भोली हुने राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

इनेप्लिज २०७८ माघ ११ गते ११:०६ मा प्रकाशित

काठमाडौं।भोली हुने राष्ट्रियसभाको निर्वाचनको लागि तयारी पूरा भएको निर्वाचन आयोगले जानकारी दिएको छ।राष्ट्रिय सभातर्फ २० फागुनबाट रिक्त हुने १९ पदमा भोलि निर्वाचन हुँदैछ । ती पदमा ४३ जनाको उम्मेदवारी परेको छ।

राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल गठबन्धन नै बनाएर चुनावी मैदानमा रहेका छन्।उनीहरूले निर्वाचनका लागि पद बाँडफाँड गरिसकेका छन्।

नेकपा एमालेले भने सातै प्रदेशमा आफ्ना उम्मेदवार अघि सारेको छ।२० फागुनबाट राष्ट्रिय सभामा रिक्त हुने १९ पदमध्ये ८ पद एमालेका तर्फबाट रिक्त हुँदैछ।

निर्वाचन आयोगले ७ महिला,३ दलित,२ अपांगता भएका तथा अल्पसंख्यक र ७ अन्य विभिन्न समूह गरी १९ सिटका लागि निर्वाचन गराउन लागेको हो।

निर्वाचनका लागि सातै प्रदेशमा गरी ४३ जना उम्मेदवारको उम्मेदवारी कायम भएको आयोगले जनाएको छ।जसमध्ये नेकपा ९एमाले०बाट १९ जना,नेपाली कांग्रेसबाट ६ जना,नेकपा (माओवादी केन्द्र) बाट ५ जना,नेकपा (एकीकृत समाजवादी)बाट ५ जना, जनता समाजवादी पार्टी, नेपालबाट २ जना,राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना,नेपाल मजदुर किसान पार्टीबाट २ जना,लोकतान्त्रिक समाजवादी पार्टीबाट १ जना र राष्ट्रिय जनमोर्चाबाट १ जनाको उम्मेदवार छन्।

गठबन्धनमा रहेका दलबीच भएको सहमतिअनुसार एमालेले जितेका ८ सिटमा कांग्रेसले ३,जसपाले २,माओवादी केन्द्र,एकीकृत समाजवादी र जनमोर्चाले १र१ सिट पाउने गरी भागबन्डा गरिसकेका छन्।

१९ पद रिक्त हुँदा भएको भागबन्डामा कांग्रेसको भागमा ६ सिट, माओवादी केन्द्र र नेकपा एसले ५र५ सिट तथा जसपालाई २ र जनमोर्चालाई एक सिट परेको हो।

५९ सदस्यीय हुने राष्ट्रिय सभामा हाल अध्यक्षसहित एमालेका २४,उपाध्यक्षसहित माओवादीका १४,कांग्रेसका सात,एकीकृत समाजवादीका सात,जसपाका दुई,लोकतान्त्रिक समाजवादीबाट एक, स्वतन्त्र एक र मनोनित तीन जना सदस्य छन्।

निर्वाचनमा स्थानीय तहका १४ सय ९३ जना र प्रदेश सभाका ५ सय ३२ जना गरेर जम्मा २ हजार २५ जना मतदाता कायम भएका छन्।निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र गाउँपालिका तथा नगरपालिका प्रमुख र उपप्रमुखको मतभार १८ हुनेछ।

प्रतिक्रिया