लघुकथा : भोक

ताराप्रसाद चापागाई धुनिबेसी । २०७८ माघ ८ गते ०:१६ मा प्रकाशित

गाउँकाे मिटिङमा एक्कासि हल्लाखल्ला सुरु भयाे । केही महिना अगाडि मात्र वडा अध्यक्षकाे जिम्मेवारी सम्हालेकाे हर्के निकै आक्राेशित देखिन्थ्याे ।

पानीबिना छटपटाएका गाउँलेहरूलाई राहतस्वरुप गाउँ पालिकाले बजेट दिएर खानेपानीकाे आयाेजना निर्माण कार्य हुँदै थियाे । अचानक साे स्थानमा गाउँ पालिकाबाट उपाध्यक्ष र इन्जिनियर आएर अनुगमन गरेका थिए । साे घटनाकाे भाेलि पल्ट हर्केले आकस्मिक वडा भेला गराएकाे थियाे ।

मैले आफ्नाे व्यस्तताले गर्दा आयाेजनालाई  समय दिन सकिन । त्यसैले  माथिल्लाे तहबाट हस्तक्षेप गर्न आएर आफूलाई तल पारिएकाे र आफूभन्दा सिनियर (गाउँ पालिकाका उपाध्यक्ष) ले टाउकाे उठाउन दिएनन् भन्दै वडा अध्यक्षकाे पदबाट राजिनामा काे घाेषणा गर्‍यो ।

साेझा गाउँलेहरू केही नबाेली चुपचाप टुलुटुलु हर्केकाे आक्राेश हेरिरहेका थिए ।  केही गाउँले  खासखुस गर्दै  थिए , “देश बनाउँछु भनेर हिँडेकाे हर्केकाे कति सानाे चित्त रहेछ । देशकाे लागी जीवन अर्पण गर्छु भन्दै राजनीतिमा हाेमिएकाे मान्छे केही महिना पनि टिक्न सकेन। आखिर सबैजना नामका भोका त रहेछन् नि ।”

✍️ ताराप्रसाद चापागाई
धुनिबेसी ।

प्रतिक्रिया