लघुकथा प्रतिनिधि ठूलो

सञ्जय साह मित्र,रौतहट २०७८ माघ १५ गते २०:५६ मा प्रकाशित

राष्ट्रगानको धुन बज्यो।म उभिएँ।पछाडिबाट कसैले मेरो कुर्सी तान्यो।कुर्सी तान्दा घस्रेको आवाज आयो।राष्ट्रगानको धुन सकिँदा ताली बजाएसँगै सबै आफ्ना कुर्सीमा बसे।म अलमिलएँ।पछाडि फर्केर हेरें।भर्खर एसइइ दिएको एक विद्यार्थी गजक्क परेर बसेको छ।

विद्यालयले कार्यक्रम आयोजन गरेको थियो।म एक साधारण शिक्षक।विद्यार्थीलाई नचिन्ने कुरै भएन।विद्यार्थीले सायद चिनेन।हतारमा थियो कि।अन्त कतै जानलाई भन्न खोज्दै थिएँ।प्रअज्यूबाट उद्घोषण भयो :

यस विद्यालयका विव्यसका वरिष्ठ सदस्यका छोरा आफ्ना पिताको प्रतिनिधिका रूपमा आउनु भएको छ।विशिष्ट अतिथिको आसन ग्रहण गरिदिन आग्रह गर्दछु।” मेरो कुर्सी तानेर बस्ने विद्यार्थीलाई आसन ग्रहण गराइयो।

हत्त न पत्त दुई हात जोडेर नमस्कार गरें।उसले टाउको हल्लाएर अभिवादन स्वीकार गर्यो ठूलो मानिसले झैं।प्रअज्यूले फेरि भन्नुभयो:“हुन त अहिले पनि उहाँ हाम्रो विद्यार्थी नै हुनुहुन्छ तर आज वरिष्ठ सदस्यको प्रतिनिधिको रूपमा उहाँको आगमन भएको छ।जनताले जिताएको पठाएको प्रतिनिधि जनताभन्दा कथि माथि वरियताको हुन्छ,हामीले बुझेका छौँ।वरिष्ठ सदस्यको प्रतिनिधिको वरियताको मर्यादा हाम्रा शिक्षकहरूले राख्नुहुनेछ भन्ने विश्वास गरेको छु।”

म पछाडि भीडमा हराउँदै गर्दा परर्र ताली बज्यो।

सञ्जय साह मित्र,रौतहट

रौतहट

प्रतिक्रिया