२०७८ साल भदौ १ गते हामी श्रीमान श्रीमती कोलोराडो आउने मौका मिल्यो। यहाँ आएपछि आदरणीय स्रष्टा पदम विश्वकर्मालाई जानकारी दिएँ।मेरी छोरी प्रज्ञा गहतराजसंग पनि उहाँको राम्रोे परिचय भएकोले उहाँले हामीलाई लञ्चमा सप्रेम निम्त्याउनु भयो,यसका लागि धेरै धन्यवाद।
उहाँको पुस्तकालयबाट पढ्न मन लागेका कृतिहरु रामलाल जोशीको सखी उपन्यास र हिन्दी उपन्यास नेपालीमा अनुवाद भएको द्रौपदी पढ्नको लागि लगें। दोस्रोपटकको भेटमा २०७७ सालको मदन पुरस्कार प्राप्त कृति महारानी उपन्यास पढ्न ल्याएँ।आदरणीय साहित्यकार पदम विश्वकर्माको दोस्रो कृति कथासंग्रह तमसुक २०७६ सालमा उपहार प्राप्त भई पढ्ने अवसर पाएकी थिएँ।पहिलो कृति शब्द सुमन कवितासग्रह कोलोराडोमा आएपछि नै पढ्न पाएको हुँ।आदरणीय स्रष्टा नेपाली भाषा,साहित्य,कलामा निरन्तर कलम चलाई रहने क्रममा उहाँको तेस्रो कृति क्वारेन्टाइन उपन्यास प्रकाशित भयो।
यो कृति आफ्नै मातृभूमि नेपालको प्रज्ञा प्रतिष्ठानमा २०७८ साल कात्तिक ५ गते विमोचन भएको थियो।सो कृति मलाई उहाँको निवासबाट सप्रेम उपहार प्राप्त भयो।मंसिरसम्ममा स्वअध्ययन गरी भ्याएँ।खुसी हुँदै स्रष्टालाई यसको जानकारी दिएँ।कस्तो लाग्यो सोध्नुभयो,राम्रो लाग्यो भनेँ।राम्रो छ मात्र भन्नुभन्दा यस कृतिको बारेमा केही लेख्न मनले घच्घच्यायो र पाठक प्रतिक्रिया लेख्ने जमर्को गरे।
१९ वर्षदेखि अमेरिकाको कोलोराडो निवासी स्रष्टा पदम विश्वकर्माको २०२५ साल असोज १४ धमिलिकुवा ३,लमजुङमा जन्म भएको हो त्रिभुवन विश्वविद्यालय काठमाण्डौंबाट स्नातक तह समाजशास्त्र मानवशास्त्रमा स्नातकोत्तर गरेका विश्वकर्मा अन्तराष्ट्रिय नेपाली साहित्य समाजमा आवद्ध छन्।स्रष्टाको क्वारेन्टाइन उपन्यास तेस्रो कृति हो।उपन्यासको क्षेत्रमा यो पहिलो कृति हो।प्रकाशक सांग्रिला बुक्स प्रालि, आवरण कला टाइम्स क्रियसन,कृति मूल्य ३७५ छ र विश्वभर फैलिएको कोरोना महामारीबाट अकालमा ज्यान गुमाएका लाखौं आत्माहरुप्रति समर्पण गरिएको छ। जसमा आवरण कला सुन्दर छ।कथा ४० औं भाग र १८४ पेजमा फैलिएको छ।
उपन्यासको उठान कोलोराडोको हेमन्त रितुमा कस्तो हुन्छ ? त्यहाँको प्राकृतिक वातावरणीय दृश्यको मनोरम वर्णनबाट गरिएको छ।माता पितालाई प्रथम पात्र बनाइ उहाँहरुप्रति अत्यन्तै स्नेहभाव प्रकट गर्दै कथा अगाडि बढेको छ।कोरोना महामारी रोग विश्वमा पहिलो होइन।योभन्दा अगाडि पनि विश्वमा धेरै अन्य कारणले अकालमा मानिसहरूको विनाश भएको जानकारी पनि दिएको कथा शैली राम्रो छ ।विश्वमा पहिलो युद्ध पर्सियाबाट सुरु भएको थियो।मानव सभ्यतामा अकालमा मानिसहरूको ज्यान गएको विश्व युद्धका ऐतिहासिक घटनाहरु अमेरिकाको टुइन टावरमा घटेको घटना लगायत अन्य ठूलाठूला महामारी रोगहरूको बारे पाठकलाई राम्रो जानकारी दिँदै क्वारेन्टाइनको ढोका उघ्रिएको छ।यस उपन्यासका मुख्य पात्र विनय र पारु हुन्।सत्य घटनामा आधारित उपन्यासमा काल्पनिक प्रेम कथालाई विशेष जोड दिएको अनुभूति गराएको छ।जीवन भन्नु दुई आत्माको मिलन हो। यसै कुरालाई लेखकले मनन गरी विदुर र विधवाबीच नयाँ जीवनको सम्बन्ध कायम गरिएको वियोगान्त कथावस्तु सुखान्तमा टुगिंएको छ।
आधुनिक युगका हामीहरु विज्ञान र प्रविधिको युगमा भरपुर रमाइरहेका मानव माथि अचानक अप्रत्याशित रुपमा विश्वभरि फैलिएको कोरोना महामारीले मत्युवरण गर्न बाध्य भएका मानवजातिको विषम परिस्थिति बारे उजागर गरिएको जीवन्त दस्तावेज हो भन्दा फरक नपर्ला।यस उपन्यासमा उनिएका मर्मस्पर्शी कथाबस्तुले पाठकको मन टक्क छोएको छ।
यस उपन्यासमा कोरोना महामारीको पहिलो चरणमा भएको मानवजातिको दुःख, पीडा,क्रन्दन आदिलाई कारुणिक रुपमा प्रस्तुत गर्न खोजिएको छ।भाषा सरल र शिष्ट छ।पढ्न थालेपछि छोड्न मन लाग्दैन।उपन्यास वास्तवमा कस्तो छ भनेर जान्न बुझ्न एकपटक अध्ययन गर्ने पर्ने हुन्छ।
अन्त्यमा कोरोना कहरमा धेरैजसो श्रष्टाहरूको मन विचलित भएको अवस्थामा स्रष्टा पदमले यो उपन्यास लेख्न सक्नु सामान्य कुरा हुँदैन।आफूलेदेखि जानेको घटनालाई पाठक सामु उजागर गररे नेपाली भाषा साहित्यको ठूलो सेवा गर्नु भएकोमा धेरै बधाई तथा शुभकामना।कलम निरन्तर चलिरहोस सुभेक्षा प्रकट गर्दछु।
गङ्गा अभिलाषी
प्रतिक्रिया