एनआरएन अध्यक्षमा पहिलोपल्ट अमेरिकाको दावी, पूर्व महासचिव रतन झाको उम्मेदवारी घोषणा हुँदै

इनेप्लिज २०७२ साउन ९ गते २:४६ मा प्रकाशित

Ratan Jhaलस-एन्जलस, ९ साउन । आगामी असोजमा हुने गैर आवासिय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए)को काठमाडौं विश्व सम्मेलनमा संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्ट सम्बन्धि ब्यवसाय गरिरहेका संघका पूर्व महासचिव रतन झाले उम्मेदवारी दिने भएका छन् । एक औपचारिक समारोह मार्फत संघका पूर्व महासचिव रतन झाले आगामी साता संघको आगामी कार्यकालको लागि अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने छन् ।

आगामी असोजमा हुने विश्व सम्मेलनमा (२०१५ देखि २०१७) आगामी दुई वर्षको लागि एनआरएनको नयाँ नेतृत्व चयन हुने छ । अध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गर्ने तयारीमा रहेका संघका पूर्व महासचिव रतन झाले भने, ‘बुद्धि, वर्कत र क्षमता भएका नेपाली अमेरिकनलाई गैर आवासीय आन्दोलन मार्फत मातृभूमि नेपालको पुनर्निर्माणमा डोर्याउन मैले उम्मेदवारी दिएको हुँ ।’ ‘नेपालीहरुले मध्यपुर्व र खाडी क्षेत्रमा गएर चर्को श्रम गरि रहनु परेको छ’ उनले भने ‘यसबाट मुक्ति पाउने सबै भन्दा बलियो उपाय भनेको आन्तरिक रोजगारी सिर्जना हो र त्यसका लागि जरुरी पर्ने दक्ष शिप र पुंजीको भण्डार नेपाली अमेरिकनलाई मातृभूमि पुनर्निर्माणमा जोड्न अमेरिकाको तर्फबाट पहिलो पल्ट साझा उम्मेदबारको रुपमा मैले उम्मेदवारी घोषण गर्दै छु ।’
गैर आवासिय नेपाली अभियानलाई थप सुदृढ र संस्थागत गर्दै प्रलयकारी भूकम्पले अस्त व्यस्त बनेको मातृभूमि नेपालको पुनर्निर्माण, सुरक्षित आप्रवास र वैदेशिक रोजगारीको सुदृढीकरण तथा नेपालमा ज्ञान र पुँजीको लगानीका लागि विदेशमा रहेका नेपालीको क्षमता प्रयोग गर्न र बन्न लागेको संबिधानमा नेपाली नागरिकताको मुद्दालाई बिगत देखि आफुले प्रमुखताका साथ उठाउदै आएको उनले जानकारी दिए ।
झाले विश्वका ७१ मुलुकमा फैलिएका सदस्यहरुलाई समेटेर गैर आवासीय नेपालीलाई एकत्रित गर्ने आफ्नो योजना रहेको सुनाए । उनले नेपालमा पुँजी लगानी मात्र नभइ समुदायलाई आफ्नै खुट्टामा उभिन सक्षम बनाउन प्रदान गरिने ज्ञान, सिप र समय लगानीमा पनि गैर आवासीय नेपालीको ध्यान पुग्नु पर्ने र आफू त्यसका लागि तयार रहेको बताए ।
नेपालको सर्लाहीमा जन्मिएर संयुक्तराज्य अमेरिकाको टेक्सास राज्यमा निर्माण तथा रियल स्टेट डेभलपमेन्ट सम्बन्धि ब्यवसाय गरिरहेका संघका पूर्व महासचिव झा संघ स्थापना देखिनै गैर आवासिय नेपाली अभियानमा सक्रियतासाथ् सहभागी हुँदै आएका छन् । उनको उम्मेदवारीलाई एनआरएन अमेरिका र एनआरएन अभियानका संस्थापक अगुवाहरुको समेत समर्थन रहेको स्रोतले पुष्टि गरेको छ ।
यसअघि गैर आवासिय नेपाली अभियान सुरु भएको एक दशक सम्म संस्थागत हुन नसकेको एनआरएन अमेरिका २०१४ मा भएको सामुहिक निर्वाचनसंगै संघको सबै भन्दा धेरै सदस्य रहेको राष्ट्रिय समन्वय परिषदको रुपमा विकास र विस्तार हुनुमा समेत झाको मुख्य भूमिका र योगदान रहेको नेपाली अमेरिकनहरुको विश्वास छ ।

प्रतिक्रिया