५ मंसिर ,२०७८ ।त्रिभुवन बहुमुखी क्याम्पस पाल्पा, नेपाली विभागको आयाेजनामा नेपाली आख्यान साहित्यकी मूर्धन्य प्रतिभा नीलम कार्की निहारिकाकाे ‘द्राैपदी अवशेष’ (२०७८) मा केन्द्रित रही परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा उपप्राध्यापक द्वय टंकप्रसाद पन्थ र शारदा खनालबाट कृतिमाथि केन्द्रित रही टिप्पणी गर्ने काम भयो ।
कृतिको रचनागर्भ, कृतिले समेटेको विषयवस्तु, पात्र, परिवेश, उद्देश्य तथा शीर्षकीकरण सम्बन्धमा प्रकाश पारियो । नेपालकाे हुम्ला जिल्लाकाे हिमाली गाउँमा अस्तित्वमा रहेको बहुपति प्रथाकाे सांस्कृतिक अवशेषलाई कृतिमा अवतरण गराइएको कुरा उल्लेख गरियो । कर्णालीका जनताले भाेगेकाे प्रतिकूल जीवन, त्यहाँको विकट भाैगाेलिक अवस्था, भाषा, भेषभूषा, रहनसहन, अवस्था आदी कुराहरूलाई स्थानीय कलेवरमा ढालेर प्रस्तुत गरिएकाले प्रस्तुत कृतिमा आञ्चलिकताकाे विशिष्ट प्रयाेग हुन पुगेको कुरासमेत उल्लेख गरियो । हुम्लाको सामाजिक, सांस्कृतिक मान्यता र काठमाडौं तथा यस क्षेत्रकाे संस्कृतिको तुलनात्मक अध्ययन हुन सक्ने आधार पनि प्रस्तुत गरियो ।
हुम्ली समाजमा प्रचलित विवाह प्रक्रिया तथा सामाजिक संरचना, चाडपर्व, संस्कार, खानपान, जीवनशैली जस्ता कुराहरूकाे प्रस्तुतिले कृतिलाई विशिष्ट तुल्याएको कुरा प्रकाश पारियो । मातृप्रेम, माटाेप्रेमका साथमा निश्छल पारामा बाँचेको हार्दिक प्रेमको अादर्श पक्षलाई पनि महत्त्व दिइएको कुरा उठान गरियो । कृतिलाई सांस्कृतिक चेतना, समाजशास्त्रीय अध्ययन , यात्रा, जीवन र प्रकृति, भाषिक लवज, प्रेमप्रणय चेतना, मातृत्वकाे पाटाे, सामाजिक यथार्थ, मिथकीय अाधार, नारीवादी चेतना, सीमान्तीकृत चेतना आदी काेणबाट अध्ययन गर्न सकिने कुरा पनि प्रस्तुत गरियो ।
कार्यक्रममा साहित्यकार धातानन्द शर्मा गैरेले पद्मश्री तथा मदन पुरस्कार जस्ता सम्मानबाट पाल्पाकी छाेरी सम्मानित हुँदा सिङ्गो पाल्पा नै सम्मानित भएको अनुभूति भएको धारणा राख्नुभयो । कृतिकार नीलम कार्की निहारिकाले आफूले बाल्यकालमा पाल्पाको यसै सेरोफेरोमा बाँचेको जीवन र परिवेशकाे भाेगाइका कारण पनि कर्णालीकाे कठिन जीवनलाई छाम्न सकेको विचार उल्लेख गर्नुभयाे । सिर्जना र समालोचनाले अब केन्द्र वा राजधानीकेन्द्री चिन्तनलाई भत्काएर माेफसल उठ्नुपर्ने बेला आएको कुरामा उहाँले जाेड दिनुभयो ।
यस्ता कार्यक्रमबाट अाफ्नाे अागामी पुस्तकलाई समेत मार्गदर्शन प्राप्त भएको धारणा उहाँले राख्नुभयाे । कार्यक्रमका प्रमुख अतिथि क्याम्पस प्रमुख टंकप्रसाद भट्टराईले राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा परिचय बनाइसकेकी साहित्यकार व्यक्तित्वलाई क्याम्पसमा स्वागत गर्न पाउनु गाैरवकाे विषय भएको कुरा उल्लेख गर्नुभयो ।
अमेरिकामा बसेर पनि कर्णालीकाे दु:ख र मर्मलाई छाम्न सक्नु नै लेखकीय सफलता रहेको कुरा उहाँले स्पष्ट पार्नुभयाे । पछिल्लो समयमा त्रिभुवन बहुमुखी क्याम्पसमा प्राज्ञिक गतिविधि बढ्दै गएको सुखद सन्दर्भलाई उठाई क्याम्पसकाे निमन्त्रणालाई महत्त्व दिई पाल्नुभएका साहित्यिक संघसंस्थासम्बद्ध व्यक्ति र उपस्थित व्यक्तित्वलाई धन्यवादसमेत व्यक्त गर्नुभयो । ऐच्छिक नेपाली विभागका प्रमुख दामोदर नेपालकाे अध्यक्षतामा भएको उक्त कार्यक्रमकाे सञ्चालन तथा उपस्थित सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्ने काम डा. शंकरप्रसाद गैरेले गर्नुभयो । कृतिकार नीलम कार्की निहारिकालाई हार्दिक बधाई सहभागी सम्पूर्णमा हार्दिक धन्यवाद ।
प्रतिक्रिया