बाघमारा

यज्ञप्रसाद पाण्डे २०७८ पुष १७ गते १८:५१ मा प्रकाशित

प्रायः दिनको मध्यान्न घर्केपछि झोला र बन्दुक भिरेर जंगल पस्नु र साँझ छिप्पिएपछि जंगलबाट फर्कनु उसको दिनचर्या भएको छ।उ जंगलबाट फर्केपछि हरेक साँझ स्थानीय होटलमा छिर्छ र सिंगै एक बोतल ह्विस्किसँग थरिथरीका मासु आदिका परिकार खाएर खुट्टा लरबराउँदै राति अबेर घर फर्कन्छ।उ मिजासिलो छ सबैसँग नरम बोली बोल्छ।उ शिकार खेलेर कति बेला फर्कन्छ,के–केको शिकार गर्छ,गरेको शिकार कहाँ पुर्याउँछ त्यहाँका बासिन्दाहरूलाई चियोचासो छैन।चोरी शिकारको क्रममा उ पटक–पटक पक्राउ पनि परेको छ।तर,उ बढीमा एक साता हिरासतमा बसेर घर फर्कन्छ।हिरासतबाट छुट्नका लागि उसले केही गर्नुपर्दैन कुनै अदृश्य हातले उसको तमाम काम फत्ते गरिदिन्छ।हिरासतमा बस्दा उसले ससुरालीमा झैं खान पाउँछ।उसको एक पैसा खर्च हुँदैन।

बाघमारा बजार र यो वरपरका प्रायः सबै बासिन्दाले चिन्ने नाम हो,करबीरे शिकारी।शिकारी उसको वंशाणुगत थर भने होइन,पेसाले पाएको।शिकारी पेसाबाट भएको राम्रो आम्दानीका कारण करबीरेको जीवनस्तर लाोभलाग्दो छ।घरपरिवारमा सुखशान्ति छ,बालबच्चाहरूको शिक्षादीक्षा राम्रैसँग चलेको छ।

सधैंभन्दा धेरै ढिलोआज पश्चिमबाट घाम डुब्न झन्डै दुई जुवा बाँकी रहँदा पछाडि झोला र बन्दुक भिरेर करबीरे शिकारका लागि जंगल पस्यो।जंगलको बीचमा पसेपछि दिनभर चरेर अघाई नदीको पानी पिएर आफ्नो वासस्थानतर्फ फर्कंदै गरेका एक हुल मृग उसको आँखा सामुन्ने पर्छन्।उ बन्दुक निकाल्छ र मृगको पछाडि दौडन्छ।मृगहरू भाग्न थाल्छन् र उ पिछा गर्छ।यसरी पिछा गर्न थालेको एक डेढ घण्टा भयो तर मृग भेटिँदैन उ थकित छ पानी प्यासले ब्यग्र छ,उ पानीको प्यास मेटाउन नदीतर्फ लाग्छ।झण्डै आधी घण्टा हिँडेपछि उसले नदी भेट्छ र धित मर्ने गरी नदीको पानी पिउँछ।पश्चिमको आकाशतर्फ हेर्छ घाम डुबिसकेको देख्छ उसले।उ घरबराउँछ र मनमनै भन्छ अब म घर फर्कनै पर्छ । मृग शिकारको दौडमा उ जंगलको धेरैभित्र छिरेको छ।फर्कने बाटोको हेक्का छैन।अन्य समयविपरीत हातमा शिकार बिना घर फर्कन परेकोमा उ खिन्न छ।

जंगलभित्र केही हिँडिसकेपछि चराचुरुङीहरूको चाई चुई सुनिन छोड्यो, झ्याउकिरी कराउन थाले झमक्कै रात पर्यो,बाटो नदेखिने भयो।जुनकिरीहरू नाच्न थाले।उसले पछाडि भिरेको झोलाबाट टर्चलाइट निकाल्यो त्यसको बटन दबायो,टर्चलाइट एक पटक झिलिक्क बल्यो अनि बन्द भयो फेरि बल्दै बलेन, बल्भ जले छ।उ हैरान भयो,अतालिँदै एक्लै चिच्यायो।तर,उसको अगाडि उपाय छैन।रातको अँध्यारो घनघोर बन्दै गयो उ नजिकै रहेको सालको रुखमुनिका स–साना छेस्का र दाउराहरू हातले छाम्दै पन्छाउँछ।सालको सुकेका पातहरू जम्मा गर्छ र त्यसको ओछ्यान बनाउँछ।सिरानीका लागि बन्दुक भुइँमा तेर्स्यौउँछ।त्यसमाथि झोला राख्छ।त्यसैको सिरानी पारेर थकित र निराश हुँदै पल्टिन्छ।उ डराउँछ ‘ के थाहा रातमा बाघ भालु आएर मार्ने पो हो कि ?’ शिरको टोपी झिकेर मुख छोप्छ।उ झपक्कै निदाउँछ।

नभन्दै एकै छिनमा त्यहाँ अजंगको पाटेबाघ आएर उसको अगाडि ठिंग उभियो र उसलाई एकटकले नियाल्यो।करबीरेको होस हवास उड्यो।उसको श्वासको गति बड्न थाल्यो,ओठमुख सुक्यो, तालुबाट पसिना बग्न थाल्यो।तर,बाघ अझै आक्रोशित देखिँदैन् सालिन छ।करबीरेमा केही आशा पलायो,आश्चर्यको कुरा बाघ बोल्न पो थाल्यो,‘लौ भन मनुवा आज हाम्रो बासस्थानमा किन आइस’करबीरे दुविधामा पर्यो।“सत्य बोलु कि झुट,सत्य भनु भने उसकै सन्तान वा इस्टमित्रको शिकार गर्न आएको मारी हाल्छ,झुट बोलौं भने यो संकटको घडीमा कुन झुट बोल्ने,झुट बोल्न त्यसलाई प्रमाणित गर्न त समय चाहिन्छ,खै मसँग समय।भईगो झुट प्रमाणित गर्र्न नसकेर मारिनुभन्दा बरु सत्य बोल्छु सत्य बोलेर इमान्दार भएकोमा सके त यसले क्षमा देला’ उसले सोच्यो –‘सिंह जंगलको राजा भन्छन्।

यो जंगलमा एउटा पनि सिंह बाँकी छैन।सिंह पछिको भाइ यही त हो त्यसैले जङगलको राजा यही हो ।’करबीरेले दुवै हात जोड्यो अनि बिन्ती बिसायो “सरकार हजुर त जङगलको राजा होइसिन्छ म एक शब्द पनि नढाटि बिन्ती बिसाउँछु है त।’बाघले भन्यो,‘हामी झुट पनि बोल्दै नौ र सुन्न पनि चाहँदैनौ’उ आफू शिकारका लागि आएको र यसअघि के के भयो र कसरी उ जंगलमा बास बस्न पुग्यो भन्ने सबै कहानी सुनायो।

बाघले सोध्यो–‘ तिमीहरू हाम्रो जातिको शिकार गर्छौ भने के तिमीहरू हाम्रो मासु खान्छौ।’करबीरेले उत्तर दियो।‘होइन सरकार हड्डी र छालाको चोरी व्यापार।’बाघले फेरि सोध्यो–‘किन कसरी ?’करबीरेले भन्यो,‘छाला सम्पन्न परिवारको भित्ता र भुइँमा सजाउन र हड्डीको धुलो यौन प्रवद्र्धनात्मक बहुमूल्य टोनिकको रूपमा बेच्न।’यो उत्तर आएपछि बाघ गर्जियो।‘हाम्रो हड्डीको धुलो यौन क्रियाकलापका लागि बहुमूल्य टोनिकको रूपमा बेच्ने ? तिमी मनुवाहरूको स्वइच्छाचारी यौन क्रियाकलापको कारणले यस धरतीमा तिमीहरूको जनसंख्या सात अर्ब नाघिसक्यो भन्ने सुनेको छु।अझै पनि हाम्रो हड्डीको धुलो खाइखाई त्यसलाई बढाउनु पर्ने ?’ बाघ एकछिन रोकिन्छ अनि फेरि गर्जिन्छ।‘हाम्रो बासस्थान मासेर सडक बनायौ, खेत बनायौ,बस्ती बसायौ अझै पुगेन ? के यो धरती तिमी स्वार्थी मनुवाहरूका लागि मात्र हो ?’ करबीरेले बाघको गर्जनलाई शान्त पार्न थप चाकडी गर्ने चेस्टा गर्यो।‘हो सरकार हजुरका बाणीहरू शाश्वत छन्।म वन्यजन्तु चोरी शिकार श्रृंखलाको अग्रपंत्तिको एउटा सानो सिपाही पात्र हुुँ अरूले लाए अराएबमोजिम गर्ने।तर,म खुदलाई त्यसको अध्धोपान्त थाहा छैन।’ बाघ अलि शान्त भयो र फेरि सोध्यो,‘अनि भन् हाम्रो हड्डी र छाला कहाँ–कहाँ कसरी पुर्याउँछस्’‘सरकार म त एउटा सिकारी हुँ।प्राय मैले गरेको शिकार पुर्याउन मलाई ठाउँ दिइएको छ,म त्यहाँ पुग्छु एक हातले शिकार दिन्छु अर्को हातले त्यसको मूल्य लिन्छु।यसपछि मैले बेचेको शिकार कताकता लगिन्छ कसरी कतिमा बेचिन्छ मलाई थाहा छैन।’बाघ अलि उत्सुक मुद्रामा आएको पाएर उसको मन जित्न उसले बिगतमा भोगेको बाघको हड्डी काण्डका पोल खोल्ने विचार गर्यो।‘यस बाहेक मैले भोगेको केही वर्षअघिको एउटा रहस्यमय घटनाका बारेमा सरकारलाई सुन्न इच्छा छ भने म बिन्ती चढाउँछु सरकार’बाघले सो सुनाउन टाउको हल्लाएर सहमति दियो।‘सरकार धैरै वर्षअघि हामीकहाँ प्राप्त भएको एकबोरा बाघको हड्डीलाई उत्तरतर्फका हिमाल कटाएर बाहिर पठाउनु पर्ने रहेछ त्यसको सीमावारी ढुवानीको जिम्मा मलाई दिइएको थियो।ती हड्डीहरूलाई स–साना टुक्रामा काटेर अन्य सामानको पुलिन्दा जस्तो बनाएर हुलाकमार्फत गन्तब्यतर्फ पठाइएको थियो।खै कता के कुरा रड्कियो हिमाल कटाउन नपाउँदै ढुवानीकै क्रममा पुलिस प्रशासनले पूरै सामान बरामद गर्यो।अनि हामीलाई पक्डिएर हिरासतमा लगियो।तर,सरकार पुलिन्दा बरामद गरेको दुई दिनमा नै त्यसलाई सार्वजानिक मुचुल्का उठाइ मानिसहरूको अगाडि आगोमा जलाएर नष्ट गर्ने काम भयो।हामी हिरासतबाट छुट्यौ हिमाल कटाएर पठाउन ढुवानी गरिएको हड्डीको पुलिन्दाहरु भने सही गन्तव्यमा पुर्याई छाडेछन् बाघले झर्किएर सोध्यो,‘कुरा बुझिन्’‘सही हो सरकार यसभित्र अर्को प्रपन्च छिपेको त्यसैले सरकारले बुझिसेन।वास्तबमा सार्वजनिक रूपमा मुचुल्का गरेर जलाइएको ती हड्डीहरू बाघको नभई वरिपरिको खोला खोल्सी र भीरमा रातारात सिपाही खटाएर जम्मा पारिएको मरेका कुकुर,घोडा, गधा आदिका थिए।बाघको सक्कली हड्डी त बरामद भएकै पर्सिपल्ट सीमा कटाइएको थियो।ती बिचरा सर्वसाधारणलाई के थाहा दनदनी आगोमा पोलिएको हड्डीहरू मरेका कुकुर घोडा गधा आदिको थियो भनेर पुलिस प्रशासनको बिश्वासमा परेर बरामद गरिएको बाघको हड्डी जलाइयो भन्ने मुचुल्कामा सहीछाप गरिदिए ।’‘त्यसो भए हाम्रो जातिको चोरी सिकारी र ढुवानीका लागि शिकारी,पुलिस र प्रशासन एउटै मञ्चमा ?’बाघले प्रश्न गर्यो।‘हो,सरकार तर यतिमात्र होइन चोरी सिकार र सोको ढुवानी गर्ने बेला उनीहरू मलाई भन्दथे डर त्रास केही नमानी काम धन्दा गर्नु माथि टुप्पोसम्म हाम्रो पहुँच छ भनेर।’

करबीरेको बयान सिद्धियो बाघले केही बोलेन बरु चुपचाप थचक्क भुइँमा बसेर करबीरेलाई एकटकले हेरिरह्यो।यसैबीच कताबाट त्यहाँ एक भालु आइपुग्यो र बाघलाई अभिवादन गर्यो।त्यसपछि भालुले करबीरेलाई देख्यो अनि आक्रोशित भएर दुवै पन्जा उठाएर झम्टिन लाग्यो।बाघले भालुको पंजा समाएर रोक्यो अनि सोध्यो किन,भालुले भन्यो,‘सरकार एक साता अघिमात्र मेरो कान्छो बालाई गोली हानेर मारेर घिसार्दै लगेको यसले’बाघले भालुलाई शान्त रहन इशारा गर्यो अनि करबीरेलाई सोध्यो।‘तिमीहरू भालुको सिकार किन गर्छौ’ करबीरेले झटपट जबाफ दियो ‘सरकार बहुमूल्य पित्त’ फेरि कताबाट बाँदरको ढेडु पनि त्यहाँ आइपुग्यो । ढेडलेु बाघ र भालुलाई पालैपालो अभिवादन गर्यो अनि करबीरेलाई त्यहाँ देखेर फोहोरी नजरले क्वारक्वारती हेर्यो।त्यो देखेर बाघले ढेडुलाई सोध्यो–‘के भयो किन हेरेको यसलाई ढेडु ? ढेडु भन्छ–सरकार यिनीहरू आजकल हाम्रो जातिको पनि सिकार गर्न पल्केका छन्।बाघले करबीरेतर्फ हेर्यो अनि सोध्यो हो ? सरकार हो,जब जंगलमा बहुमूल्य सिकार भेटिदैन र खाली हात घर फर्कनुपर्छ भने त्यतिबेला खाली हात फर्कनुभन्दा बाँदरको भए पनि सिकार गर्न मन लाग्छ।फेरि बाँदरको सिकार लिएर बाहिर धाइरहनु पर्दैन।राजमार्गका छेउछाउमा चिल्ला गाडीमा सबार यात्रीहरूलाई स्वच्छ ताजा खाना खुवाउन खुलेका रिसोर्ट,रेष्टुराँसँग हाम्रो सम्बन्ध छ।उनीहरू बाँदरको मासुलाई घोरलको मासु बनाएर बेच्छन्।ती पारखी यात्रीहरू मासु भात टन्न खाएर मिठो खाना खुवाउनु भयो अर्को पटक आउँदा पनि यस्तै है भन्दै सिन्काले दाँतमा अड्केको बाँदरको मासु कोट्याउँदै जान्छन्।करबीरेको कुरा बुझेर बाघ पनि मुस्कुरायो र एक छिन मौन रह्यो।

बाघ मुस्कुराएको देखेर करबीरेले सोच्यो मेरो चाकडीले काम गरिरहेको छ।तर, त्यसो होइन रहेछ।त्यसको एकै छिन पछि बाघले करबीरेलाई बिस्तारै समाएर आफ्नो पोल्टामा राख्यो।करबीरेको मनमा कुरा खेल्छ,यी मुला भालु र ढेडुलाई किन झुल्किन परेको यतिबेला यी दुई कुरौटेहरूले मेरो छवि झन बिगारी दिए । मेरो दुर्भाग्य।करबीरेले सोच्यो आफ्नो जीवनको आखिरी पल आइपुग्यो। नभन्दै बाघले बिस्तारै आफ्नो पन्जा करबीरेको शिरमा राखेर मुसार्न थाल्यो।उसले सोच्यो,‘मेरो शिर छामेको छ अब सुरुमा नै यसले मेरो कान गिदी जिब्रोबाट आफ्नो शिकार सुरु गर्ने भयो।’करबीरेले आफ्नो हिजोसम्म हरेक साँझको मस्ती सम्झियो।आफूलाई खसी–बोकाको कान गिदी जिब्रो तारेर ह्विस्किको चुस्की मार्दै गर्दा कति मिठो लाग्थ्यो त्यस्तै यसले पनि मेरो कान गिदीबाट शिकारको सुरुवात गर्ने भयो।तर,एकैछिनमा बाघले आफ्नो पन्जा करबीरेको शिरबाट हटाएर विस्तारै उसको छात्तीमा पु¥यायो अनि अडियो। करबीरेले सोच्यो–‘ह्विस्किसँग मासुका परिकारहरू कति थरिका हुन्थे भित्रियास भनेर खसीको मुटु कलेजो फोक्सो खादा कति स्वाद लाग्थ्यो।यसले पनि मेरो मुटु कलेजो फोक्सो निकाल्ने भयो।मेरै आँखा अगाडि स्वाद मानिमानी खाने भयो ।’फेरि पनि बाघले उसका पन्जाछातीबाट बिस्तारै घिसार्दै करबीरेको यौनाङ्गमा पु¥यायो र टक्क रोकियो।होइन अब यसले मेरो बध मेरो पुरुषत्वबाट पो सुरु गर्ने भएछ।करवीरेले फेरि होटलमा स्वाद लिँदै आफूले खाने गरेको बोकाको राजखानीको स्वाद सम्झिन पुग्यो र भन्यो–यसले मेरो योनांग पहिले सिध्याएर घायल बनाउँदै मुटु,कलेजो खाँदेै अन्त्यमा कान,गिदी र जिब्रोमा पुग्ने भो र मलाई तड्पाई–तड्पाई मार्ने भयो।

यसैबीच बाघले उस्को यौनाङ्गका तीन थान पोटिला–पोटिला भागहरूलाई आफ्नो पन्जामाथि राख्यो र एकटकले हेरिरह्यो।बाघले फेरि आफ्नो लामो जिब्रो निकाल्यो र आफ्नो नाकको दुवै प्वाल चाट्न थाल्यो।करबीरेले निक्र्योल गर्यो उसको जीवनको आखिरी घडी यही हो।उ बेस्सरी अत्तालियो र बाघसँग क्षमायाचनाको अन्तिम प्रयास गर्ने जमर्काे गर्दै जोडले चिच्यायो ‘सरकार क्षमा पाऊँ’ यससँगै करबीरे रातभरको गहिरो निन्द्राबाट झल्यास्ँस बिउँझियो।उज्यालो हुन थालिसकेको रहेछ।झ्याउकिरीको झ्याउझ्याउ बन्द भइसकेछ।चराहरू आ–आफ्नो गुड छोडेर चर्न जान लागेको चिरबिरे आवाज आउन थाल्यो।करबीरेले आफू शिथिल अवस्थामा भएको पायो।पसिनाले लगाएको आफ्नो लुगा कपडा पूरै भिजेका रहेछन्।तथापि त्यो एकैछिन अघिको भयावह दृश्य यथार्थ नभएर सपना भएकोमा उसलाई ठूलो राहतको महसुस भयो।

त्यसपछि उ आफ्नो झोला र बन्दुक समाएर लुरुलुरु घर फर्कियो।बाटोभर उसको मनमा तर्क बितर्क आइरहे।‘के थाहा आजको यो कहाली लाग्दो सपना एक दिन बिपनाको नियति हुने छैन भनेर।झरी,बादल,ठण्डी र गर्मी सबै महिना सबै मौसम मेरो बास जंगलमा छ ढेडु देखि बाघ सम्मलाई आफ्नै कर्मले दुश्मन बनाएको छु।आजको यो मेरो सपना सपना होइन जीवनमा प्राप्त ठूलो शिक्षा हो यसबाट पनि शिक्षा नलिने र पाठ नसिक्ने हो भने मेलै एक दिन त्यो सपनाको भयावह अवस्थाबाट गुज्रनै पर्नेछ।’यसैबीच उसले दृढ निर्णय गर्यो।‘अबदेखि म मेरो जीवनमा कहिल्यै शिकार गर्ने छैन।’

करबीरेले शिकारबाट संन्यास लिएको कुरा बजार र वरपर सनसनिपूर्ण रूपमा फैलियो।प्रायः सबै स्थानीय मिडियाहरूले उसको संन्यासलाई प्राथमिकताका साथ प्रसारित गरे।वर्षौंदेखि गर्दै आएको सानदार आम्दानी हुने पेसा उसले चटक्कै छाडिदियो।

करबीरेले शिकारबाट संन्यास लिएको कुरा बजारमा आएको ठीक दुई हप्ता पछाडि पुलिसले खचाखच भरिएको एउटा भ्यान आएर करबीरेको घर अगाडि टक्क रोकियो र केही क्षणमा पुलिसले करबीरेलाई पक्डिएर हतकडी लगायो।एकै छिनमा बाघमारा बजारका बासिन्दाहरू त्यहाँ जम्मा भए अनि त्यो दृश्य देखेर त्रसित हुंदै दंग परे।भीडबाट एक पाका व्यक्तिले आँट गरेर पुलिसका कमान्डरलाई सोधे–‘किन त हजुर करबीरेले त शिकारबाट संन्यास लिई सक्यो त।’पुलिस कमान्डरले जवाफ दियो–‘उसको पहिलेदेखि मुल्तबी रहेको एउटा मुद्दा बल्झिएको छ माथिको आदेशले।सायद यसपटक उ जेल जान्छ होला।’

कमान्डरको कुरा सुनेर यस अघिका दिनहरूमा पक्राउ परेको हप्तादिन भित्रै छुट्ने करबीरे यसपटक चाहिँ जेल पर्दैछ भन्ने सुनेर दंग पर्न थाले।उनीहरूले करबीरेको अनुहार नियाले तर उसमा डर,संकोच र छटपटीको भाव रत्तिभर देखेनन्।उसको मुहार हेर्दा यस्तो लाग्थ्यो विगतमा आफूले गरेको गलत कार्यको मूल्य एक दिन तिर्नै पर्ने थियो त्यही चुक्ता गर्न गइरहेको छु भनिरहेको थियो।करबीरेलाई लिएर पुलिसको भ्यान अघि बढ्यो भेला भएका सबै मानिसहरूले पर देखिन्जेलसम्म पुलिसको भ्यान हेरिरहे।

 

यज्ञप्रसाद पाण्डे
सिरानचोक गाउ पालिका ७,गोरखा
हाल संयुक्त राज्य अमेरिका

प्रतिक्रिया