बि. पि. आख्यान पुरस्कार स्थापना गर्ने घोषणा

इनेप्लिज २०७८ पुष २१ गते १२:२७ मा प्रकाशित

यहि जनवरी ४, २०२२ मा   स्रस्टा साँझ अमेरिका र उपन्यास समाज नेपालले आयोजना गरेको मासिक नियमित उपन्यास परिचर्चा कार्यक्रममा नेपालका एक शीर्षस्थ साहित्यकार बि. पि. कोइरालाको सम्झनामा दुवै संस्थाले संयुक्त रुपमा रु. ५०,०००. ००(पचास हजार) को बि. पि. आख्यान पुरस्कार स्थापना गर्ने घोषणा गरिएको छ । स्रस्टा साँझ अमेरिकाका अध्यक्ष श्री  प्रभात दिक्षितले कार्यक्रम मै सो घोषणा गर्नु हुँदै  उक्त पुरस्कारको सम्बन्धमा थप जानकारी दिनुभयो । प्राप्त जानकारी अनुसार सो पुरस्कार प्रत्येक बर्ष बि. पि. को जन्म दिनमा छानिएको आख्यान पुस्तकलाई प्रदान गरिनेछ । यस सम्बन्धित कार्यबिधी बिज्ञहरुको परामर्शमा तयार गरिनेछ । पुरस्कारको स्थायित्व तथा निरन्तरताको लागि उपयुक्त समयमा अक्षय कोषको व्यवस्था  गरिनेछ | उपन्यास समाज नेपालका अध्यक्ष शंकर भारतीले बि.पी.को सम्झनामा पुरस्कार स्थापना गर्नु गौरवको बिषय भएको व्यक्त गर्दै  यसको पारदर्शिता, गुणस्तरीयता तथा दिगॊपनको बारेमा चर्चा गर्नुभयो ।

उक्त उपन्यास परिचर्चा कार्यक्रममा उपन्यासकार कल्पना खरेलको ” लभ ईन जेरुसेलम” उपन्यास माथि परिचर्चा भएको थियो । प्रा. सुनिल अधिकारी तथा प्रा. किरण आचार्यले उपन्यासमाथि आफ्नो पाठकीय प्रतिक्रिया प्रस्तुत गर्नु भएको थियो । इजराइलको जेरुसेलम शहरको पृष्ठभूमिमा लेखिएको सो उपन्यासको बिबिध पक्षहरुमा  उहाँहरुले  प्रकाश पार्नु भएको थियो । उपन्यासकार कल्पना खरेलले उपन्यास लेख्दाको परिवेश, आफ्ना भावना तथा अनुभूतिको बारेमा चर्चा गर्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ  प्रा. डा. देबी नेपालले उपन्यासको बारेमा आफ्नो मन्तव्य व्यक्त गर्नु हुँदै आफ्नो ईजराइल  भ्रमणका अनुभूति  उल्लेख गर्नु  भएको थियो। साथै  नेपाली   साहित्यिक कृतिहरु हेब्रु भाषामा पनि अनुवाद भएको र सो प्रक्रिया जारि रहने जानकारी दिनुभयो । उपन्यासकार मीरा गोतामेले आजको उपन्यास परिचर्चाबाट आफु धेरै प्रभावित भएको र सो उपन्यास पढन अति लालायित भएको भावना व्यक्त गर्नु भएको थियो ।;

उक्त कार्यक्रमका अन्य सहभागीहरुमा पवन बुढाथोकी (नेपाल संयोजक, स्रस्टा साँझ अमेरिका ) तथा बैकुण्ठराज आचार्य (सचिव, स्रस्टा साँझ अमेरिका) हुनुहुन्थ्यो । फेसबुकमा  लाइभ गरिएको सो कार्यक्रम फेसबुकमा साहित्यप्रेमीहरुले हेरेर आफ्नो हौसलायुक्त प्रसंसोक्ति दिनु भएको थियो । अन्त्यमा कार्यक्रमका सभापति बैकुण्ठराज आचार्य (स्रस्टा साँझ अमेरिका) ले उपन्यासकार कल्पना खरेललाई बधाई दिनुका साथै  निमन्त्रणा स्विकार गरि कार्यक्रममा सहभागी भएर कार्यक्रम सफल गरिदिनु भएकोमा सम्पूर्ण सहभागीहरु तथा फेसबुकमा कार्यक्रम हेरिरहनु भएका सवैमा आभार व्यक्त गर्नुभयो । कार्यक्रम करिव डेढ घण्टा संचालन भएको थियो । कार्यक्रम सन्चालन प्रभात दिक्षित (अध्यक्ष, स्रस्टा साँझ अमेरिका) तथा शंकर भारती (अध्यक्ष, उपन्यास समाज नेपाल) ले संयुक्त रुपमा गर्नुभएको थियो ।

प्रतिक्रिया