प्रथम बिस्व नेवाः हाजिरि जवाफ प्रतियोगिता -२०४१ का बिजेताहरुलाई पुरस्कार बितरण कार्यक्रम सम्पन्न !

इनेप्लिज २०७८ मंसिर १६ गते ३:३४ मा प्रकाशित

वर्ल्ड नेवाः अर्गनाइजेसनको आयोजनामा संचालन भएको “प्रथम बिस्व नेवाः हाजिरि जवाफ प्रतियोगिता -२०४१” का बिजेताहरुलाई गत शनिवार काठमाण्डौ स्थित जगत सुन्दर ब्वने कुथिमा एक समारोहको आयोजना गरि पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो।विश्वका बिभिन्न मुलुकहरुमा बसोबास गरि रहेका नेवाः समुदायको प्रतिनिधित्व रहेको वर्ल्ड नेवाः अर्गनाइजेसनको स्थापनाको एक दशक पुगेको अवसरमा गत भाद्र महिना देखि उक्त हाजिरी जवाफ प्रतियोगिताको आयोजना गर्दै आएको थियो भने अन्तिम प्रतियोगिता गत मंसिर ४ गते संचालन गरिएको थियो।

सो प्रतियोगितामा “यलबुकः स्वां समूह” प्रथम, “गुलाफ स्वां समूह” द्वितीय,”सिन्हः स्वां समूह” तृतिय र “अजू स्वां समूह ” ले सान्त्वना स्थान प्राप्त गरेका थिए।। कार्यक्रममा प्रथम हुने लाई ६०० अमेरिकी डलर,द्वितिय हुनेलाई ४५० अमेरिकी डलर,तृतिय हुनेलाई ३०० डलर र सान्त्वना स्थान प्राप्तलाई १५० अमेरिकी डलरका साथै प्रमाणपत्र वितरण गरिएको थियो।

जूम प्रविधि मार्फत भर्चुअल एवम भौतिक उपस्थितिमा भएको उक्त कार्यक्रमको शुरुवात नेपालको राष्ट्रिय गान र नेवाः राष्ट्रिय गान बाट भएको थियो भने कार्यक्रमको अध्यक्ष्यता वर्ल्ड नेवाः अर्गनाइजेसनका अध्यक्ष सिजन श्रेष्ठले गर्नु भएको थियो। हाजिरी जवाफ प्रतियोगिता मूल आयोजक समितिका संयोजक विमलमान श्रेष्ठ (क्यानाडा) को स्वागत मन्तव्य संगै शुरु भएको उक्त कार्यक्रममा रञ्जना सैंजू अमर सैंजु दम्पति (क्यानाडा)बाट सितार तथा मुर्चुंगामा नेवाः तथा मंगलधुन र चर्चित सरोदवादक सुदर्शन राजोपाध्यायले नेवाः गीतमा सरोद वादन प्रस्तुत गर्नु भएको थियो।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठ प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले शुभकामना सन्देश,विशेष अतिथि काठमाडौं महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ,अन्तर हाइस्कुल नेपालभाषा हाजिरी जवाफ प्रतियोगिताका अभियन्ता परोपकार उच्च माध्यमिक विद्यालयका पूर्व प्रधानाध्यापक तथा साहित्यकार हितकरवीर सिंह कंसाकार, निर्णायकमण्डलको तर्फबाट साहित्यकार तथा नेवाः अगुवा मल्ल के.सुन्दर र कबियत्री प्रतिसरा सायमि,नेवाःदेय् दबूका अध्यक्ष नरेश ताम्राकार,प्रश्नोत्तर निर्माण समितिका संयोजक केशरमान ताम्राकार (अमेरिका) तथा प्रथम हुने टोलीका इसिका महर्जन लगायतले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

नेपालका साथै अमेरिका,क्यानाडा,बेलायत,आयरल्याण्ड लगायतका देशबाट गरि कुल २० समूहको सहभागिता रहेको उक्त प्रतियोगितामा सहभागि प्रत्येक समूहलाई १५ अमेरिकी डलर र प्रमाणपत्र प्रदान गरिएको थियो।नयाँ पुस्तामा नेवाः संस्कृति,भाषा,साहित्य, सम्पदा,संगीत को प्रबर्द्दन गर्ने उद्देश्यले कक्षा ८ देखी १२ सम्मका विद्यार्थीहरूका वीच आयोजना गरिएको उक्त हाजिरी जवाफ प्रतियोगिताका निर्णायकमण्डल,पुरस्कार प्रायोजक,आर्थिक तथा विभिन्न रुपमा सहयोग गर्नु हुने महानुभावहरूलाई मायाको चिनो पनि प्रदान गरिएको थियो।

सो प्रतियोगिताको प्रथम पुरस्कार क्यानेडियन नेवाः गुठि,दोश्रो पुरस्कार एभरेस्ट एर युतिलाइजर,क्यानडा र हिमालयन मोमो, शिकागो,तेश्रो पुरस्कार पासा पुचः गुठि,संयुक्त अधिराज्य तथा सांत्वना पुरस्कार राम अष्टमाया श्रेष्ठ मेमोरियल ट्र्स्टले प्रायोजन गर्नु भएको थियो भने डा.लोचन मानन्धर,संयुक्त अधिराज्यले ” गोल्ड स्पोन्सर” गर्नु भएको थियो।प्रतियोगिताको लागि पुरस्कार प्रायोजन तथा आर्थिक सहयोग क्यानडा,अमेरिका,संयुक्त अधिराज्य,नेपाल लगायतका महानुभाब तथा संस्थाहरुले गरेका थिए।

प्रतियोगितामा नेवाःबिषयबस्तुको पचास प्रतिसत,राष्ट्रिय अन्तरराष्ट्रिय ईतिहास,भूगोल,बिज्ञान,राजनीति तथा समसामयिक बिषयको पचास प्रतिसत प्रश्न संयोजन गरि संचालन गरिएको थियो भने अन्तिम चरणको प्रतियोगितामा सोधिएका ३२ वटा प्रश्नहरु मध्य करिब ८१ % को सहि उत्तर आएको प्रश्न निर्माण उपसमितिका संयोजक केशरमान ताम्राकारले बताउनु भयो।साथै प्रतियोगिता संचालनकोलागि निर्णायकको रुपमा नेपाल,संयुक्त अधिराज्य,अमेरिका, क्यानडामा रह्नु भएका लब्ध प्रतिष्ठित महिला तथा पुरुष साहित्यकार,नेवाःअगुवा,शिक्षाबिदहरुलाई आमन्त्रण गरिएको थियो।

बि.सं.२०४६ साल पछिदेखि बन्द अबस्थामा रहेको नेवाः हाजिरि जवाफ प्रतियोगिता वर्ल्ड नेवाःअर्गनाइजेसनको सक्रियतामा पुन संचालन गरिएकोमा युबा पुस्ता बिच नेवाःसंस्कृति,भाषा,संगीत,कलाको प्रबर्द्दनमा पक्कै पनि सहयोग पुग्न जाने भएकोले यसको निरन्तरता हुनु पर्ने बिचार निर्णायक तथा दर्शकहरुले ब्यक्त गरेका छन भने प्रतियोगिता संचालनको प्राबिधिक स्वरुप अन्तरराष्ट्रिय स्तरको रहेको प्रतियोगिताका सहभागीहरुले प्रतिक्रिया ब्यक्त गरेका थिए।

प्रतिक्रिया