नेपाली टोपी: शान ,पहिचान र अभिमान

सुरेन उप्रेती अटवा क्यानडा २०७८ पुष २० गते २:३८ मा प्रकाशित

नेपाल दक्षिण एशिया अवस्थित स्वतन्त्र राज्य हो।उत्तर तर्फ हिमालै हिमालले पहरा दिएको छ। हिमालका काखमा रहेको सुन्दर देश हो नेपाल।नेपाल एक प्रकृतिको सुन्दर उपहारले सुसज्जित देश हो।हिमाल उद्गमस्थल बनाएर आएका नदीनालाहरू झरनाहरू नेपालका अनमोल प्राकृतिक सम्पदाहरू हुन।यहाँका आकाश नजिकको उचाईमा रहेका प्रशिद्ध तालहरू सन्सारमै प्रशिद्ध छन्।यहाँका बनजंगलमा अमुल्य बनस्पति र बोटविरूवाहरू छन्।हिमाली भेगमा पाइने जनवारहरू कस्तुरी हिमचितुवा डाँफे मुनाल आदि चराचुरूङ्गीहरू प्रशिद्ध छन्।हिमाली भेगका यार्सागुम्वा लगाएतका जडिबुटीहरूले सन्सारभरी नेपालको नाम स्थापित गरी सकेका छन्।देवभूमी भनेर परिचित छ।यो प्राचिनकालमा ऋषिमुनीहरूले तपश्या गरेर ज्ञानप्राप्त गरेको ज्ञानभूमी हो भनेर कतीमानिसहरूले नेपाललाई पुण्यभूभी भनेर शीरझुकाएर अभिनन्दन गर्छन।

नेपाल आकारको दृष्ट्रिकोणले सानो भए पनि बिबिध जातजातिका मानिसहरूको भिन्नभिन्न भाषा संस्क्कृतिले गर्दा यसदेशलाई सास्कृतिक सम्पदाको धनी देश मान्न सकिन्छ।युनेस्कोकोले अन्तर्राष्ट्रिय स्तरमा हेरिटेजका रूपमा राखेका थुप्रै सम्पदाहरू छन्।यहाँको राष्ट्रभाषा नेपाली भए पनि सयौँ जातजातिय आआफ्नै प्रकारका भाषा र संस्कृतिहरू रहेकाछन्।बिबिध भाषा र सँस्कृति भएका नेपालीहरूको लोभलाग्दो मेलमिलाप छ।

आज बिज्ञान र प्रविधिले सन्सारलाई नै एउटा गाउँ जस्तो बनाइ दिएको छ।एउटा गोलार्धको मानिसले अर्को गोलार्धका मानिस सँग भलाकुसारी गर्ने र बिचार आदानप्रदान गर्ने क्रम प्रतिदिन बढ्दो छ।मानिसले आफ्नो परिचय र पहिचानलाई स्थापित गराउन भनौ लोपहुन नदिन अनेक प्रयासहरू थालनी भएका छन। मानिसको पिहचान भनेको उसले वोल्ने लेख्ने या अभिव्यक्त गर्ने भाषामा निर्भर गर्दछ।मानिसको भावना सोच र विचारलाई विनिमय गर्ने साधन नै भाषा हो।भाषाभनेको बिभिन्न कला संस्कृति र साहित्यहरु लुकेको सम्पतिकोभण्डार Hidden Treasures हो।भाषा लोप भयो भने ती भाषा भित्र रहेका अमूल्य तत्वहरु पुन कहिलै पनि पहिलाकै अवस्थामापुनर्स्थापन हुन सक्दैनन्।त्यो गाढधन लोपभएर जान्छ।मानिसलाई परिचित गराउँने उसको भेषभुषा र संस्कृति पनि हो। नेपोलीहरूलाई अरूदेशका मानिसहरू भन्दा पृथकरूपमा पहिचान गराउँने नेपाली पोशाकले पनि हो।नेपालका बिभिन्न जातजातिका आआफ्नै प्रकारक पहिरनहरू छन।नेपाल भौगोलिक बनाबटका आधारमा हिमाल पहाड र तराई भए पनि भाषा र जातजातिका आधारमा सयौँ भाषा भाषीहरू रहेका छन्।नेपाली राष्ट्रिय पोशाकमा टोपी दौरासुरूवाल र कोट पुरूषहरूले लगाउने र महिलाहरूले गुन्यूचोलो पटुका पछयौरा छन्।गुन्योचोलोले सारीचोलोमा रूपान्तरण भएको छ।

नेपाली राष्ट्रिय पोशाकको उच्च र अभिन्न रूपमा टोपी रहेको छ।टोपी नेपालीको पहिचान बनेको छ।नेपालमा भएको २०४६ साल परिवर्तन पश्चात सन १९९०को दसकमा नेपालीहरू नेपालबाहिर जाने क्रमले तिब्रता पायो । नेपालीहरू सन्सारका बिभिन्न भागमा पुगे । पढाई रोजगारी र ब्यापारमा सरिक भए।जब आफ्नो थातथलो छोडेर समुन्द्रमा मान्छे हेलिन्छ।अनि उसलाई आफ्नो पहिचानको महत्व थाहा हुन्छ।यसरी नै पहिचानको महत्व बुझेर खुलेको हो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)।त्यस्तै गरी गैरआवासीय नेपाली संघ(एनआरएन) स्थापना भएरविस्वभरी फैलिएको हो।यसै क्रममा सन २०११ मा क्यानडाको टोरन्टो शहरमा बस्ने साहित्य समाज नेपालका डाक्टर गोविन्दसिँ रावतको पहलमा जनवरी एकलाई नेपाली टोपी दिवशका रूपमा मनाउन शुरू भयो।यसले फेसबुक मार्फत व्यापकता पायो।त्यस पछी मनेसास क्यानडा अटवाले पनि यसलाई मनाउन शुरू गर्यो।यो क्रममा अष्ट्रेलिया, बेलायत, अमेरिका र सन्सारभरीका नेपालीहरूले मनाउन शुरू गरे।नेपाली टोपी दिवसले अन्तराष्ट्रिय रूप लिएको छ।

टोपीका बारेमा थोरैमात्र कलम चलाएको पाइन्छ । तर टोपीको जन्म कहिले कहाँ र कसरी भयो भन्ने एकिन भने छैन । यसको नामाकरण टोपी भनेर कसले गर्यो।कसरी टोपीले नाम पायो भन्ने बारेमा ठ्याक्कै यही हो भन्ने प्रमाणहरु प्राप्त हुन सकेका छैनन्।संस्कृत भाषामा टोप भन्नाले स्तूप अथवा शिरमालगाउने वरिपरि जालीदार घेरा भएको टोपीलाई बुझाउँछ ।(वशन्त शर्मा नेपाल ,नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४ )।टोपी प्राकृत नाम शब्द शिर छोप्न वा शोभा बढाउन वा बचाउ गर्न घेरा मिलाइ सिलाईएको पहिरनलाई टोपी भनिन्छ (नेपाली शब्दसागर चौथो संस्करण २०६२ पृष्ठ५६४ )।यसरी यो टोपी शब्द टोपबाट नै आएको भन्न सकिन्छ।टोपलाई सम्मान र प्यारो बस्तुको रुपमा भन्दा टोपी भएको पनि हुन सक्छ।

नेपाली भाषामा शरिरका अंगहरु संग जोडिएर प्रयोग हुने थुप्रै बस्तुहरुलाई पनि त्यही अंगसँग जोडेर नामाकरण गरिएका उदाहरणहरु पाइन्छन।जस्तो औंलामा लगाउँनेलाई औंठी,कानमा लगाउनेलाई कुन्डल,घाँटी अथवा कण्ठमा लगाउनेलाई कण्ठी, नाकमा लगाउनेलाई,नत्थु ,नथिया आदि।यसलाई आधार मानेर अड्कल गर्ने हो भने टाउकामा लगाउने भएकोले हुनाले टोपी भनिएको हुन सक्छ।त्यस्तै हामीले प्रयोग गर्दै आएका मिल्दा शब्दहरु शिरमा लगाउने, शिरफुल, शिरबन्दी शिरपोस गलबन्दी आदिले पनि टाउकामा लगाउने टोपी नामको पुष्टी गर्दछन।

टोपी बिभिन्न आकार र प्रकारमा पाईन्छन।टोपीहरुलाई फरक फरक बनोट र बन्ने बस्तुको आधारमा फरक प्रकारका नामाकरण गरिएको पाइन्छ। १. कानेटोपी ,२. माक्कले टोपी, ३. बिर्के टोपी, ४. भादगाउँले टोपी, ५ .पाल्पाली ढाका टोपी , ६.तेह्रथुमे ढाकाटोपी, ७. छत्रे टोपी आदि।

१. कानेटोपीः
कानेटोपी प्रायश साना बालवालिकाहरुलाई लगाई दिने टोपी हो । कानलाई छोप्ने या ढाक्ने गरी बनाइएको हुनाले यसलाई काने टोपी भनिएको हो। वालवालिकाहरुलाई चिशोबाट बचाउनका लागि मात्र नभएर जाडोबाट बच्न सबै उमेर समुहका मानिसहरूले लगाउँदछन् ।यो टोपी बाक्लो र न्यानो कपडाबाट तयार गरिन्छ।उनबाट बनेको टोपीमा भित्रीहालेर दुई पत्रमा बनाइने हुनाले यो न्यानो हुन्छ।शहरबजारतीर शिशूहरुलाई ढाकाको कानेटोपी लगाइ दिएको पनि देखिन्छ भने गाउँमा अरुनै न्याना कपडाहरुबाट बनेका कानेटोपीहरु लगाएको पाइन्छ।केही बर्षदेखि ऊन (Wool) बाट बनेको काने टोपीको प्रयोग प्रौढहरुले पनि जाडो याममा गरेको पाइन्छ।टाउको देखि घाँटी र कान सम्म ढाक्ने र चिउँडोको तल दुई तर्फबाट झरेका तुना बाँधिन्छ । जसले गर्दा टोपी झर्न पाउँदैन भने हावा पनि टोपी भित्र छिर्न सक्दैन।

२. माक्कले टोपीः

यस टोपीलाई ढेडु टोपी पनि भनिन्छ।कति मानिसहरुले मङकीक्याप समेत भनेको सुनिन्छ।यसले टाउकाको पुरैभाग निधार ,कान देखि घाँटी सम्मको भाग ढाक्दछ।सबै तिर ढाकेर अगाडि मुख मात्रै देखिने भएको हुनाले यसलाइ माक्कले टोपी या ढेडुटोपी भनिएको हो।ढेडुको टाउकोको सबै भाग शरिर जस्तै कमेरे रंगको भए पनि मुख चाँही कालो हुन्छ।यो टोपी लगाए पछी ढेडुको टाउको जस्तै देखिने हुनाले ढेडुटोपी भनिएको हो।यसलाई ऊनबाट बनाइने भएको हुनाले धेरै तातो हुन्छ।जाडो महिनामा प्रायश प्रौढ पुरुस र महिलाहरुले समेत लगाउने गरेको पाइन्छ।यसलाई खराब नियत भएका मानिसहरुले समेत पहिचान लुकाएर अपराध गर्न प्रयोग गरेको भेटिन्छ।

३. बिर्केटोपी:
यो बिर्केटोपी वरिपरि एउटा घेरा भएको र घेरा माथि अर्को गोलाकार टुक्राले ढाकिएको हुन्छ।यसको विचभागमा एउटा डल्लो समेत हुन्छ।कुनै भाँडाहरुको विर्कोको आकारमा भएको हुनाले यसलाई बिर्केटोपी भनिएको हुन सक्दछ।यसलाई आदिकवि भानुभक्त आचार्य र यूवाकवि मोतिराम भट्टले लगाएको देखिन्छ। भारतको हिमान्चल र गडवाल तर्फ पनि यस्तै आकारको टोपी लगाएको पाइन्छ।यो बाक्लो ऊनी कपडाबाट तयार भएको पाइन्छ।तर हिमान्चल र गडवालमा प्रयोग हुने टोपीको बाहिरी मध्यभागमा डल्लो भने हुँदैन र यो हाम्रो बिर्के टोपी भन्दा अग्लो पनि हुन्छ।भक्ती थापा अमरसिंह थापाहरूले पनि टोपी लगाउँथे र उनीहरूले लगाएको टोपीमा टोपीको घेरा गाग्रो राख्ने विँडा जस्तो हुन्थ्यो । बिर्केटोपीलाई साहित्यकर्मीहरुले भानुजयन्ती र मोतिजयन्ती जस्ता समारोहहरुमा लगाएको देखिन्छ।

४. भादगाउँले टोपी:
भादगाउँ भक्तपुरको पुरानो नाउँ हो।यही भादगाउँमा बुनिने र तयार गरिने भएको हुनाले यो गाँउको नामबाट टोपीको नाम पनि भादगाउँले रहेको हो। दुईइन्च देखि चारइन्च सम्म टोपीको उचाइ हुन्छ।कालो गोलाकार माथि तीनकुने ढकनी लागाइ टोपी तयार गरिन्छ।यसलाई तयार गर्दा दह्रो बनोस भनेर सिलाई सके पछी माडमा पकार तयार गरिन्छ।गाढाकालो बनाउनका लागि बिशेस रंगको पनि प्रयोग गर्ने चलनछ।खास गरेर नेपाली सेना प्रहरी र सरकारी कर्मचारीहरुले राष्ट्रपोशाकमा भादगाउँले टोपी लगाउने प्रचलन छ।राष्ट्रवादी राजा महेन्द्रले कार्यालयमा अनिवार्य राष्ट्रपोशाकको प्रचलन शुरुगरे पछी यसको प्रयोगले व्यापकता पाएको देखिन्छ।

५. पाल्पाली ढाका टोपीः
पाल्पामा बुनिएको ढाकाबाट तयार गरिएको टोपीभएको हुनाले पाल्पाली ढाका टोपी नामाकरण भएको हो।तीन चार इन्च जति गोलो बनाइ सिलाइएको ढाकामाथि तीनकुने आकारको अर्को टुक्रा राखी यो टोपी तयार गरीन्छ । यो टोपीलाई सम्म भाग भएको टेवलमाथि राखेर हेर्नु होस । यसले हिमालका चुचुराहरु र पहाडका टाकुराहरुको आकार ग्रहण गर्दछ।भित्रि सादा कपडा र बाहिर बिभिन्न बुट्टा भएको पाल्पामा बुन्न शुरुवात भएको कपडाबाट तयार भएको हुनाले पाल्पाली ढकाटोपी भनिएको हो।यसको रोचक कथा छ । श्री तीन महाराज जंगबहादुर राणाकी डम्वरकुमारी नाम भएकी बहिनी थिइन।उनी पनि जंगबहादुर जस्तैं जिद्द्धी श्वभावकी थिइन।दाजु बहिनीको श्वभावकाकारण मनमुटाव भयो।उनी दरवारबाट निस्किएर हिँडिन।यसैक्रममा उनी हाल बंगलादेशको राजधानी ढाका पुगिन।त्यसताका ढाकामा कपडा बन्ने प्रविधि बनी सकेको थियो।केही समयको बसाई पछी डम्बरकुमारी नेपाल फर्किन।उनका साथमा कपडा बुन्ने छापा हान्ने रंगाउने जस्ता प्राविधिक पनि ल्याएकी थिइन।उनीहरूले कपडा बुन्ने त्यसलाई बिभिन्न छापाका बुट्टा हान्ने काम शुरू गरे।त्यसमा नेपाली प्रकारका बुट्टाको डिजायन पनि गर्न लगाइन।त्यो भन्दा पहिलै देखि नेपालमा टोपी लगाउने प्रचन थियो । र डम्बरकुमारीले नयाँ प्रकारको टोपी बनाउन लगाईन।त्यो टोपी दाजु श्री ३ महाराजलाई बोलाएर लगाई दिइन।त्यस पछी दाजु बहिनीको पनि सुमधुर सम्बन्ध कायम भयो । ढाकाबाट ल्याएको प्रविधि भएकोले ढाका टोपी भन्न शुरू गरियो।डम्बरकुमारी ढाका भने पछी पाल्पामा प्रख्यात थियो । यधपी पाल्पाका बुढापाकाहरू डम्मबरकुमारी ढाका भन्ने गर्छन । त्यसबेला देखि नै पाल्पामा मुसलमान समुदायको बशोवास शुरू भयो । क्रमश पाल्पा बुटवल पोखरा तनहु र अन्य पहाडी मुलुकमा फैलिएका हु।

६. तेह्रथुमे ढाका टोपीः
भारतमा अंग्रेजलहरुले शासन गरेको समयमा नेपाल प्रति पनि अंग्रेजको गिद्धे दृष्ट्री पर्यो।फलस्वरुप नालापानी, किल्ला र काङगडाका युद्धहरु भए। बहादुर गोरखालीहरुको नाङ्गो खुँडा ,खुकुरी ,तरवार र भाला, धनुकाँड ,घुँयत्रो बोक्नेहरु सँग ,अंग्रेजका बन्दुक र तोपले हारखानु पर्यो।यसरी नेपालीहरुको विरता र शाहस सँग अंग्रेज परिचित भयो । त्यस बेलादेखिनै नेपालीहरुलाई भारतिय सेनामा भर्ना गर्ने र नेपालीहरुको शाहस र बहादुरीलाई उपयोग गर्ने अंग्रेजले नीतिलियो।पूर्वि नेपालका बिभिन्न ठाउँहरुबाट अंग्रेजका सेनामा नेपाली यूवाहरु भर्ना भए । कालान्तरमा भारतमा अंग्रेज बिरोधी युद्ध बढ्दै गयो।माहात्मा गान्धिले चर्खा आन्दोलन चलाए।घर घरमा चर्खा चलाएर धागो बाट्ने अनि खादी कपडा बुन्ने अभियान चलाए । यसैको प्रभाबबाट तीनै लाहुरेहरु मार्फत नेपालमा पनि चर्खा ऐंटो र कपास खेतीले प्रवेश पायो।ती लाहुरेहरुबाट भित्र्याइएको कपास खेती निकै लोक पृय हुँदै तेह्रथुम ताप्लेजुङ पाँचथर इलाम संखुवासभा भोजभुर जस्ता पहाडि जिल्लामा फैलियो।तेह्रथुम जील्लामा बहुसंख्यक रुपमा लिम्बुजातीको बसोवास रहेको छ।ती जातिबाट कपास खेती गर्ने।कपासलाइ टिप्ने ऐंटिने। चर्खाको प्रयोगबाट प्यूरी र धागो बनाउने र खाँडी कपडा बुन्नेकामको शुरुवात भयो । राजा महेन्द्रको शासनकालमा दौरासुरुवाल र टोपीलाई कर्मचारीहरुमा तथा सांसदहरुला अनिवार्य राष्ट्रपोशाकको रुपमा लागू गरियो।यस समय सम्म कमरुपमा मात्रै उत्पादन हुने गरेको तेह्रथुमे ढाका टोपीले व्यापकता पायो। आसपासका भेगमा पनि यसको प्रभाव पर्यो।खाँडी कपडाका दौरासुरुवाल र ढाका टोपीको अत्यधिक माग हुन थाल्यो।सरकारी प्रयोजनमा प्रयोग हुने फोटोमा अनिवार्य टोपीको व्यबस्ता भयो । चाड पर्व जस्तो दसैं तिहारमा टोपीको उपहार दिने चलन शुरुभयो । तेह्रथुमे ढाका टोपी चार देखि छ इन्च उचाइ सम्मको पाइन्छ। बिभिन्न रंग र आकारका बुट्टा राखेर हातले टोपी बुनिन्छ।यसको आकार पनि पाल्पाली ढाका टोपीको जस्तै हिमालका चुचुरा र पहाडका टाकुराहरुलाई बिम्वित गर्दछ।

७. छत्रे टोपीः
यो टोपी छाताका रुपमा टाउकाको वरिपरि रहेर पानी र घामबाट जोगाउन प्रयोग गरिन्छ।खेतबारीमा काम गर्दा हातले समाती रहनु नपरोस भनेर दुई तर्फ डोरी निकाली चिंउडोमुनी बाँध्ने गरिन्छ।यो छत्रेटोपी पाट पात र चोयाहरुबाट बनाइने गरिन्छ।हाल यसलाई कपडाबाट बनाउने गरिन्छ।यो छाता जस्तै वरीपरि हुने टोपी हुनाले छत्रे टोपी भनिएको हो।

हुन त गाउँ घरहरुमा सबैले ढाका टोपी र भादगाउँले टोपी लगाउन सक्ने स्थिति अझै भएको छैन । तर अरु नै कपडाबाट टोपीहरु सिलाएर लगाएकै हुन्छन।ती टोपीहरु राता पँहेला काला धर्के बुट्टे आदि बिभिन्न रंगका हुन्छन्।आफन्तको वियोगमा बर्ष दिन सम्म सेतो टोपीलगाएर दुख प्रकट गर्ने प्रचलन अझै कायम छ।

टोपीको महत्वः
नेपालीहरुका लागि टोपीले विशिष्ट स्थान लिएको छ।परंपरालाई हेर्ने हो भने टोपी नलगाएको मानिस भनेको कुनै मातृ या पितृ शोकमा परेको मानिस भनेर बुझ्ने चलन थियो । मातापिताको वियोगमा कपाल खौरिएर तेह्रदिन सम्म काजक्रिया गर्ने र बर्ष दिन सम्म शोक बार्ने चलन यधपी छ।काचक्रिया गरेको समयमा सेतो कपडालेमात्र टाउको ढाक्ने चलन छ।यसरी आफ्ना श्रद्धेय र पृयहरुको सम्मान र दुख व्यक्त गर्ने प्रतिक टोपी हो।राजा महाराजाहरुको शोकमा पनि कपाल खौरने र टोपी झिक्ने प्रचलन थियो।कोही मानिसका आफन्त रहेनछन् र मृत्यु भयो भने बिचराको टोपी झिक्ने कोही रहेनछन् भन्ने चलन छ । पंचायतकालमा सिंहदरवार भित्र प्रवेश गर्न टोपी अनिवार्य थियो।नेपाली नागरिकता पासपोर्ट परिचय पत्रहरुमा टोपी अनिवार्य छ।

टोपीले नेपालको प्राकृतिक बनोटलाई बिम्वित गर्दछ।टोपीले हिमालका चुचुराहरु त्यस्तै गरी पहाडका टाकुराहरुको आकार दर्शाउँछ।निधारमाथि बस्ने टोपीले हिमाल र पहाडलाई बुझाउँछ भने निधारले तराईको समथर भूभागलाई दर्शाउँछ । यो भूगोलको उच्च हिमालको प्रतिक हो हाम्रो टोपी।राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले भनेझैं चार जात र छतिस बर्णको फूलवारी नेपाल हो भने टोपी सबै फूलहरुलाई एउटै मालामा गुथ्न सफल धागो हो।के जात ,धर्म, सम्प्रदाय टोपी सबैको पृयहो।टोपी नेपालीको गौरब हो शान हो।एकताको प्रतिक हो टोपी।साँस्कृतिक सम्पदाहो टोपी । सन्सारको जुन सुकै ठाउँमा रहेका नेपालीहरु बिचको आत्मियभाव हो टोपी।दशैंको टिकाथाप्न र आशिर्वाद लिन टोपी अपरिहार्य छ।टिका लगाइ सके पछी कानमाथि जमरा सिउरने हो टोपी।मन्दिरलाई गजुरले शोभायमान बनाए झै मानिसको व्यक्तित्व टोपीले बढाउँछ।

नेपालमा गणतन्त्र र लोकतन्त्रको आगमन सँगै नेपालीहरुमा राष्ट्र राष्ट्रियता प्रतिको अगाध स्नेह र सम्मान बढेर गएको छ।अब त के नारी के पुरुष सबैले नेपाली टोपीलाई पहिचानको प्रतिक बनाएका छन।सगरमाथाको प्रतिकका रुपमा नेपाली टोपीलगाउन शुरु गरिसकेका छन्।२०१४ मा भएको विनाशकारी भूकम्प र २०१५ मा भएको भारतिय नाकाबन्दीले नेपालीहरुलाई फेरि एकहुन प्रेरित गरेको छ।आफ्नो अस्तित्व र पहिचानका लागि अरुले हैन आफैलाग्नु पर्दछ।आफैं जाग्नु पर्छ भन्ने भावना विकाश गराएकोछ।चार्लस डार्विनले भनेझै अस्तित्व र पहिचान जोगाइ राख्नका लागि संघर्ष गर्नु पर्दछ।जसले सक्दैन त्यो लोप भएर जान्छ। यो कुरा सबै नेपालीहरुले मनन गरी सकेका छन।मुलुकमा विपति पर्दा संसार भरीका नेपालीहरुलाई पिडा हुन्छ।सहयोगाका हात र भावनाहरु लिएर गाउँ गाउँमा पुग्छन्।परदेशमा पनि कुनै विपति पर्यो भने सबै सहयोगी मनहरु त्यहाँ पुग्न थालिसकेका छन।

टोपी दिवशको थालनी भएको करिब एक दशक पुग्न तर्खर हुँदै गर्दा सन्सार भरी टोपी दिवस मनाउन थालिएको छ । एकै दिन विश्वनै नेपाली टोपीमय बन्न थालेको छ।यसले नेपाली नेपाली विचमा आत्मियता मातृभूमि प्रतिको दायित्वबोध मात्रै गराएको छैन।नेपाल र नेपालीको पहिचान सँगै सभ्यता र संस्कृतिलाई विश्वव्यापी बनाउँदै लगेको छ।अब नेपाल सरकारले राष्ट्रपोशाक दिवसको दिन घोषणा गरोस।र सन्सार भरी रहेका नेपालीहरुलाई एकतामा जोड्ने काम गरोस ।संसार भर रहनु हुने नेपालीहरुले जनवरी एकलाई भव्यरुपमा नेपाली टोपी दिवसका रुपमा मनाउन हुनेछ।हामीले प्लेकार्डहरुमा नाराहरुलाई लेखेर हाम्रो भावनालाई प्रस्तुत गर्न सक्दछौ।

एउटा गजल प्रस्तुत गरेँ

तराईको कुर्ता धोती बख्खु हिमालको, दौरासुराल गुन्यूचोली पहिचान नेपालको
चौडा निधार तराईभो पहाड हो शीर, ताज जस्तै हिमालटोपी शान नेपालको

मेचीकाली छरिएर बहुभाषाभाषी, संस्कृति र सम्पदाका भण्डार जोगाई राखी
च्याभ्रुङ, डम्फु, ढोलक अनि मुर्चुङ्गा,बिनायो , नौमती र धिमेबाजा अभिमन नेपालको

हाक्पारे र सेलो, पालम, भाका सोरोठी, थारू झ्याउरे डेउडा अनि रम्ने दोहोरी
संस्कृति र सम्पदाले धनी देश हाम्रो, हजार फूल माला एउटै मान नेपालको

बालन, भजन, संगिनी, चण्डि धान नाच, झागड थारू मगर गरूङ थकाली एकसाथ
बुद्ध भूमि देव भूमी संसारकै शीर, चारै तर्फ फैलि रहोस ज्ञान नेपालको

टोपी हाम्रो शान हो । टोपी नेपालीहरूको पहिचान हो।सगरमाथा र हिमालहरूको प्रतिक हो । सगरमाथा हाम्रो पहिचान हो । टोपी लगाऔ राष्ट्र प्रति सम्मान जनाऔ।हाम्रो शान हाम्रो मान नेपाली टोपी हाम्रो पहिचान।राष्ट्रिय पोशाक लगाऔ नेपाली राष्ट्रियता जोगाऔ।सबैले नेपाल सरकार सम्म आवाज पुर्याएर जनवरी एकलाई नेपाली राष्ट्रपोशाकका रूपमा घोषणा गर्न आवाज उठाऔँ।

जनवरी १,२०२२ को टोपी दिबशले सन्सार भरका नेपालीहरुलाई मन बचन र कर्मले एकता गराओस ।सन्सारबाट कोरोना हटेर त्रास मुक्त र रोगमुक्त बनावस। सुख शान्ति र संबृध्दीले सबै नेपालीहरुलाई पूर्ण गरावस भन्ने हार्दिक शुभकामना चढाउँछु।

 

प्रतिक्रिया