर आज फेरि चोटै-चोट दियौ ।
✍️ गंगा खड्का
बूढानीलकण्ठ काठमाडौँ।

[८]
१.
दौरा सुरुवाल कोट टोपी बिलाएर
खाडी मुलुकमा पस्यो सबै मिलाएर ।
२.
चौबन्दीमा साडी थियो कति सुहाउने
भेष भुषा हराएर मनै रुवाउने ।
✍️ गुणनिधी घिमिरे
माेरङ्ग, हाल अमेरिका ।

[९]
१.
दुनियाले हेप्नथाले देशलाई हाम्रो,
कटपुत्ली बिदेशको नभएकै राम्रो।
२.
जनसंख्या घटेको छ भोटपर्छ मस्तै,
परदेश आधा छन हेराफेरी सस्तै।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही-१८

[१०]
१.
चोखो छ कि जुठो छ खै, निष्ठुरीको माया,
वशीभूत भएको छ, मन अनि काया।
२.
उनी बिना यो जीवन, लाग्छ कस्तो कस्तो,
संसारमै मेरो जन्म, मिथ्या भए जस्तो।
✍️ वसन्त अनुभव
घोराही,दाङ ।

[११]
१.
घरबाट परदेश जानैपर्‍यो यहाँ
नेताहरू बेचिएर रहेका छन् जहाँ ।
२.
आफूलाई ठान्नु ठूलो भुल हो म भन्छु
पाउको म सबैको नै धुलो मात्रै गन्छु ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास

[१२]
१.
आकाशमा अनगिन्ती ताराहरू छन
तिमी भन्छौं ध्रुवतारा मनपर्छ झन।
२.
अध्यारोमा अझबढी चम्किरहोस् तारा
तिम्रो हेर्ने दृष्टिकोण उज्ज्वल होस् सारा ।
✍️ कबिताहरी
सुन्दर हरैंचा नगरपालिका १ मोरङ ।

[१३]
१.
चाेखाे माया सम्हालेर काट्नु घामछायाँ
सानाे कुरा गाँठाे पारि नहाेस् दायाँबायाँ।
२.
तँ ठुलाे की म ठुलाे हुँ अहम् हाम्राे उस्तै
सिधालाई साेझाे नै हाे बाङ्गिदा दुरुस्तै ।
✍️ ताराप्रसाद चापागाई
धुनिबेसी ।

[१४]
१.
मरिजाने चोला हो रे कतिलोभ गर्छौ,
भरिदैन झोला तिम्रो नभरेरै मर्छौ।
२.
छोडअब लोभगर्न छोडलुटी खान,
जिन्दगीको गोरेटोमा के छ मरि लान।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।

[१५]
१.
चरीबरी कराउँछन् बिहान् मिर्मिरेमा,
पानी थाप्ने ढुङ्गे धाराे पानी तिर्तिरेमा ।
२.
रातभरी जूनतारा दिन घाम लाग्छ ,
मायाप्रेम तिर्सनाले सधैँ निद भाग्छ ।
✍️ रामप्रसाद पुरी
ऐसेलुखर्क २ खाेटाङ
हाल बु न पा ११, कपन,काठमाडौ ।

[१६]
१.
फेरि पनि सबै खुशी मनमा गनेर,
कति राख्छौ  गुनगुन्दै दुखित बनेर।
२.
राम्रो बानी सँधै ज्ञानी बन्नु पर्छ नर,
बिग्रिएको चाला परे कस्ले गर्छ भर।
✍️ अच्युत घिमिरे
दोभान भुटान 🇧🇹

[१७]
दिन रात  बिग्रियाे लाै जनता अबस्था
कुपुत्र पो जन्मे आमा मिलाउ ब्यबस्था।
✍️ संझना कुसुम
पाेखरा ।

[१८]

मेरो व्यथा तिमीलाई भन्न बाँकि रह्यो,
जति गर्यो उति थपि पीडा मात्र सह्यो ।

आयौ तिमी केही भन्न सत्य के पो थियो,
चुपचाप  हेरी रहेँ निराशा  झन्  दियो ।
✍️ शर्मिला श्रेष्ठ
भैंसेपाटी,ललितपुर ।

[१९]
१.
मै हुँ भन्ने मान्छेलाई आज के पाे भयाे,
जतासुकै घाती  युद्ध मच्चाउँदै   गयाे ।
२.
तिमीलाई  देखेपछि हुन्छ  कस्तो कस्तो ,
भमराले फूल  देखी  लहसिए जस्तो ।
✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

[२०]
१.
राम्रा भन्ने नेताहरु ठगी हिड्न थाले,
बिरोधिको सात्तो खान्छन् तिनै मोटे आले।
२.
आफ्नो मात्र पेट ठूलो घिच्नुपर्ने धेरै,
भेटेजती सबै खाने यो र त्यो नि मेरै।
✍️ प्रदीप के रिमाल
इटहरी आठ।

[२१]
मेरा दु:ख कति छन भन्नै बाँकी थियो
छाडि जाने निष्ठुरीले धेरै चोट दियो ।
✍️ दुर्गा भट्टराई
मोरङ ।

[२२]
धोका दिई सरासर ठानी निर्धो मान्छे
कस्तो मुटु आफूलाई झनै रानी ठान्छे।
✍️ दीपक ठटाल जलन
खरसाङ।

[२३]
१.
कोपिला त फक्रेपछी सुवासना छर्छ,
जिन्दगी त गीत बन्छ वैंश रंग भर्छ !
२.
नेतालाई जैलेसुकै त्यो जवानी चढ्ने,
जति खुट्टा तानेपनि उभैतिर बढ्ने !
✍️ बिबस पारदर्शी
भद्रपुर -२ झापा।

[२४]
नवबिज उम्रे जग हरियाली छायो,
वसन्तको याम पनि वास बोकी आयो।
✍️ तारा कुमार थापा
इलाम ।

[२५]
१.
आफ्नै बोली संस्कृतिमा रम्नेबानी हाम्रो ,
आफ्नैभेष आफ्नैदेश हामीलाई  राम्रो।
२.
नेतालाई भोट अब कसैदिनु हुन्न ,
नेता चुनौं देशबन्ने केहीले नै छुन्न।
✍️ बेदु न्यौपाने
काठमाडौ ।

[२६]
१.
कर्म गर्नु बाचुन्जेल बारह महिना
जिन्दगीमा बगाउनु  रगत पसिना ।
२.
आफ्नो भन्ने कोहि छैन आफ्नै  हुन्न छायाँ
बिरानो भै जान्छ सबै भक्त  दायाँ बायाँ ।
✍️ जि कुमार गौतम भद्रपुर -१
(पृथिविनगर) झापा ।

[२७]
१.
कति राम्रो लालीगुराँस बनैभरि फुल्यो
दङदास परे म त यो मन त्यतै भुल्यो।
२.
बसन्तमा फूलबारी ढकमक्क भयो
थाहा पायो भंवराले उड्दै उतै गयो।
✍️ ओमकुमारी बन्जारा
काठमाडौं ।

[२८]
१.
सकेसम्म हाँसी-खुशी ,बाँच्नु पर्छ सानी,
जानी-जानी गर्नुहुन्न , सधैँ रूने बानी।
२.
नाङ्गो आयौँ नाङ्गै जान्छौँ, धेरै लोभ किन?
धैर्य सँगै सिक्नुपर्छ , लिन भन्दा दिन।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[२९]
१.
साझ पख गोधुलीमा तिमिलाई देखे ,
तिम्रै नाउँ सम्झी टुक्का मैले लेखे ।
२.
चौतारीमा पर्खिबसे तिम्रै बाटो हेरि ,
गयौ तिमी निस्ठुरी नि आफ्नो बाटो फेरि ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा।

[३०]
१.
वरपर सबतिर माग्दै हिँड्छन् भोट,
जनताले खाएका छन् सधैंभरि चोट ।
२.
खाइसके जनताले जताततै धोका,
पालो आए फेरिपनि लुटिखाने भोका ।
✍️भगवती दवाडी
झापा ।

[३१]
१.
जीवनमा तिम्रो हेर! जरुरत पर्छ
हर दिन तिमीलाई सम्झी दिन टर्छ।
२.
हरपल तिम्रै ध्यान गर्छु सधैं हेर !
जीवन यो नजावस लौ है ! त्यसै खेर।
✍️ परिक्रमा श्रेस्ठ
धरान, सुनसरी ।

[३२]

समाचार घरतिर सोध्नुभयो  बाले
केटाकेटी लुटुपुटु सँगै खेल्न थाले ।

बल्लबल्ल टाढाबाट आईपुग्नु भा‍,को
एककोस हिँडेपछि गाडी चढ्न पा,को ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक ।

[३३]
१.
कहाँ छ र राेकिएकाे , समयकाे गति ,
राेक्न खाेज्छ मानिसले , बिगारेर मति ।
२.
प्रकृतिको उपहार सम्झ दिन रात ,
पालुवाकाे रहरले झर्छ सुख्खा पात ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[३४]

मरिहत्ते गर्नु किन पाइँदैन भने,
प्रेम गरे,जोगी बने पल्लाघरे धने।

बाबा आमा खुशी भए छोरो जन्म्यो भनी
छोरोभने हिँड्न थाले प्रेम रोगी बनी ।
✍️ जित बुढाथोकी छन्त्याल
म्याग्दी हाल-बेलायत।

[३५]
१.
सुन्दरीको मायाप्रीति गुराँसले पायो
रङ्गाएर स्यूँदोभरी सिन्दूरले छायो।
२.
भँमरो हो बलात्कारी फूललाई भारी
बिना हात हतियार युद्ध गर्ने जारी।
✍️ रामशरण न्यौपाने
भक्तपुर ।

[३६]
१.
जीवन यो बचाउन दिएको हो खुन
मैले गरें जति सबै बिर्सिइछ गुन।
२.
लुकीछिपी म’ देखीं नि अन्तै मन साँटी
हो साँच्चै  मनपरेन  बैगुनीले  ढाँटी।
✍️ प्रकाश बुढाथोकी।
असम भारत।

[३७]
१.
अाऊ साथी केही छिन मिलिजुली बसाै
टुक्का लेख अभ्यासमा माया हामी कसौ ।
२.
उकाली र अाेरालीमा गाएका यी गीत
गीत भित्र रचेको हाे हाम्रो मिठो प्रीत।
✍️ प्रेम कला चापागाईं
झापा ।

[३८]
१.
गाेधुलीमा तिमीलाई, देखेपछि आज,
अत्तालियाे मन मेराे, लाग्न थाल्याे लाज ।
२.
बगैँचामा तिम्राे हात, समाएर नाचूँ,
तिम्रैलागि याे जीवन, जुनीजुनी साँचूँ ।
✍️ गाेपालकृष्ण डंगाेल
इटहरी, सुनसरी ।

[३९]
तिम्रै लागि खोलि दिएँ पिरतीको मूल,
फड्के तर्नु  कुल्चिएर  नगर्नु नि भुल।
✍️ प्रमोद भट्टराई ‘प्रतीक’
कौशलटार, भक्तपुर ।

[४०]
१.
जिन्दगीमा प्रायः जसो मैले हार खान्छु
अबदेखि आफन्तको कुरा सबै मान्छु ।
२.
प्रकृतिमा जन्मिएर हामी अब मर्छौ
जिन्दगीमा सकेजती मेहनत गर्छौ ।
✍️ विक्रम तिरुवा सलिन
जुम्ला ।

[४१]
१.
सवाइको छन्द लेख्ने दबाइ नै छैन,
शब्दहरु छान्न  अझै  किन आउँदैन।
२.
झर्किएर बोल्ने मान्छे राम्रो हुन्न सानी,
नजानेरै हो कि तिमी बोल्छौ जानी जानी।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल ।

[४२]
१.
अचानक भेट भयो, अतालियो मन,
परपर भाग्न खोज्छु,छेउ देख्छु झन।
२.
जोवानको खेल होला, सङ्गै सङ्गै बस्ने  ,
मोहनी पो लाको रैछ ,दिल भित्र पस्ने।
✍️ दुर्गा आचार्य
मोरङ ।

[४३]
आऊ बस मुटुनेर छोड्छ कि त पोल्न
आँशु बग्छ खहरेझैं तिम्ले छाडे बोल्न ।
✍️ देव वर्तिनी

[४४]
१.
बस्ने बास छैन अझै छैन खाने गाँस
यसैगरी कुन बेला जान्छ होला सास।
२.
माया माया भन्ने शब्द छोडिसके जप्न
अझै पनि कति पर्छ पीडैपीडा खप्न ।
✍️ ललिता अभागी
सुनकोशी५-सिन्धुली ।

[४५]
पन्चेै बाज बाजाउदै आए आमा जन्ती,
भन्नुपर्छ अब मैले पराई आफन्ती ।
✍️ प्रद्युम्न चालीसे
भक्तपुर ।

[४६]
चौतारीमा  बिसाउदै  भरिएको  धोक्रो
टुसुक्क बस्थ्यौ सम्झिदै त्यै छोराको कोक्रो।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया ।

[४७]
१.
उडाएर लाने छनी चारैतिर खोज,
यो मनमा सजाएको अनगिन्ती रोज।
२.
लाचारी छु सकिनँ म उभिएर हेर्न,
हातपाउँ बसिसक्यो सकिँदैन बेर्न।
✍️ कमला पाण्डे पराजुली
झापा ।

[४८]
१,
तिमीभन्दा कोही छैन तिमीनै हो आस,
मेरो मुटु भित्रआई बसिद्यौन बास।
२,
जिन्दगीको सहारा नै तिमीमात्र थियौ,
किन आज  मुटु चुँडी कसैलाई  दियौ।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड, झापा।

[४९]
रवि भन्दा कडा  हुन्छ कवि यहाँ हर
जति भन पापी  मान्छे यो मान्दैन तर।
✍️ चिरञ्जीवी ढकाल
नेपालगन्ज -२०
राँझा एयरपोर्ट बाँके ।

[५०]
बुढेसकालमा पनि  जवानी आए’सी
साह्रै दु:ख पाइन्छ नि नभनी भागेसी।
✍️ रघु न्याैपाने
पाेखरा ।

[५१]
कति लोभ गर्छौ नेपाल खाउला जस्तो
देशप्रति माया गर्नु तिम्रो स्वार्थ कस्तो ।
✍️ तारा घिमिरे
सङ्खुवासभा ।

[५२]
हराएछु म त तिम्रो मन भित्र माया,
जहाँतही देख्न थाले तिम्रै मात्र छाया।
✍️ लालिमाया मगर
प्युठान ।

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया