कलिलो बिरुवाले भर्खर दुई मुना जन्माएका थिए।हेर्दैमा विरुवा लहलहाउँदो थियो।सबैलाई प्रिय लाग्ने हरियोपना थियो।धेरैलाई उसले सहयोग गरेको थियो र जतिलाई सहयोग गरेको थियो त्यसभन्दा बढी उसले माया पाएको थियो।यसैले उसको हृदयमा घमन्डको बिजारोपण गरिदिएको थियो।
महामारी फैलियो।चारैतिर सन्त्रास थियो।उसले आफ्नो महत्व घमन्डमा बुझ्यो।मलाई केही हुनै सक्दैन।यदि भयो भने म सबैलाई रोग सारिदिन्छु।म कसैलाई पनि भन्दिनँ कि मलाई रोग लागेको छ र जो जो मेरो नजिकका छन्,सबैलाई सार्छु।
माथि जाँदा पनि त्यहाँ साथी चाहिन्छ मलाई।
महामारीमा वेवास्ता गर्नु मूर्खता हो–एउटाले सम्झायो
जानु छ भने कसैले रोक्न सक्दैन–उसले फर्कायो।
तैपनि सतर्क रहँदा सबैलाई फाइदा हुन्छ–एउटाको भनाइ थियो।
फलानो जति सतर्कता अपनाए पनि गयो,मैले कुनै सतर्कता नअपाए पनि केही भएको छैन–उसले अहम प्रदर्शन गर्यो।
महामारीले छोयो।छोएको समय यस्तो थियो कि कोही घरबाट बाहिर निस्केका थिएनन्।यसरी छोयो कि ऊ बिछौनाबाट उठ्न सकेन।गम्भीर नहुँदासम्म आफूलाई केही पनि भएको छैन भनिरह्यो तर घमण्डलाई उछिनेर जब महामारीको पखेटा बाहिर आयो तब अस्पतालमा पुर्याएर पनि उसलाई कुनै काम भएन।दुई हप्ता अस्पतालले राखेर पनि बचाउन सकेन।
संसार रमाइलो छँदैछ।ऊ छैन।उसका दुई मुनाहरू हुर्किरहेका छन्।
सञ्जय साह मित्र
मित्रनगर,गरुडा ४,रौतहट
प्रतिक्रिया